Prakash Adhikari March 1, 2019

काठमाडौं,१७ फागुन । ताप्लेजुङको पाथिभरा मन्दिर नजिक फुड.लिड. नगरपालिका तारेढुंगामा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको टुँडिखेलमा सामुहिक श्रद्धाञ्जली कार्यक्रम आरम्भ भएको छ ।

बिहीबार गर्ने भनिएको यो कार्यक्रम शवहरुको पोष्टमार्टममा समय लागेकोले शुक्रबार बिहानको लागि सारिएको हो । आज बिहान ८ बजेदेखि ११ बजेसम्म टुंडिखेलमा श्रद्धाञ्जली कार्यक्रम हुने नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलले बिहिबार जानकारी दिनुभएको थियो ।

टुँडिखेलमा व्यवस्थित तरिकाले टेन्ट राखेर सातै जनाको पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई अलग अलग काठको बाकसमा राखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरु र संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी र सांसद सहितका विशिष्ट व्यक्तित्वहरु श्रद्धाञ्जलीका लागि आउने क्रम जारी छ ।

श्रद्धाञ्जलीपछि मृतकहरुको शव उहाँहरुका परिवारलाई बुझाइने छ । पर्यटन मन्त्री रविन्द्र अधिकारीको  आजै राजकीय सम्मानकासाथ पोखरामा अन्त्येष्टि  गरिने कार्यक्रम छ ।

पर्यटन व्यवसायी आड.छिरिड. शेर्पाको अन्येष्टि आईतबार शेर्पा परम्परा अनुसार आइतबार गरिने छ ।

दुर्घटनामा परेका अन्य पाँच जनाको पनि आजै अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

पर्यटन मन्त्री रविन्द्र अधिकारी सहितको टोली बुधबार तेह्रथुम जिल्लाको आठराईमा पर्ने चुहान डाँडामा निर्माण गरिने  विमानस्थलको स्थलगत अवलोकन गरी पाथीभरादेवीको दर्शन गरि फर्कने क्रममा ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना परेको थियो । दुर्घटनामा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको ज्यान गएको थियो ।

Share Now

Leave a comment.