Prakash Adhikari December 27, 2017

बालकोट(भक्तपुर), १२ पौष । नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार भएको भेटवार्तापछि दुई दलबीचमा देखापर्दै गएको दूरी साँघुरिएको छ । र पार्टी एकतालाई दुवै दलले उच्च प्राथमिकतामा राख्ने संकेत देखिएको छ । एकतासम्बन्धी औपचारिक बैठक सम्भवतः बिहीबारदेखि नै थालिने छ ।

दुईटै दलका वरिष्ठ नेताहरु रहेको एकता संयोजन समितिले कार्यतालिका सहितको अवधारणा सार्वजनिक गर्ने उनीहरुले बताएका छन्।

एकताको अनिश्चय हट्दै
केही दिनयता प्रचण्ड राजधानी बाहिरै रहेपछि वामगठबन्धन अनिश्चयमा परेका चर्चा चलेका थिए।

सम्भवतः बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बसेर स्पष्ट कार्यतालिका सहितको अवधारणा सार्वजनिक गर्ने भन्ने समझदारी भएको छ
अग्नि सापकोटा, माओवादी केन्द्रका एकजना नेता

उक्त पृष्ठभूमिमा बिहीबार भक्तपुर बालकोटस्थित ओली निवासमा दुई नेताबीच भएको डेढ घण्टाको भेटघाटलाई निकै चासोपूर्वक हेरिएको थियो।

उक्त भेटघाटले तत्कालै एकता संयोजन समिति बैठक डाक्ने निर्णय गरेको प्रचण्ड निकट माओवादी केन्द्रका नेता अग्नि सापकोटाले बताए।

‘सम्भवतः बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बसेर स्पष्ट कार्यतालिका सहितको अवधारणा सार्वजनिक गर्ने भन्ने समझदारी भएको छ,’ सापकोटाले भने।

सो बैठकले वामगठबन्धन धरमराएको अनि पार्टी एकता संकटमा परेको भन्ने विभिन्न कोणबाट चलेका चर्चा झुटा सावित गरेको एमालेका नेता प्रदीप ज्ञवालीले बताएका छन्।

‘कृत्रिम ढंगले उठाउन खोजिएका जति पनि भ्रमका तुवाँला थिए, ती सबै हटेका छन्। यद्यपि पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताले त पार्टी एकता विना व्यवधान अगाडि बढ्छ भनेर भन्दै नै आएका थियौं,’ उनको भनाइ थियो।

राजीनामा गर्न आह्वान

बिहीबारको भेटमा दुबै दलका अध्यक्षले प्रधानमन्त्रीलाई तत्काल राजीनामा गरी नयाँ सरकारको बाटो खोल्न समेत पुनस् आह्वान गरेका छन्।

कृत्रिम ढंगले उठाउन खोजिएका जति पनि भ्रमका तुवाँला थिए, ती सबै हटेका छन्।
प्रदीप ज्ञवाली, नेकपा एमालेका नेता

दुवै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल राजीनामा गर्न र निर्वाचन आयोगलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न पनि आग्रह गरेको सापकोटाले बताए।

ूप्रस्ट जनादेश आइसकेपछि सरकारले राजीनामा गरेर बाटो खोल्न पर्छ भन्ने बारे दुईवटै पार्टीका अध्यक्षबीच समझदारी बनेको छ। साथै समानुपातिक तर्फको सूची यथाशीघ्र टुंग्याउन निर्वाचन आयोगसंग कुराकानी गर्ने पनि समझदारी भएको छ,ू उनले भने।

राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेशबारे भने दुई नेताले के निर्णय गरे भन्ने प्रस्ट पारिएको छैन।

तर खासगरि एमालेले त्यसमा रहेको एकल संक्रमणीय निर्वाचन पद्धतिबारे उठाउँदै आएको प्रश्न ज्यूँ का त्यूँ रहेको बुझिन्छ।(बीबीसी नेपाली सेवाबाट)

Share Now

Leave a comment.