Prakash Adhikari March 16, 2019

 

क्राइस्टचर्च(न्यूजिल्यान्ड),२ चैत्र(बीबीसी) । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ।

अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट आक्रमणका मुख्य आरोपी हुन्  ।  प्रहरीले  उसलाई बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो। उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ।

न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टारेन्टसँग पाँचवटा बन्दुकका लागि अनुमतिपत्र भएको बताउँदै भनिन्, “बन्दुकसम्बन्धी हाम्रो कानुन अब परिवर्तन हुन्छ।”

प्रहरीले अरू दुई जनालाई पनि हिरासतमा राखेको छ। हिरासतमा भएको कसैको पनि अपराधिक इतिहास छैन।

अरू आक्रमणको योजना

अदालतले टारेन्टलाई एप्रिल ५ सम्मका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

शनिवारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले टारेन्टले प्रयोग गरेको गाडीमा थुप्रै हतियार भेटिएको र उसले आक्रमणलाई निरन्तरता दिने योजना बनाएको देखिएको बताएकी छन्।

आर्डर्नले अल नूर मस्जिदबाट शव हटाउने कार्य जारी रहेको र सकेसम्म छिटो परिवारलाई हस्तातरण गर्न महत्वपूर्ण रहेको बताइन्।

उनले परिवारका लागि आर्थिक सहयोगको पनि आवश्यकता पर्न सक्ने बताइन्।

आक्रमणमा मारिनेहरूमा परिवारले नाम सार्वजनिक गरेको पहिलो व्यक्ति ७१ वर्षीय दाउद नाबी रहेका छन् जो सन् १९८० को दशकमा अफगानिस्तानबाट न्यूजिल्यान्ड सरेका थिए।

मारिने अन्यको नाम सार्वजनिक गरिएको छैन।

ओमार नाबीले अदालत परिसरमा आक्रमणमा मारिएका आफ्ना पिताको तस्वीर देखाए
ओमार नाबीले अदालत परिसरमा आक्रमणमा मारिएका आफ्ना पिताको तस्वीर देखाए

आक्रमणमा ४८ जना घाइते भएका छन्। तीमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन्।

घाइतेमध्ये क्राइस्टचर्च अस्पतालमा उपचार भइरहेका ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालका शल्यक्रिया प्रमुख ग्रेग रोबर्टसनले जनाए।

बाङ्ग्लादेश, भारत र इन्डोनेसियाले आक्रमणमा आफ्ना केही नागरिकहरू मारिएको र केहीको अवस्था अज्ञात रहेको बताएका छन्।

आक्रमणपछि क्राइस्टचर्चमा सुरक्षा व्यवस्था कडा बनाइएको र न्यूजिल्यान्डका सबै मस्जिद बन्द राखिएका छन्।

आक्रमण कसरी भएको थियो?

अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा दिउँसो १:४० मा आक्रमण भएको खबर आएको थियो।

एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाएका थिए।

टाउकोमा बाँधिएको क्यामेराबाट फेसबूकमा प्रत्यक्ष प्रसारण गरिएको आक्रमणमा बन्दुकधारीले आफुलाई ब्रेन्टन टारेन्ट भनेर चिनाएका थिए।

बन्दुकधारी त्यसपछि पाँच किलोमिटर पर रहेको लिनउड मस्जिदसम्म गाडीमा गएर अर्को आक्रमण गरेका थिए।

त्यहाँ एकजनाले बन्दुकधारीको हतियार खोस्न सफल भएका थिए।

प्रहरीले टोरेन्टलाई कहाँ गिरफ्तार गरेको भनेर खुलाएको छैन।

प्रहरीले दुवै मस्जिदमा हतियार भेटिएको र एउटा गाडीमा विस्फोटक पदार्थहरू भेटिएको बताएको छ।

न्यूजिल्यान्डको कूल ४२ लाख ५० हजार जनसङ्ख्याको १.१ प्रतिशत मुस्लिम छन्।

मुख्य आरोपी

आक्रमणको मुख्य आरोपीले न्यूजिल्यान्डमा बीच-बीचमा केही समय बिताउँदै संसारभरि यात्रा गरेको प्रधानमन्त्री आर्डर्नले बताइन्।

“म उसलाई लामो समयदेखि न्यूजिल्यान्डमा बसेको भन्दिनँ,” उनले नाम नखुलाइ भनिन्।

“आरोपीसँग सन् २०१७ मा लिएको हतियारको अनुमतिपत्र थियो,” आर्डर्नले बताइन्।

उनले न्यूजिल्यान्डको जासुसी संस्थाले चरम दक्षिणपन्थीहरूमाथि गहन अनुसन्धान गरिने बताउँदै मुख्य आरोपीको बारेमा भने यसअधि कुनै जानकारी नरहेको बताइन्।

शुक्रवारको आक्रमणअघि ब्रेन्टन टारेन्टको नाममा रहेका सामाजिक सञ्जालहरूमा लामा र जातिवादी कुराहरू लेखिएका र आक्रमण भएका मस्जिदहरूको नाम भेटिएको छ।

सामाजिक सञ्जालमा सन् २०१७ को युरोप भ्रमणपछि आक्रमणको योजना बनाएको लेखिएको छ।

सामाजिक सञ्जालको दौड
आक्रमणकारीले प्रत्यक्ष प्रसारण गरेको भिडिओ हटाउन सामाजिक सञ्जालहरूलाई हम्मेहम्मे परेको थियो।

त्यो भिडिओ धेरैपटक धेरैजनाले पुनः उत्पादन गरेको र धेरै शेयर गरेको कारण त्यसलाई पूर्णरूपमा हटाउन असम्भव झै भएको छ।

सामाजिक सञ्जालबाटै त्यो भिडिओको फोटो वा अंशले संसारभरिका केही अनलाइन मिडियामा स्थान पाएको थियो।

यो घटनाले फेसबूक, ट्विटर, युट्युब र रेडइटजस्ता ठूला सामाजिक सञ्जालहरूले कसरी चाहेर पनि आततायी सामग्रीहरू हटाउन सकेका छैनन् भन्ने स्पष्ट भएको छ।

बाङ्ग्लादेशी क्रिकेट खेलाडी
बाङ्ग्लादेशी खेलाडीहरू ‘भाग्यले जोगिए’

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए।

न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शुक्रवार हुने साप्ताहिक प्रार्थना गर्न बस चढेर अल नूर मस्जिद जाँदै थिए। तर आक्रमण भएको सूचना पाएपछि उनीहरू भित्र छिरेनन् र जोगिए।

बाङ्ग्लादेशी क्रिकेट बोर्डले टोलीका सबैजना सुरक्षित रूपमा होटल फर्किएको र आफ्नो सम्पर्कमा रहेको जनाएको छ।

ढाकाबाट बीबीसी सम्वाददाता अकबर हुसेन भन्छन् – नजिकै अभ्यास गरेर टोली मस्जिदमा जाँदै गर्दा उनीहरूलाई घटनाबारे चेतावनी दिइयो र उनीहरू नजिकैको बगैँचातिर भागे।

बाङ्ग्लादेशी टोलीका प्रबन्धक खालिद मशुदका अनुसार मस्जिदमा आक्रमण हुँदा टोली डेढ सय फिट पर थियो।

तीन वा चार मिनेट पहिला मस्जिद पुगेको भए आफूहरू पनि सो आक्रमणमा पर्ने र भाग्यले जोगिएको उनी बताउँछन्।

Share Now

Leave a comment.