सानेपा(ललितपुर), ४ चैत्र । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति नगर सानेपा, ललितपुरमा ११ बजेदेखि बस्ने कार्यक्रम छ ।
प्रमुख प्रतिपक्षी ादल भएर पनि भूमिकाबिहिन र प्रभावहिन बन्न पुगेको दललाई गति दिने नाममा संस्थापन पक्षले अनुशासन समिति र निर्वाचन समितिको गठन गर्न खोजेको छ ।
संगठन बनाउन छोडेर पहिले अनुशासनको डण्डा तेस्र्याएर कार्यकर्ताको सातो लिन खोज्ने संस्थापन पक्षको कार्यशैलीको विरोधमा गैरसंस्थापन पक्ष पुगेको छ ।
नयाँ संविधान जारी भएपछि नेपाली कांग्रेसको १३ औं महाधिवेशन सम्पन्न भएको भएता पनि प्रदेश समितिहरुको गठन लोकतान्त्रिक निर्वाचन पद्धतिबाट हुन सकेको छैन भने नयाँ संविधान बमोजिम स्थानीय तहको संख्या निर्धारण र सीमांकन गरि गतबर्ष स्थानीय तहको निर्वाचन भएपनि सो अनुरुप कांग्रेसको स्थानीय इकाई निर्वाचित हुन सकेको छैन् ।
गैर संस्थापन पक्षले देशभरीका संसदीय व्यवस्था उपयोग गर्ने बामपन्थीहरुको गठबन्धनबाट पराजित भएको नेपाली कांग्रेसको संगठन पुनर्निमाण नै पहिलो आवश्यकता भएकोले यससंग सम्बन्धित विभागहरु पहिले गठन गर्नपर्ने र अनुशासन समिति आगामी निर्वाचनमा टिकट बाँड्ने बेलासम्म जहिले गठन गरेपनि हुने तर्क पेश गरिरहेका छन् ।
तर संस्थापन पक्ष भने पार्टीमा अनुशासनको डण्डा चलाएर आफ्नो आधिपत्यलाई वैधानिकता दिने मनशायमा देखिन्छ ।केही समय पहिले पार्टी सभापति शेरबहादुर देउवाले वीरगञ्जमा आयोजित पार्टीको सार्वजनिक कार्यक्रमबाटै पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालालाई अनुशासनको कारबाही दिने धम्की दिनुभयो । पार्टीको संस्थापन पक्ष आफ्ना कमजोरी देखाउने र विरुद्धमा प्रस्तुत हुन खोज्ने सबैलाई कारबाहीको डण्डा उठाएर तह लगाउने सुरमा देखिन्छ । जबकी सभापति देउवा र उहाँको भक्तमण्डलीले गरेको काम कारबाही उहाँकै गुटका अधिकांश केन्द्रीय सदस्य,पार्टी सभापति र कार्यकर्ताहरुलाई मन परेको छैन् ।
कांग्रेसमा उसको जुझारु भातृ संगठनको रुपमा रहेको नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन र यसको निर्वाचनको तयारी पनि निकै पेचिलो मुद्दाको रुपमा उपस्थित भएको छ ।
पार्टी सभापति देउवाको आशिर्वादले जित्नुभएका पूर्व अध्यक्ष नैनसिंह महरले संघको महाधिवेशन आयोजना गर्न नसकेर राजिनामा दिनुभएपछि नेपाल विद्यार्थी संघ नेतृत्वविहिन भएको छ । नेपाली कांग्रेसले गर्ने हरेक राजनीतिक गतिविधिको अग्रपंक्तिमा रहने शिक्षित युवाहरुको यो संगठन नहुँदा नेपाली कांग्रेसको राजनीतिक हैसियतमा नै प्रश्न लाग्न गएको छ । सत्तारुढ दलका विद्यार्थी संगठनहरुले सबै विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनावको माग गरिरहेका छन् तर आफ्नो केन्द्रीय समिति नै नभएकोले नेपाल विद्यार्थी संघ भने निर्वाचनको मुद्दा आउनासाथ पर भाग्नुपर्ने स्थिति छ ।
नेपाल विद्यार्थी संघका जुझारु, भविश्यमुखी विद्यार्थी नेताहरुको सम्पर्कको कमीले हुन सक्छ नेपाली कांग्रेस विगत केही समययता प्रतिपक्षी दलको भूमिकामा कम र सत्तारुढ दलको मतियारको रुपमा बढी देखा परेको छ । नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनका संयोजक सी.के. राउतबीच २३ फागुनमा भएको सहमति होस् वा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी नामक संगठनमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णय होस् यस विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँको कार्यसमितिका पदाधिकारी, संसदीय दलका पदाधिकारीहरुको भनाईमा एकरुपता देखिएन । निकै अस्थिर र अस्पष्ट विचारहरु प्रबाहित भैरहे ।
नेपाली कांग्रेसले संसदभित्र पनि जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको गुनासो आइरहेको छ । पार्टीले निर्वाचनमा पराजित भएपछि गरेको संसदीय दलको निर्वाचनसंग छायाँ सरकारको गठनको घोषणा गरेको थियो तर हालसम्म त्यसले सिन्को भाँचेको देखिएको छैन । कुनै पनि मन्त्रालय हेर्ने जिम्मेवारी लिएका संयोजकहरुले संबन्धित मन्त्रालयको काम कारबाही र तिनले आम जनतामा पारेको असरका बारेमा न पार्टीलाई जानकारी दिएका छन् न सार्वजनिक सञ्चारमाध्यमलाई ।
नेपाली कांग्रेस आफै कुहिराको काग जस्तो भएको छ । यसले अधिनायकवादतर्फ उन्मुख नेपाल कम्युनिष्ट पार्टीको दुईतिहाईको सरकारले गठनकालदेखि गरेका असंवैधानिक, गैरसंसदीय, संसदीय व्यवस्थालाई कमजोर पार्ने, भ्रष्टाचार, दुराचार,अन्याय रअत्याचारका घट्नाहरुलाई सूचिबद्ध पनि गर्न सकेन् । बर्षदिनको सरकारको काममको समीक्षा सार्वजनिक गर्दा समेत यसले ओली सरकारको पहिलो असंबैधानिक निर्णयबाट तात्कालिन सरकारले राष्टिय सभाको लागि सिफारीस गरेका ३ जना सांसदहरुको मनोनयन फिर्ताको नामोच्चारणसमेत गर्न सकेन जबकी यसका घाइते कृष्णप्रसाद पौडेल नेपाली कांग्रेसको मुख्य सचिव नै हुनुहुन्छ । कांग्रेसले स्वतन्त्र न्यायालयमाथि सरकारले निरन्तर गरेको हस्तक्षेपको पनि हिसावकिताब गर्ने छोड्यो । प्राज्ञिक क्षेत्रमा भैरहेको हस्तक्षेपलाई ध्यान दिनै सकेको छैन् । महंगी,अभाव, बेरोजगारी, शान्ति,सुरक्षा,भ्रष्टाचारका विषय पनि ओझेलमा पर्दै गएका छन् ।
नेपाली कांग्रेसको कार्यसमितिमा युवा पुस्ताका दर्जनबढी प्रतिनिधित्व छ । वरिष्ठ नेता रामचत्द्र पौडेलदेखि,कृष्णप्रसाद सिटौला र धेरै केन्द्रीय सदस्यहरु अहिले संघीय संसद र प्रदेश सभाको सदस्य रहनुपरेको छैन् । सबैलाई संगठनमा लाग्ने फुर्सछ छ । तैपनि नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन् । यसमा कुन कार्य समितिले कहिले कसरी छलफल गर्ने हो त्यो हेर्न बाँकी छ ।