Prakash Adhikari March 18, 2019

सानेपा(ललितपुर), ४ चैत्र । नेपाली कांग्रेसले पार्टीको १३ औं महाधिवेशन सम्पन्न भएको तीन बर्षपछि केन्द्रीय स्तरका समिति र विभागको गठनको सुरुआत गरेको छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले केन्द्रीय अनुशासन समितिको गठन गरेर यसको थालनी गरेको हो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारुी गर्नुभएको विज्ञप्ति अनुसार केन्द्रीय सदस्य भिष्मराज आड.दम्बेको संयोजकत्वमा किशोरसिंह राठौर र देबेन्द्रराज कँडेल सम्मिलित तीन सदस्यीय अनुशासन समिति गठन गरिएको छ ।

नपाली कांग्रेसको विधान, २०१७ (संशोधित र परिमार्जित)को धारा ३४ (७) अनुसार केन्द्रीय कार्यसमितिले सर्वसम्मितिले “केन्द्रीय अनुशासन समिति’ गठन गरेको हो ।

मुख्य सचिव पौडेलले विज्ञप्तिमा जनाए अनुसार बाँकी सदस्य अनुशासन समितिले सहमतिबाट निर्णय गरि थप्नेछ।

समितिमा रहेका तीनै जना पार्टी सभापति निकट मानिनुहुन्छ । समिति गठनका सम्बन्धमा आइतबार भएको अनौपचारिक बैठकमा सहमति जुटेको थिएन । गैर संस्थापन पक्ष रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूहबाट समितिमा प्रतिनिधित्व हुन सकेको नदेखिएकोले विज्ञप्तिमा जनाइएको जस्तो सर्वसम्मति नभएको अनुमान गरिदैछ ।

सोमबारको बैठकमा केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, रमेश रिजाल, फरमूल्लाह मंसुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, अजयकुमार चौरिसिया, शंकर भण्डारी, ईश्वरी न्यौपाने, मोहनबहादुर बस्नेत र बीरबहादुर बलायरले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठक भोलि २०७५ चैत्र ५ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।

Share Now

Leave a comment.