ललितपुर,११ चैत्र। नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारका लागि भैरहेका कामको विवरण सार्वजनिक गरेको छ ।
धितोपत्र बजारको संस्थागत विकास,विस्तार र नियमन समेतको जिम्मेवारी पाएको बोर्डले स्थापनाकालदेखि नै बजार सहभागी संस्थाहरुको स्थापना र विकास,कानूनी प्रबलीकरण र नियमनलाई सन्तुलित ढंगले बढाउदै आएको छ ।
लगानीकर्ताको हितलाई ध्यानमा राख्दै विश्व धितोपत्र बजारमा भएका उपकरणहरुलाई नेपालको बजारमा उपलब्ध गराउनका साथै नेपालको धितोपत्र बजारलाई विश्वस्तरीय बनाउनका लागि पनि काम गर्दै आएको बोर्डले मुद्रा र पूँजी बजारमा देखिएका समस्या समाधानका लागि हालै सरकारले गठन गरेको समितिले दिएको सुझावहरु कार्यान्वयन भैरहेको जानकारी पनि दिएको छ ।
बैंकहरुमा तरलताको संकट, ब्याजदरमा देखिएको घाँटी रेट्ने प्रतिस्पर्धा र धितोपत्र बजारमा आएको शिथिलतालाई दृष्टिगत गर्दै सरकारले मंसिर २० गते मुद्रा तथा पूँजी बजार कार्यदल गठन गरेको थियो ।
सो कार्यदलको सुझावमा बोर्डसंग सम्बन्धित २८ वटा बूँदाहरु रहेको जनाउदै त्यसमध्ये कतिपय बूँदाहरु कार्यान्वयनमा लगिसकिएको बोर्डले जानकारी दिएको छ ।
कार्यदलले सुझाबमा तत्काल गर्नुपर्ने भनिएका सार्वजनिक निष्कासनको साखः मूल्यांंकनमा न्यूनतम रेटिड.भन्दा एक तहमाथिको रेटिड. पाएमा मात्र निष्कासनको अनुमति दिनुपर्ने, ऋणपत्र बजारलाई गतिशील बनाउन ४० प्रतिशत ऋणपत्र व्यक्तिले खरिद गर्न पाउने व्यवस्था गर्नुपर्ने,नेटवर्थभन्दा बढी नहुने गरी एफपीओ तथा नेटवर्थभन्दा दुई गुणा बढी नहुने गरी आईपीओ जारी गर्ने व्यवस्था, सेयर दलालमार्फत मार्जिन कारोबार गर्ने व्यवस्था कार्यान्वयनमा सहजीकरण, नेप्सेले हालै प्रचलनमा ल्याएको नयाँ स्वचालित प्रणाली सीडीएसएलको प्रणालीमा आबद्ध गर्नुको साथै यसका कमिकमजोरी हटाउने सम्बन्धमा प्रतिवेदन तयार पारी अर्थमन्त्रालयमा पेश भएको,नागरिक लगानी कोषलाई संस्थागत रुपमा बजार निर्माता बनाउन समन्वय भैरहेको र खुल्लामुखी सामूहिक लगानी कोष सञ्चालनसम्बन्धी विषय कार्यान्वयनमा गैसकेको बोर्डले बताएको छ ।
बोर्डले धितोपत्र बजारलाई सुधार गर्न यसको बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई बाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकर लाईसेन्स दिने व्यवस्था गरि बोर्डमा सिफारीस गर्न,ओटीसी बजारलाई गतिशील बनाउन चैत्रमसान्तभित्र स्वचालित प्रविधि जडान गर्न, अन्तर्राष्टिय अभ्यास अनुरुप सर्किट ब्रेकलाई समसामयिक बनाउन र लगानीकर्ता सुरक्षण कोष स्थापना गर्न पौष १८ मा निर्देशन दिएको पनि बोर्डले जनाएको छ ।
बोर्डले दोस्रो बजार कारोबारको भुक्तानी सुनिश्चितताको लागि सेटलमेण्ट ग्यारेन्टी फण्ड स्थापना गर्न समेत सीडीएसएललाई पौष १८ मा निर्देशन दिएको बताएको छ ।
बोर्डले चैत्र मसान्तसम्म गर्नुपर्ने काममा पनि प्रगति भएको जनाएको छ । धितोपत्र दलाल व्यवसायीहरुको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि हुने गरेर नियमावली संशोधन गर्ने कार्य अन्तिम चरणमा पुगेको,वास्तविक क्षेत्रका संस्थापक सेयरहरुको लकिड. पिरियड वित्तीय संस्थाहरुको जस्तै बनाउन अध्ययन भैरहेको, कर्मचारी संचय कोष,सामाजिक सुरक्षा कोष लगायत धितोपत्र व्यवसायीहरुलाई बजार निर्माता र व्यवसायीको रुपमा काम गराउने सम्बन्धमा अध्ययन गरी सिफारीस गर्न नेप्सेलाई निर्देशन दिइएको पनि बोर्डले विज्ञप्तिमा जनाएको छ ।
बोर्डले हाल कायम रहेको टी प्लस ३(T+3) को राफसाफ चक्रलाई टी प्लस १(T+1) मा ल्याउन नेप्सेलाई निर्देशन दिइसकेको बताएको छ भने गैर आवासीय नेपालीलाई नेपाली बैंकहरुको डिबेञ्चर र ऋणपत्रमा लगानी गर्न प्रोत्साहित गर्न सम्बन्धित निकायसंग समन्वय भैरहेको र निरन्तर समय सीमा तोकिएको प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल फण्ड र हेज फण्ड जस्ता बैकल्पिक लगानीलाई प्रोत्साहित गर्ने विशिष्टिकृत लगानी कोष नियमावली २०७५ फागुन २२ देखि लागू भैसकेको पनि बोर्डले जनाएको छ ।
विवेकशील लगानीकर्ताहरुले उठाएका धितोपत्र बजारका सुधारका विषयहरुलाई सम्बोधन गर्न सदैव प्रतिबद्ध रहदै आएको जनाउदै बोर्डले बजारलाई प्रतिस्पर्धी, अत्याधुनिक र लगानीकर्ता मैत्री बनाउन आफू निरन्तर प्रयासरत रहिरहने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।


















