Prakash Adhikari April 4, 2019

 

काठमाडौं,२१ चैत्र । सरकारले बारा र पर्सामा आइतबार आएको आँधीबाट बेघरबार भएकाहरु सबैको घर बनाउन जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को  बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

सरकारले वर्षायाम अघि नै घर बनाई सक्ने ढंगले काम गर्न सेनालाई निर्देशन दिनेछ ।

घरको मोडालिटी जनता आवास कार्यक्रमको जस्तो हुनेछ ।

यस्तै आवास पुनर्निर्माणको कामको सहजीकरण जिम्मेवारी प्रदेश नम्बर २ का प्रमुख सचिवलाई दिइने भएको छ ।
यस कार्यमा सघाउन सहरी विकास मन्त्रालय र दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र नेपाली सेनाका प्रतिनिधि सदस्य रहनेछन् ।

आईतबार आएको आँधीबाट २ हजार ४ सय चार घरमा क्षति पुगेको छ ।

बारामा १ हजार ८९५ घर र पर्सामा ५०९ घर प्रभावित भएका छन् ।

नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले प्रारम्भिक सर्वेक्षणमा १ हजार ६२ घर पूर्ण क्षति भएको जानकारी दिनुभएको छ ।

यस्तै १ हजार ३ सय ४२ घरमा आंशिक क्षति पुगेको छ ।

मर्मत गरेर काम चलाऊ हिसावले बस्न मिल्नेलाई आंशिक क्षतिमा गणना गरिएको छ ।

बारामा ९ सय ४० घर पूर्ण क्षति छ भने ९ सय ५५ घर आंशिक क्षति छ । त्यस्तै पर्सामा १ सय २२ घर पूर्ण क्षति भएका छन् भने ९ सय ४० घरमा आंशिक क्षति भएको छ ।

स्थानीय वडाध्यक्ष, रेडक्रस र सुरक्षाकर्मीको संयुक्त टोलीले यो तथ्यांक निकालेको हो ।

Share Now

Leave a comment.