नयाँदिल्ली(भारत),२२ चैत्र। चर्चित भारतीय क्रिकेट लिग आईपीएलको चालु १२ संस्करणमा नेपाली खेलाडी सन्दीप आबद्ध दिल्ली क्यापिटल्सका खेलहरु फितलो बन्दै जान थालेका छन् ।
बिहिबार राती आफ्नै घरलु मैदान फिरोज शाँ कोट्ला क्रिकेट मैदानमा भएको टिमको पाँचौ खेलमा पनि दिल्ली प्रतिस्पर्धी सनराइजर्स हैदरावादसंग ५ विकेटले पराजित भएको छ ।

दिल्लीले हालसम्म खेलेका पाँच खेलमा २ मा जित र ३ मा हार ब्यहोरेको छ ।
आफ्नो पहिलो खेलमा मुम्बई इण्डियनलाई उसको घरेलु क्रिकेट मैदानमा हराएर जितको साथ आईपीएलको यो सिजनमा प्रवेश गरेको दिल्लीले गत बर्षको विजेता चेन्नई सुपर किंग्ससंग आफ्नै घरेलु मैदानमा पराजयको सामना गरेको थियो । कोट्ला मैदानमा कोलकोता नाईट राईडरलाई सुपर लिगमा पराजित गरेको दिल्ली किंग्स् एलेभेन पञ्जाबको घरेलु मैदान मोहली चण्डिगढमा भएको खेलमा जितिसकेको खेलमा सम्हालिन नसक्दा पराजय भोग्न पुगेको थियो ।
सन राइजर्स हैदराबादसंगको हिजोको खेलमा पनि दिल्ली टस हारेर ब्याटिड.को निम्तो पायो । उसले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमाा १सय २९ रन बनाएका थियो ।
१ सय ३० रनको लक्ष्य पाएको हैदरावादले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमाा १८.३ ओभरमा १ सय ३१ रन जोड्दै हासिल गर्यो ।
हैदरवादका लागि जोनी बेयरस्टोले सर्वाधिक ४८ रन बनाए । उनले २८ बलमा ९ चौका र १ छक्का प्रहार गरे । बेयरस्टोले डेभिड वार्नरसँग पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । वार्नर १० रनमा आउट भए ।
मोहम्मद नबी ९ बलमा १७ रन बनाउँदै अविजित रहे । यस्तै विजय शंकरले १६ रन योगदान गरे ।
हैदराबादको इनिड.मा दिल्लीका लागि सन्दीप लामिछाने, अक्षर पटेल, कगिसो रबाडा, राहुल तेवतिया र इशान्त शर्माले एक एक विकेट लिए ।
यसअघि दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाएको थियो । उसका लागि कप्तान श्रेयस अय्यरले सर्वाधिक ४३ रन बनाए । अक्षर पटेलले अन्तिम ओभरमा १३ बलमा २३ रन जोडे । उनले २ छक्का प्रहार गरे ।
दिल्लीको इनिड.मा हैदरावादका लागि मोहम्मद नबी, कप्तान भुवनेश्वर कुमार र सिद्धार्थ कौलले दुई दुई विकेट लिए । कोलिन इनग्रामलाई पनि ५ रनमै सिद्धार्थ कौलले पभेलियन फर्काइदिए । राशिदले कप्तान श्रेयस अय्यरलाई ४३ रनमा आउट गरे ।
खेलमा हैदरावादले दिल्लीका ओपनिड. ब्याटस्म्यान पृथ्वी शा पहिलो विकेटको रुपमा ११ रनमा भुवनेश्वर कुमारको बलमा बोल्ड भए । मोहम्मद नवीले शिखर धवनलाई १२ र ऋषभ पन्तलाई ५ रनमा आउट गरे । राहुल तेवतिया ५ रनमा सन्दिप शर्माको शिकार भए ।
यस सिजनमा हैदरावादको चौथो र दिल्लीका लागि यो पाँचौं म्याच थियो । हैदरावादले तेस्रो जित दर्ता गर्यो । यस्तै दिल्लीको टिमले लगातार तेस्रो हार व्यहोर्यो ।
हैदरावादले यो खेलमा खेलाडीहरु परिवर्तन गरेको थिएन तर दिल्लीका तीन खेलाडी परिवर्तन गरिएको थियो । उसले इशान्त शर्मा, अक्षर पटेल र राहुल तेवतियालाई टिममा सामेल गरेको थियो । हनुमा बिहारी, हर्षल पटेल र आवेश खान टिममा थिएनन् ।


















