
रायपुर(छत्तीसगढ),२६ चैत्र(बीबीसी) । भारतको छत्तीसगढ राज्यको एउटा चुनावी र्यालीमा भएको हमलामा कम्तिमा पाँचजना मारिएका छन्।
छत्तीसगढका डीआईजी पी सुंदरराजले पत्रकारहरूलाई बताएअनुसार आक्रमणमा सत्तारूढ भारतीय जनता पार्टीका दन्तेवाडाका विधायक भीमा मंडावी, उनका चालक र तीनजना सुरक्षाकर्मी मारिएका छन्।
भीमा मंडावी
एक स्थानीय अधिकारीका अनुसार त्यहाँको साप्ताहिक बजारमा विधायक मंडावी चुनाव प्रचारका लागि पुगेका थिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै घटनाको भर्सना गरेका छन्।
Strongly condemn the Maoist attack in Chhattisgarh. My tributes to the security personnel who were martyred. The sacrifices of these martyrs will not go in vain.
— Narendra Modi (@narendramodi) April 9, 2019
त्यहाँको दन्तेवाडा-सुकमा सडकमा भएको हमलामा र्यालीमा रहेको बुलेटप्रुफ गाडीमा ठूलो क्षति पुगेको देखिएको त्यहाँस्थित बीबीसी सम्वाददाताले जनाएका छन्। उक्त गाडी उछिट्टिएर दुई सय मिटर पर पुगेको थियो।
छत्तीसगढमा भारतीय निर्वाचनको पहिलो चरण अन्तर्गत एप्रिल ११ मा चुनाव हुँदैछ।
खनिज पदार्थको धनी राज्य छत्तीसगढले तीन दशकयता माओवादी सशस्त्र द्वन्द्व झेलिरहेको छ।
त्यहाँ बारम्बार सुरक्षाकर्मीमाथि हमला हुनेगरेको छ।
भारतमा निर्वाचन
- संयुक्त अधिराज्यबाट सन् १९४७ मा स्वतन्त्र भएको भारतमा पहिलो चोटि सन् १९५१/५२ मा निर्वाचन भएको थियो।
- यो निर्वाचनमा ९० करोड जनता मतदानका लागि योग्य छन्।
- तीमध्ये सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन्।
- नयाँ मतदातामा १८ देखि १९ वर्ष पुगेकाको सङ्ख्या डेढ करोड छ।
भारतमा माओवादी विद्रोह
- छत्तीसगढमा भएका ठूला आक्रमण
- सन् २००७ मा एउटा प्रहरी चौकीमा आक्रमण गरी ५५ प्रहरीको हत्या
- सन् २०१० एप्रिलमा घना जङ्गलमा अर्धसैनिक बलमाथि आक्रमण गर्दा कम्तीमा ७६ जनाको मृत्यु