
काठमाडौं, २७ चैत्र । उद्योगपति दिवाकर गोल्छाको असामयिक निधन हुन गएको छ । मृगौलाको उपचारकालागि भारतमा जानुभएका गोल्छाको उपचारकै क्रममा निधन भएको हो ।
भारतको चेन्नईमा मृर्गौला प्रत्यारोपण गरेको दुई हप्तामै मंगलबार राति उहाँको निधन भएको हो ।
उहाँ ६७ वर्षको हुनुहुन्थ्यो ।
उहाँ नेपाल उद्योग वाणिज्य महासंघको अलावा मूल प्रवाहको राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो ।
उहाँले नेपाल उद्योग वाणिज्य महासंघमा उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
नेपालको पहिलो संविधानसभामा उहाँ नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सांसद बन्नुभएको थियो।
दिवाकरले हुलास जस्तापाता, हुलास वायर, चिनी मिल तथा खाद्यन्न मिलहरूको स्थापनामा नेतृत्व लिनुभएको थियो।
रामलाल गोल्छाले स्थापना गरेको गोल्छा अर्गनाइजेसन नेपालकै अग्रणी उद्योगी समूह हो। गोल्छा अर्गनाइजेसनले झन्डै तीन दर्जन उद्योग स्थापना गरेको छ।
दिवाकरको पार्थिव शरिरलाई आजै काठमाडौं ल्याएर बिहीबार अन्त्येष्टि गरिने भएको छ ।