Prakash Adhikari April 13, 2019

खार्तुम(सुडान),३० चैत्र (बीबीसी) । राष्ट्रपति ओमार अल-बशीरलाई पदच्युत गर्ने सैनिक ‘कू’ को नेतृत्व गरेका सुडानको सैन्य परिषद्‌का प्रमुखले पद छाडेका छन्।

रक्षामन्त्री अवाद इब्न औफले सरकारी टेलिभिजनमार्फत् आफ्नो निर्णय घोषणा गरेका हुन्।

उनले लेफ्टिनेन्ट जेनरल अब्देल फतह अब्देलरहमान बुर्हानलाई आफ्ना उत्तराधिकारी बनाएका छन्।

सत्ता हत्याएकाहरू बशीरसँग निकै निकट रहेको भन्दै प्रदर्शनकारीहरूले सडकबाट नहट्ने बताएपछि पछिल्लो घोषणा आएको हो।

चुनावपछि दुई वर्षसम्म सत्तामा रहने सेनाले जनाएको छ।

प्रदर्शनकारीको जित

महँगीको विरोधमा गत डिसेम्बरमा शुरू भएको प्रदर्शनबीच बशीरको शासन अन्त्य हुन पुग्यो।

एकाइसौँ शताब्दीको शुरूतिर भएको डार्फर द्वन्द्वका बेला इब्न औफ सैनिक गुप्तचर निकायका प्रमुख थिए।

संयुक्त राज्य अमेरिकाले सन् २००७ मा उनीमाथि प्रतिबन्ध लगायो।

इब्न औफको बहिर्गनको खबर सुनेपछि खार्तुममा प्रदर्शनकारीहरूले खुसियाली मनाएका छन्।

प्रदर्शनको नेतृत्व गरिरहेको द सुडान प्रोफेसनल्स एसोशिएशनले पद छाड्ने इब्न औफको निर्णय प्रदर्शनकारीका लागि एउटा ‘जित’ भएको बताएको छ।

आफूहरू घर फर्कनुअघि नागरिक सरकार गठन हुनुपर्ने प्रदर्शनकारीहरूको माग छ।

अहिले सत्ताको नेतृत्व पाएका व्यक्ति पनि एक उच्च सैनिक अधिकारी हुन्। तर समाचार संस्था एपीका अनुसार सेनाका अरू जेनरलभन्दा उनको छवि स्वच्छ छ।

उनले प्रदर्शनकारीका धारणा बुझ्नका निम्ति उनीहरूलाई भेट्ने बताइएको छ।

डार्फर द्वन्द्वका बेला युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतले बशीरलाई दोषी पनि ठहर गरेको छ।

शुक्रवार के भयो?

बिहीवार बशीरलाई पदच्युत गरिए पनि प्रदर्शन रोक्न प्रदर्शनकारीहरूले अस्वीकार गरे र सेनाद्वारा जारी निषेधाज्ञाको अवज्ञा गर्दै खार्तुमस्थित सैनिक मुख्यालयबाहिर बसिरहे।

शुक्रवार सैनिक परिषद्‌का एकजना प्रवक्ताले सेनाले सत्ता नचाहेको र सुडानको भविष्य जनताले निर्धारण गर्ने बताए।

तर सेनाले शान्ति सुव्यवस्था कायम गर्ने र कुनै प्रकारको अस्तव्यस्तता सह्य नहुने जनाएको छ।

सैनिक परिषद्‍ले अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोगको सामना गर्नका निम्ति बशीरलाई सुपुर्दगी नगर्ने पनि जनाएको छ।

सैनिक परिषद्ले संविधानलाई निलम्बन गर्दै तीन महिनाका लागि सङ्कटकाल लगाएको छ।

प्रहरीका अनुसार बिहीवार र शुक्रवार प्रदर्शनका क्रममा गोली लागेर कम्तीमा १६ जना मारिएका छन्।

विश्लेषणः

सम्भावनाले भरिएका जोखिमपूर्ण क्षण
फर्गल कीन, बीबीसीका अफ्रिका सम्पादक

अवाद इब्न औफको स्थान अब एक वरिष्ठ सैनिक जेनरलले लिनेछन् र त्यो कदम प्रदर्शनकारीलाई अझ स्वीकार्य हुने अपेक्षा गरिएको छ। माहोल चाहिँ नागरिक समाजको पक्षमा छ।

यो चरणको प्रदर्शन शुरू भएसँगै सत्ता सङ्घर्षको अवस्थामा छ। दबाव सिर्जना गर्ने पुरानो ढर्राले काम नगरेको देखिन्छ र सेनाले नागरिक समाजको व्यवस्थित एवम् अनुशासित प्रदर्शनको सामना गरिरहेका छन्।

यो थप पछाडि हटेको कदम हो तर अन्तिम चाहिँ होइन।

अव्यवस्था, भ्रष्टाचार तथा तेलको आम्दानीमा आएको कमीले आर्थिक सङ्कट निम्त्याएको छ।

सत्ताका मध्यपूर्व र एशियाका साझेदारले पनि सहयोग गर्नुअघि दुई पटक सोच्लान्।

यो एउटा उत्साहप्रद क्षण पनि हो। सामाजिक सञ्जालदेखि नागरिक समाजसम्ममा महिलाको भूमिकाबारे सोच्नूस् त। यो सुडानमा भइरहेको छ।

परिवर्तनका लागि यी शक्तिहरूले निर्वाह गरिरहेको भूमिका अन्यत्र पनि देखिन्छ।

हो यो निकै जोखिमपूर्ण छ तर सम्भावनाले भरिएको पनि छ।

Map locator

Share Now

Leave a comment.