Prakash Adhikari April 13, 2019

मुम्बई(महाराष्ट्र् भारत),३० चैत्र । भारतको चर्चित घरेलु प्रिमियर लिग अन्तरगको इण्डियन प्रिमियर लिगको जारी १२ औं संस्करण अन्तरगत शनिवार २७ औं खेलमा अपेक्षित रुपमा बलियो मानिएको मुम्बई इण्डियन्सलाई राजस्थान रोयल्सले ४ विकेटले जितेको छ ।

मुम्बईको वान्खडे क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले निर्धारित २०ओभरको खेलमा ५ विकेट गुमाउदै १ सय ८७ रन बनाएको थियो ।

१ सय ८८ रनको लक्ष्य पाएको राजस्थानले सो लक्ष्य ६ विकेटको क्षतिमा ३ बल बाँकी रहदा नै हासिल गर्यो।

बटलरको योगदानमा राजस्थानको विजय

लक्ष्य पछ्याउने क्रममा राजस्थानको लागि ओपनर जोस बटलरले ७ छक्का र ८ चौकाको मद्दतले सर्वाधिक ८९ रन बनाए ।

बटलर र कप्तान अजिंके रहानेले पहिलो विकेटको रुपमा ६० रनको साझेदारी गरेका थिए। रहने ३७ रन बनाएर बाहिरिएपछि दोश्रो विकेटको रुपमा बटलर र संजु श्यामसनले ८७ रनको साझेदारी गरे। श्यामसनले २६ बलमा २ चौका र १ छक्काको मद्दतले ३१ रन बनाए ।

राजस्थानको जितमा स्टिभ स्मिथ १२, राहुल त्रिपाठी १, लियाम लिभिङ्गस्टोन १ रन र श्रेयस गोपालले अविजित १३ रनको योगदान दिएर जितसम्म पुर्याए। गोपालले ७ बलमा २ चौका प्रहार गरे।

मुम्बईको लागि कुणाल पान्ड्याले ३ ,जस्प्रित बुम्राहले २ तथा राहुल चाहरले १ विकेट लिए।

मुम्बईको इनिड.

यसअघि पहिले ब्याटिड. गर्ने क्रममा मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो।

ओपनर क्विन्टन डी ककले सर्वाधिक ८१ रन तथा कप्तान रोहित शर्माले ४७ रन बनाए। डी ककले ५२ बलमा ६ चौका र ४ छक्का तथा रोहितले ३२ बलमा ६ चौका र १ छक्का प्रहार गरे। पहिलो विकेटको लागि दुवैले ९६ रनको साझेदारी गरेका थिए।

पहिलो विकेट गुमे पछि निरन्तर विकेट गुमाएको मुम्बईको लागि अन्तिममा हार्दिक पान्ड्याले आक्रामक ब्याटिंग गरेका थिए। उनले ११ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै अविजित २८ रन बनाए।

सुर्यकुमार यादबले १६, केरोड. पोलार्डले ६ तथा इशान किशानले ५ रन बनाए।

राजस्थानको बलिङ्गमा जोफ्रा आर्चरले ३,धवल कुल्कर्णी र जयदेब उनदकतले १ / १ विकेट लिए।

यो जितसंगै राजस्थान रोयल्स ७ खेलमा ५ हार र २ जितसहित ४ अंक जोडेर ८ टीम सम्मिलित आईपीएलको सातौ नम्बरमा रहेको छ भने समान ७ खेलमा ४ खेलमा जित र ३ खेलमा हार ब्यहोर्दै मुम्बई इण्डियन ८ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

१२ औं संस्करणको आईपीएल अन्तरगत आजै रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स् इलाभेन पञ्जाबबीच चण्डिगढमा खेल भैरहेको छ । यो खेलको समापनमा पञ्जाबले जितेमा अंकतालिकामा हेरफेर हुनेछ भने बैंगलोरले जितेमा भोलि अर्को नतिजा नआइञ्जेलसम्म यथावत हुनेछ ।

Share Now

Leave a comment.