चन्द्रपुर(रौतहट),१ बैशाख । नेपाली कांग्रेसका नेताहरुले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले सरकारका गलत कामहरु संसदमा उठाएर जनताबीच पनि लैजान नसकेको र पार्टीको संगठनलाई पनि सबल बनाउन नसकेकोमा आक्रोश पोखेका छन् ।
प्रजातान्त्रिक विचार केन्द्र, रौतहटले २९ औं जनआन्दोलन दिवसको उपलक्ष्यमा स्थानीय चन्द्रपुर नगरपालिकामा चैत्र २९ गते आयोजना गरेको आयोजना गरेको “वर्तमान राजनीतिक सन्दर्भमा लोकतान्त्रिक आन्दोलनका चुनौतिहरू” विषयक विचार गोष्ठिमा कांग्रेसका नेताहरुले पार्टी नेतृत्वप्रति आक्रोश व्यक्त गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व मन्त्री अर्जुननरसिंह के.सी.ले पार्टीका महाअधिवेशन रुमहासमिति जस्ता सर्वोच्च निकायले गरेका केन्द्रीय कार्यसमितिले उल्ट्याउने र वेवास्ता गर्ने कार्य गरेर लोकतन्त्रको उपहास गरेको आरोप लगाउनुभयो ।उहाँले काँग्रेसलाई वलियो वनाउन कार्यकर्ताहरुलाई पनि व्यक्तिगत एवम् गुटगत स्वार्थबाट माथि उठेर काम गर्न आग्रह गर्नुभयो ।
उहाँले देशमा ‘वाइडवडी प्रकरण, ठूला आयोजना प्रधानमन्त्रीको लहडमा दिने परिपाटी, फोर जी काण्ड,अदालत र प्रशासनमाथिको हस्तक्षेप, विश्वविद्यालयको स्वायत्तता, सरकारी जग्गा दर्ता लगायत भ्रष्टाचारमा सरकारका मन्त्रीहरु मुछिदा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आवाज किन दबेकोमा प्रश्न गर्दै काँग्रेसले सरकारको प्रजातन्त्र र जनविरोधी कामका विरूद्ध आक्रमक भएर प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
गोष्ठीलाई सम्वोधन गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रौतहटका सभापति एवम् पूर्व साँसद कृष्ण यादवले रौतहट जिल्लामा पार्टीका सबै साथीहरूलाई समेटेर लैजाने प्रयास भैरहेको बताउनु भयो । संगठन वलियो भए मात्र सबैले अवसर पाउने भएकोले एकापसमा झगडा गरेर पार्टीलाई कमजोर नपार्न सबैलाई आग्रह गर्नु भयो ।
नेपाली काँग्रेसका नेता एवम् रौतहटबाट संघीय संसदका साँसद देवीप्रसाद तिमल्सिनाले निर्वाचनका वेला कम्युनिष्टहरुको षड्यन्त्र तोड्न नसकेको र कार्यकर्ता राम्रोसंग परिचालन हुन नसकेकोले कांग्रेसको पराजय भएको बताउनुभयो । प्रतिपक्षमा रहेको कांग्रेसले संघीय संसद,प्रदेश सभा र स्थानीय तहमा सशक्त ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरेमा कांग्रेसले आउने चुनाव जित्ने पनि बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका युुवा नेता लोकेश ढकालले विचार गोष्ठीमा विशेष अतिथिको रूपमा संवोधन गर्दै ‘नेपाली काँग्रेसले आफ्नो नीति र नेतृत्व असल बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले १२ बुँदे समझदारी, शान्ति सम्झौंता, संविधान निर्माणका क्रममा भएका गल्तिहरुको समीक्षा जरुरी भएको र आवश्यक परे संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्धामा पुनर्विचार गर्नु पर्ने कुरामा विशेष जोड दिनुभयो ।
प्रजातान्त्रिक विचार केन्द्, रौतहटका सभापति रविनचन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा पूर्व सदस्य जीतेन्द्र यादव, २ न। प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका उपनेता सेख रसिद अलि (लाल बावु), प्रदेशसभा सदस्य धनलाल ठोकर, नेपाली काँग्रेस, जिल्ला कार्यसमितिका सचिव हृदयनारायण यादव, परौहा नगरपालिकाका मेयर एवम् प्रदेश नं। २ मेयरसंघका संयोजक शेख वकिल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव एवम् वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव, चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, नेपाल ट्रेड युनियन काँग्रेसको पूर्व जिल्ला सभापति विन्दा सहनी, नेपाल तरूण दलका जिल्ला सभापति नौसाद आलम, स्थानीय नेता प्रेमशंकर यादवले २०४६ सालको जनआन्दोलनको महत्वमाथि प्रकाश पार्नु भएको थियो ।



















