Prakash Adhikari April 19, 2019

सुरेन्द्र फुयाल/ बीबीसी नेपाली सेवा

काठमाडौं,६ बैशाख(बीबीसी)। कहिले ‘आर्थिक अनियमितता र चलखेल’का खबर। कहिले भर्ना, पदोन्नति वा शान्ति सेनामा सहभागी हुन ‘भनसुन र दबाब’का खबर। त कहिले उच्च अधिकारीका विवादास्पद भेटघाट वा अभिव्यक्ति वा क्रियाकलापका खबर।

नेपाली सेनाका सेवारत वा अवकाशप्राप्त उच्च अधिकारीहरू यस्तै यस्तै प्रकरणमा मुछिएका भनिएका खबर नेपाली सञ्चारमाध्यममा छ्यापछ्याप्ती हुने क्रम बढ्दै गर्दा नेपालको सबैभन्दा पुरानो र सम्मानित मध्येमा पर्ने संगठनले आफ्ना सम्पूर्ण दर्जाको लागि नयाँ आचार संहिता ल्याएको छ।

नयाँ आचार संहिता नेपाली सेनाका सेवारत र अवकाशप्राप्त दुवैथरी कर्मचारीमा लागु हुने भनिएको छ।

अनुशासन र आचरणप्रति आफ्नो सङ्गठन निकै गम्भीर भएको सङ्केत दिँदै आठ महिनाअघि पद सम्हालेका नयाँ सेना प्रमुख महारथी पूर्णचन्द्र थापाले आफ्ना सबै अधिकृत तथा जवानहरूका लागि आचार संहित सप्ताह सुरु गरेका छन्।

सैनिक आचार संहिताबारे प्रशिक्षण दिइने यो कार्यक्रम सात दिनसम्म चल्दैछ र यस्तो सप्ताह हरेक वर्ष वैशाखको पहिलो साता सञ्चालन गर्ने उनको योजना छ।

नेपाली सेनाका अधिकारीहरूका अनुसार नेपाली सेना विभिन्न विवादहरूमा मुछिएका विवरणहरू सार्वजनिक हुन थालेपछि ऊ आचार संहिता कडाइका साथ लागु गराउन तत्पर भएको हो।

पछिल्ला केही प्रकरणहरू केलाउँदा नेपाली सेना मूलत: तीन प्रकारका विवादमा मुछिने गरेको पाइएको छ।

१. आर्थिक अनियमितता

नेपाली सेना
नेपाली सेनाले पछिल्लो समयमा देशभित्र काठमाण्डू-तराइ फास्टट्र्याक भनिने एक्स्प्रेसवेलगायतका विभिन्न पूर्वाधार परियोजनाहरूको निर्माणको समेत जिम्मेवारी पाइरहेको छ। त्यसक्रममा नेपाली सेना आर्थिक अनियमितता र अन्य विवादमा फस्ने खतरा बढेको छ।

त्यसैले हुनसक्छ आज सैनिक आचार संहिता सप्ताह उद्घाटन गर्ने क्रममा महारथी थापाले भने, “सेनाले आचार संहिता सप्ताह मनाउनु पर्ने अवस्था आउनु आफैँमा विडम्बना र गम्भीर घटना हो। भ्रष्टाचार लगायत अन्य विकृति अहिले सुधार गर्न नसके कहिल्यै सुधार हुने छैन।”

हालै नेपाली सेनामा भर्ना छनौटका क्रममा अनियमितता गरेको पाइएका १८७ जनाविरुद्ध विभिन्न कारबाहीको प्रक्रिया थालिसकिएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बीबीसीलाई बताए।

उनले भने, “केही आरोपीविरुद्ध सैनिक अदालतमा रिट निवेदन परिसकेको छ भने अन्य केहीविरुद्ध सैनिक कानुन अनुसारका कारबाही प्रक्रियाहरू अगाडि बढाइसकिएको छ।”

महारथी थापाले सैनिक सङ्गठनभित्र गुनासो र उजुरी गर्न संयन्त्र बनाइएको जानकारी दिँदै आउने दिनमा नेपाली सेनाले आर्थिक अनियमितताविरुद्ध “शून्य सहनशीलता” अपनाउने आफ्नो योजना दोहोर्‍याएका छन्।

२. भनसुन र दबाब

नेपालका अन्य सङ्गठनहरूजस्तै नेपाली सेना पनि विभिन्न खाले सम्पर्कसुत्र ‘आफ्ना मान्छे’ वा बिचौलियाबाट हुने भनसुन र दबाबबाट मुक्त छैन। नेपाली सेनाको नयाँ आचार संहिताले त्यसलाई समेत गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने जमर्को गरेको छ।

शुक्रवारको कार्यक्रममा महारथी थापाले त्यस विषयलाई पनि उठाए।

उनले भने, “आर्थिक अभाव छ भनेर अनियमितता गर्ने छुट कसैलाई छैन।”

उनले भर्ना, छनौट, पदोन्नति, शान्तिसेनामा सहभागिताजस्ता विषयमा “प्रभावशाली व्यक्तिबाट भनसुन गराइ दबाब दिने प्रयास भएमा त्यसको अभिलेख राखिने” बताए।

थापाको चिन्ता यस्तो छ। भनसुन र दबाबका आधारमा अघि बढ्ने प्रवृत्ति कायमै रहेमा त्यस्ले सैनिकको वृत्‍ति विकासमा असर पर्दछ। उनले भने, “हाम्रो सङ्गठनमा यो प्रवृत्तिको अझै अन्त्य हुन सकेको छैन।”

नेपाली सेना

३. भेटघाट र अभिव्यक्ति विवाद

नेपाली सेनाका उच्च अधिकारीहरू राजनीतिक दलका नेता वा कार्यकर्ता वा विदेशी नागरिक वा अधिकारीहरूसँग भेट गरेका कारण पनि विवादमा मुछिने गरेका छन्।

कतिपय सेवारत वा अवकाशप्राप्त अधिकारीहरू सामाजिक सञ्जाल फेसबुक, ट्वीटर आदिमा विवादास्पद टिप्पणी गरेका कारण पनि विवादमा पर्ने गरेका छन्।

हालै नेपाली सेनाले केही अवकाशप्राप्त अधिकारीहरूलाई सामाजिक सञ्जालमा जथाभाबी नलेख्न र नछाप्न भन्दै सचेत समेत गराएको थियो।

नयाँ आचार संहिताले स्पष्ट रूपमा भेटघाट र सार्वजनिक अभिव्यक्तिका विषयमा “गर्न हुने, गर्न नहुने र गर्नु पर्ने” विषयहरू स्पष्ट पारिदिएको छ। त्यसबाट नेपाली सेनाका सकल दर्जाका सदस्यहरूलाई सैनिक सदाचार र आचरण कायम गर्न स्पष्ट मार्गनिर्देशन मिल्ने जङ्गी अड्डाका अधिकारीहरूको आशा छ।

के विषय समेटिएका छन्?

नयाँ आचार संहिताले नेपाली सेनाका सदस्यहरूका लागि सेनाको मूल्यमान्यता, परम्परा तथा शिष्टाचार, मिडिया तथा सोसियल मिडियाको प्रयोग, आर्थिक पारदर्शिता, राजनैतिक र सार्वजनिक भेटघाट, विदेशीसँगको भेट, शिक्षक तथा शिक्षार्थीको आचरण, भर्ना तथा छनौट प्रक्रिया र उपहार लिने दिने विषयमा स्पष्ट मार्गदर्शन गरेको प्रवक्ता पाण्डेले बताए।

सैनिक आचार संहिताले लैङ्गिक विषयमा पनि सैनिक तथा अधिकृतहरूलाई स्पष्ट मार्गदर्शन गरेको छ।

नयाँ आचार संहितालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै महारथी थापाले जङ्गी अड्डाको भेलामा “सैनिक आचरणविपरितका कुनै पनि कार्य सङ्गठनमा मान्य र क्षम्य हुनु हुँदैन” भन्ने आफ्नो मान्यता सबैलाई पुन: स्मरण गराएका थिए।

Share Now

Leave a comment.