Prakash Adhikari May 9, 2019

२६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियोको औपचारिक भ्रमणकालागि आज भियतनामको राजधानी हनोइ प्रस्थान गर्नुभएको छ ।

भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेना, उपप्रधान एवंम रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरू र उच्च पदस्त व्यक्तिहरूले बिदाइ गरेका छन् ।

 

यस्तो छ भ्रमण तालिका

६ दिने भ्रमका क्रममा प्रधानमन्त्री ओली सुरुमा भियतनाम पुग्नुहुने छ । त्यहाँ ३० गतेसम्म व्यस्त रहने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली भियतनामका आफ्ना समकक्षी फुकसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । ओलीले नेशनल एसेम्बेलीका अध्यक्षसँग पनि भेटघाट गर्ने कार्यक्रम बनेको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले त्यहाँको ह नाम प्रान्तमा आयोजना हुने अन्तरराष्ट्रिय वैशाख दिवस तथा हो चि मिह्न राष्ट्रिय राजनीति प्रतिष्ठान र नेपाल–भियतनाम व्यवसाय मञ्चलाई सम्बोधन गर्नुहुनेछ ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध प्रगाढ पार्न केही सम्झौता समेत हुने बताइएको छ ।

यद्यपि, परराष्ट्रले त्यसबारे केही प्रष्ट्याएको छैन ।

प्रधानमन्त्री ओली भियनतामको भ्रमण सकाएर जेठ ३० गते नै उतैबाट कम्बोडिया जानुहुनेछ ।

त्यहाँ उहाँले आफ्ना समकक्षी हुन सेन, नेशनल एसेम्बली र सिनेटका अध्यक्षसँग भेट गर्ने तय भएको छ ।

भियतनामको भ्रमणमा जस्तै कम्बोडियामा पनि द्धिपक्षीय हित प्रवर्द्धनलगायत विषयमा छलफल गर्ने परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री ओली आगामी जेठ १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगै उहाँकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, संघीय संसद्का सदस्य, राष्ट्रिय योजना आयोगका पदाधिकारी, विभिन्न मन्त्रालयका उच्चपदस्थ सरकारी अधिकृत र गैरसरकारी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मी पनि भ्रमणमा सहभागी हुनुहुन्छ ।

Share Now

Leave a comment.