Prakash Adhikari January 2, 2018

तेहरान(इरान), १८ पौष । इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनीले भनेका छन् उनको देशका शत्रुहरूले देशमा असन्तोष भड्काउने काम गरिरहेका छन्।

थप नौ जनाको ज्यान जाने गरी रातभर भएका विरोध प्रदर्शनहरू पछि उनको त्यस्तो टिप्पणी आएको छ।

गत बिहीवार देखि शुरु भएको सरकार विरोधी प्रदर्शनका लहरको सम्बन्धमा आफ्नो पहिलो टिप्पणी गर्दै ती सर्वोच्च नेताले भने, ूदेशका ती शत्रुहरूले प्रदर्शनकारीहरूलाई रकम, हतियार र जासुसहरू उपलब्ध गराएका छन्।ू

हालसम्म २२ जनाको ज्यान जाने गरी कैयौं दिनदेखि जारी विरोध प्रदर्शनहरूका पछाडि देशका शत्रुहरूको हात रहेको आयातोल्लाह खोमेनीले बताए।

आफ्नो आधिकारिक वेबसाइटमार्फत् टिप्पणी गर्दै इरानका सर्वोच्च नेता आयातोल्लाह खोमेनीले वर्तमान अवस्थाका बारे सही समयमा देशलाई सम्बोधन गर्ने पनि बताए।

लहर
गएको बिहीवारदेखि मशाद शहरबाट यी पछिल्ला विरोध प्रदर्शनको लहर शुरु भएको हो।

शुरुमा चर्को मूल्यवृद्धि र भ्रष्टाचारको विरोधमा प्रदर्शनहरू भएका थिए, तर अब तिनले व्यापक सरकार विरोधी भावना समेटिसकेका छन्।

तेहरान प्रान्तमा मात्रै हालसम्म ४५० जनालाई पक्राउ गरिएको सो प्रान्तका उपराज्यपाललाई उद्धृत गर्दै जनाइएको छ।

यसअघि इरानका राष्ट्रपति हसन रुहानीले यी विरोध प्रदर्शनहरूलाई, उनकै शब्दमा, धम्की होइन अवसर भनेका थिए। तर उनले कानुन तोड्नेहरू विरुद्ध कार्बाही गरिने चेतावनी पनि दिए।

संयुक्त राज्य अमेरिकाले विरोध प्रदर्शनकारीहरूको कदमलाई ुनिर्भीक प्रतिरोधु भन्दै समर्थन जनाएको छ।

मंगलवार टर्कीले इरानमा फैलँदो असन्तोषप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई चर्कन नदिन चेतावनी दिएको छ।

आह्वान

युरोपेली संघले इरानलाई आह्वान गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने आफ्ना जनताको अधिकारलाई सुनिश्चित गर्न भनेको छ।

इयुले आफू इरानी अधिकारीहरूसँग सम्पर्कमा रहेको र अवस्थालाई नजिकबाट नियालिरहेको बताएको छ।

गत छ दिनको विरोध प्रदर्शन इरानका सत्ताधारी धर्मगुरुहरू, विशेषगरी, सर्वोच्च नेताले सन् २००९ यता सामना गर्नु परेको सबैभन्दा ठूलो चुनौती हो।

सन् २००९ मा भएको ुग्रीन मूभमेन्टु अर्थात् हरित आन्दोलनका क्रममा लाखौं प्रदर्शनकारीहरूले तत्कालीन राष्ट्रपति मेहमुद अहमदिनेजादको चुनावी विजयको विरोध गरेका थिए।

त्यो बेलाको विरोध प्रदर्शनलाई क्रूरतापूर्वक दबाइएको थियो।

त्यति बेला ३० जनाको ज्यान गएको थियो भने हजारौं गिरफ्तार भएका थिए।

Share Now

Leave a comment.