बलोचिस्तान(पाकिस्तान),२९ बैशाख (बीबीसी)। पाकिस्तानको बलोचिस्तान प्रान्तस्थित एउटा पाँचतारे होटलमा तीन जनाको सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा एक व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
सो समूहले आक्रमण गरेको जाभेर पर्ल कन्टिनेन्टल होटल अर्बौँ डलर चिनियाँ लगानी रहेको रणनीतिक महत्त्वको बन्दरगाह सहर ग्वादारमा पर्छ।
होटलका प्रवक्ताका अनुसार रमजानको बेला भएकाले होटलमा अतिथि थिएनन् र कर्मचारीहरू पनि थौरै सङ्ख्यामा थिए।
पृथक्तावादी समूह बलोचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिँदै चिनियाँ र अन्य लगानीकर्तालाई लक्षित गरिएको बताएको छ।
उक्त समूहसँग सम्बन्ध भएको भन्ठानिएको एउटा ट्विटर खातामा थप आक्रमण हुन सक्ने चेतावनी चीन र पाकिस्तानलाई दिइएको छ।
कसरी भयो आक्रमण?
प्राय: सरकारी अधिकारीहरू तथा विदेशीहरू बस्ने उक्त होटलमा आक्रमणकारीहरू स्थानीय समयानुसार अपराह्ण ४:५० जाँदा प्रवेश गरेका थिए।
उनीहरूलाई रोक्न खोज्ने सुरक्षा कर्मचारीलाई उनीहरूले गोली हानेर मारिदिए।
पछि त्यहाँ पुगेका सुरक्षाकर्मीहरू र आक्रमणकारी समूहको भिडन्त भएको थियो।

पहिला होटलबाट अतिथिहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको समाचार आएको थियो।
उक्त होटल अरब सागरमा रहेको ग्वादर बन्दरगाह देखिनेगरी एउटा डाँडामा अवस्थित छ।
संवेदनशील क्षेत्र
चीनसँग यातायात र पारवहन जोड्ने उद्देश्यका साथ चाइना-पाकिस्तान इकोनोमिक करिडोर (सीपीईसी) अन्तर्गत चीनले उक्त परियोजनामा लगानी गरेको छ।
घटनापछि चिनियाँ र पाकिस्तानी अधिकारीहरूले यो आक्रमणका कारण द्विपक्षीय सहकार्यमा प्रभाव नपर्ने बताएका छन्।
तर चीनको अन्तर्राष्ट्रिय पूर्वाधार कार्यक्रम बेल्ट एन्ड रोड अवधारणा अन्तर्गतको एउटा मुख्य परियोजना सीपीईसी भने सुरक्षा चासोको छायामा पर्दै आएको छ।
Chinese Embassy strongly condemns terrorist attack on PC Hotel in Gwadar. The heroic action of Pakistani Army & law enforcement agencies is highly appreciated. We express condolences to the families of the security guard who sacrificed his life &two security men who were injured.
— Chinese Emb Pakistan (@CathayPak) May 11, 2019
चिनियाँ लगानीकर्तालाई लक्षित गरिएको यस्तो घटना त्यस क्षेत्रमा कुनै नौलो भने होइन। बलोचिस्तानमा रहेका विद्रोहीहरू चिनियाँ लगानीको विरुद्धमा छन्।
उनीहरू त्यसको फाइदा स्थानीयहरूलाई नहुने ठान्छन्।
पाकिस्तानस्थित चिनियाँ दूतावासले घटनाको भर्त्सना गरेको छ।
सो क्षेत्रमा बन्धुकधारीले ११ सुरक्षाकर्मीसहित १४ जनाको ज्यान लिएको एक सातापछि यो आक्रमण भएको हो।
चीनले बलोचिस्तानमा के गर्दैछ?
बलोचिस्तान चीनको महत्त्वाकाङ्क्षी परियोजना सीपीईसीको मुटुमै पर्छ।
त्यहाँ चीनले भौतिक पूर्वाधार निर्माण गर्न ठूलो लगानी गरेको छ।
आफ्नो देशको सिन्जियाङ प्रान्त र बलोचिस्तानस्थित अरब सागरको ग्वादार बन्दरगाह जोड्ने चीनको लक्ष्य रहेको छ।
बलोचिस्तानमा ठूलो जनघनत्व छैन। तर त्यहाँ ग्यास र कोइलाको ठूलो भण्डार रहेको छ। त्यहाँ तामाखानी र सुनखानी पनि छन्।
प्राकृतिक स्रोत र खनिज पदार्थसम्पन्न भए पनि बलोचिस्तान आर्थिक रूपमा विपन्न छ।
बलोच राष्ट्रवादीहरूले इस्लामाबादले शोषण गरेको र प्रान्तलाई अधिकार नदिएको आरोप लगाउँदै आएका छन्।


















