बेइजिड.(चीन),८ जेठ(बीबीसी) ।विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्।
एक सय ७० कम्पनीले हस्ताक्षर गरेको निवेदनमा उनीहरूले राष्ट्रपति ट्रम्पको आयात शुल्क २५ प्रतिशत पुर्याउने निर्णयले असमानुपातिक रूपले तल्लो वर्गका मानिसहरूलाई हानि हुने उल्लेख गरिएको छ।
हस्ताक्षर गर्ने कम्पनीहरूमा नाइकी तथा एडिडास पनि छन्।
“यो व्यापार युद्ध अन्त्य गर्ने बेला आएको छ,” उनीहरूले भनेका छन्।
गत साता राष्ट्रपति ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ आयातमा लाग्दै आएका शुल्कलाई १० प्रतिशतबाट २५ प्रतिशत पुर्याइदिएका थिए।
चीनले प्रतिक्रियास्वरूप ६० अर्ब डलर बराबरका अमेरिकी आयातमा जुन १ बाट शुल्क बढाइदिने योजना सार्वजनिक गरेको छ।
China buys MUCH less from us than we buy from them, by almost 500 Billion Dollars, so we are in a fantastic position. Make your product at home in the USA and there is no Tariff. You can also buy from a non-Tariffed country instead of China. Many companies are leaving China…..
— Donald J. Trump (@realDonaldTrump) May 14, 2019
सो निवेदनमा हस्ताक्षर गर्ने जुत्ता निर्माता कम्पनीहरूमा क्लार्क्स, डक्टर मार्टेन तथा कन्भर्स पनि छन्। उनीहरूका अनुसार हाल जुत्ताहरूमा अमेरिकाले लगाएका शुल्क औसतमा ११.३% रहेको कुनै कुनैमा त्यो ६७.५% सम्म छ।
“यी शुल्कमाथि थप २५ प्रतिशत शुल्क लगाइने हो भने कतिपय अमेरिकी परिवारले तिनको जुत्तामा शतप्रतिशत भन्सार शुल्क बेहोर्नुपर्नेछ,” कम्पनीहरूले लेखेका छन्।
“यो त अकल्पनीय हो।”
के भन्छन् ट्रम्प?

गत महिना शुल्क बढाएपछि ट्रम्पले कम्पनीहरूलाई तिनको खर्च कटौती गर्न उत्पादन गर्ने कार्य अमेरिकामा फर्काउन सुझाव दिएका थिए।
तर जुत्ता निर्माता एवम् खुद्रा विक्रेताहरूले भने उनीहरूले चीनबाट बिस्तारै सर्दै गरेको भएपनि अहिलेको नीति ठीक छैन।
“जुत्ता निर्माणको उद्योग एकदमी पुँजी आवश्यक पर्ने उद्योग हो। त्यसका लागि वर्षौँका योजना आवश्यक हुन्छ। यस्ता परिवर्तन हुनासाथ कम्पनीहरूले फ्याक्ट्री सारिहाल्न सक्दैनन्।”
अमेरिका र चीन जापानमा हुने जी२० को शिखर सम्मेलनमा आगामी महिना भेट्दैछन्।
यसैबीच अमेरिकाले चीनमाथि दबाव बढाउँदै चिनियाँ कम्पनी ह्वावेईलाई कालो सूचीमा राखिसकेको छ।


















