काठमाडौं, ८ जेठ । नेपाली क्रिकेट स्टार सन्दीप लामिछाने केही समयको विश्राम पछि एकाएक मंगलबार अस्ट्रेलिया हानिएका छन् ।
नेपाली क्रिकेटको विकासको लागि केही कामको सूची बोकेर बिगब्यासमा पनि काम भएको भन्दै उनी अस्ट्रेलिया हानिएका हुन ।
विग ब्यासको पछिल्लो संस्करणमा मेलबर्न स्टारबाट खेल्ने मौका पाएका सन्दीप आफूले खेल्न पाएका कुनै पनि खेलमा टोलीलाई निराश पारेनन् । उनले नेपाली क्रिकेट खेल र नेपालको नाम पनि विश्वमा चम्काउने सफलता पाए ।
झण्डै तीन हप्ता अस्ट्रेलिया बस्ने योजना सहित काठमाडौंबाट १ बजे प्रस्थान गरेका सन्दीपले त्यहाँको ग्रेड क्रिकेटमा नेपाली क्रिकेटरहरुलाई खेलाउन पहल समेत गर्ने बताएका छन्। सन्दीप आफैले पनि २ वर्ष पहिले अस्ट्रेलियामा माइकल क्लार्कको क्लब वेस्टर्न सबर्ब्सको लागि ग्रेड क्रिकेट खेलेका थिए।

भारतीय क्रिकेटको सबैभन्दा प्रतिष्ठित लिग इण्डियन प्रिमियर लिग(आईपीएल)मा दिल्ली क्यापिटल्सको लागि खेलर नेपाल फर्केका सन्दीप चितवन पुगेर परिवारका साथ बसेका थिए । त्यस समयमा उनले चितवनमा धुर्मुस सुन्तली फाउन्डेसले निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पनि भ्रमण गरेका थिए। यसै बीचमा उनले आफ्नो क्रिकेट जीवनसंग जोडिएको चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षक राजु खड्का र खेलाडीहरुसंग असल क्रिकेटर बन्ने उपाय र यस खेलका संभावनाकासाथै आफ्नो व्यवसायिक सफलताका बारेमा पनि अनुभव बाँडेका थिए ।
आईपीएलबाट फर्कदा एअरपोर्टमा नै खेलबाट बढी थाकेको र ढाँडमा केही दुखाई पनि भएकोले यही जेष्ठ १० गते बाट काठमाडौँमा सुरु हुने प्रधानमन्त्री कपमा आफू सहभागी नहुने बताएका सन्दीप प्रधानमन्त्री कपको पूर्व सन्ध्यामा नै अस्ट्रेलिया हानिएका छन् ।


















