कीर्तिपुर(काठमाडौं)। शुक्रबारदेखि राजधानीमा सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाले प्रदेश२ लाई १ सय ७१ रनको अन्तरले पराजित गरेको छ ।
समुह ‘बि’ अन्तर्गतको खेलमा टस हारेर पहिले ब्याटिंग गरेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७८ रनको योगफल तयार गरेको थियो।
सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले ३१.४ ओभरमा १०७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।
प्रदेश २ लाई रोक्न नेपाली सेनाका शाहब आलमले ४, सुशन भारीले ३, जितेन्द्र मुखियाले २ र कुशल मल्लले १ विकेट लिएका थिए ।
प्रदेश २ को लागि ओपनर हरिशंकर शाहले २१ रन बनाए भने सम्साद शेखले १६, सुधार चौधरीले १५, राशिद खानले अविजित १४ रन योगदान दिए। मेहबुब आलमले ५ रन मात्र बनाउन सके।
यस अघि पहिले ब्याटिंग गर्ने क्रममा नेपाली सेनाका राजु रिजालले ९०, कप्तान बिनोद भण्डारीले ६६, रोहित पौडेलले ४७ तथा हरि चौहानले २६ रन बनाए।
पहिलो विकेटको लागि राजु र बिनोदले २१ ओभरमा १ सय २१ रनको साझेदारी गरेका थिए।
नेपाली सेनालाई रोक्ने क्रममा प्रदेश २ का बलर हरिशंकर शाहले ३ विकेट लिएका थिए ।
खेलमा सर्वाधिक ९० रन बनाएका नेपाल आर्मीका खेलाडी प्लेयर अफ द म्याच राजु रिजाल चुनिए।
प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा शशस्त्र प्रहरी बल (एपीएफ)ले र प्रदेश ३ को बीचमा हुनेछ । प्रदेश ३ को कप्तानी पारस खड्काले गर्ने छन् भने ज्ञानेन्द्र मल्ल पनि सोही टीमबाट खेल्दैछन् ।
प्रधानमन्त्री कपमा ७ प्रदेश र ३ विभागीय टिमहरु १० टीम सहभागी छन्। १० टिमलाई २ समूहमा विभाजन गरिएको छ। समूह चरणमा दुवै समूहमा रहेका टीमहरुले एकअर्कासंग १ / १ खेल खेलेपछि दुवै समूहबाट उत्कृष्ट हुने २ / २ टीम सेमीफाइनल प्रवेश गर्नेछन्।
समुह ‘ए’ अन्तर्गत प्रदेश ३, प्रदेश ५ , सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र शशस्त्र प्रहरी बल रहेका छन्। समुह ‘बी’ मा प्रदेश १ , प्रदेश २ , कर्णाली प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।
प्रतियोगिताको विजेताले नगद २० लाख, उपविजेताले १० लाख हात पार्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् ।
त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद ५० हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा दर्शकले छक्का बल १ हातले समातेमा ५० हजार रुपैयाँ पुरस्कार दिने समेत आयोजकले घोषणा गरिसकेको छ।


















