गीता पाण्डे/बीबीसी न्यूज, भारत
नयाँ दिल्ली(भारत),११ जेठ । राहुल गान्धीको पराजयले उनको परिवारको राजनीतिक वंशको अन्त्य गराउन सक्ला?
विहीबार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले आम निर्वाचनमा ठूलो बहुमतका साथ जित हासिल गर्दा, नेहरू-गान्धी परिवारका वंशज र भारतको कंग्रेस पार्टिका नेता राहुल गान्धी पराजित र थकित देखिए।
उनी एक बेजोडको राजनीतिक वंशका मुख्य उत्तराधिकारी हुन्।
उनका जिजुबुबा, जवाहरलाल नेहरू, भारतको प्रथम र लामो समय शासन गर्ने प्रधानमन्त्री थिए। उनकी हजुरमुमा, इन्दिरा गान्धी देशको प्रथम महिला प्रधानमन्त्री थिइन् र उनका बुबा राजिव गान्धी भारतका सबैभन्दा कान्छा प्रधानमन्त्री।
सन् २०१४ को आम निर्वाचन कंग्रेसकालागि सबैभन्दा खराब रहेको थियो। विहीबारको मतपरिणाम घोषणाले राहुल गान्धीलाई दोहोरो चोट पुर्यायो।
कंग्रेसले नरेन्द्र मोदीको बीजेपीले पाएको ३०० भन्दा बढी मतको दाँजोमा ५० भन्दा केही बढी मत मात्र पाउन सक्यो।
त्यति मात्र नभएर उनले परिवारकोलागि निर्धारित जस्तै रहँदै आएको उत्तर प्रदेशको अमेठी निर्वाचन क्षेत्रमा पनि पराजय भोगे।
उनले केरलको वायनाडबाट भने विजय हासिल गरेकाले उनी संसदमा बस्न भने पाउने छन्।
प्रतिष्ठा
तर अमेठीको लडाईँ प्रतिष्ठाको प्रतिस्पर्धा थियो।
त्यहाँबाट उनका मातापिता- सोनिया गान्धी र राजिव गान्धी दुवैले जितेका थिए र विगत १५ वर्षदेखि त्यहाँको स्थान उनकै थियो।

बीजेपीकी स्मृति इरानीले अमेठीमा राहुल गान्धीलाई पराजित गरेकी थिइन्
अमेठीको प्रत्येक घरलाई “मेरो अमेठी परिवार” भनेर सम्बोधन गरी लेखिएको भावुक पत्रले समेत उनलाई बीजेपी उम्मेदवार तथा टेलिभिजन नायिकाबाट राजनीतिज्ञ बनेकी स्मृति इरानीबाट लज्जाजनक हार बेहोर्नबाट जोगाउन सकेन।
अनुमान
यो आम निर्वाचनमा कंग्रेसको सहज विजय हुनेछ भनेर धेरैले अनुमान त गरेका थिएनन् तर सन् २०१४ को दाँजोमा यो पटक तिनीहरूले केही सुधार गर्लान् भन्ने अपेक्षा भने रहेको थियो।
त्यसैले विहीबार भएको मतगणना घोषणाले पार्टि भित्र र बाहिरकाहरूलाई स्तब्ध तुल्याएको छ।
संसदमा कंग्रेस कमजोर हुनेछ तर धेरैले गरिरहेको प्रश्न भने अब गान्धी युग समाप्त भएको हो त? भन्ने छ।
विहीबार नै राहुल गान्धीले दिल्लीमा एक पत्रकार सम्मेलन गरेर निर्वाचनमा पराजय स्वीकार गरेका थिए र मतदाताले बीजेपीलाई छानेर आफ्नो जनादेश दिएको बताए।
कंग्रेसको पराजयको सम्पूर्ण जिम्मेवारी उनी आफूले लिए।
प्रश्न
कंग्रेसको कमजोर प्रदर्शनपछि राहुल गान्धीको नेतृत्वका बारेमा प्रश्नहरू निश्चय नै उठ्नेछन्।
थुप्रै विश्लेषकहरूले पार्टिमा परिवर्तन र उच्च पदबाट उनी हट्नुपर्ने आह्वान गरिरहेका छन्। तर विगतमा जस्तै त्यस्तो आह्वान पार्टि बाहिरबाट भैरहेको छ जस्लाई नेतृत्वले अस्वीकार गर्नेछ।
दिल्लीमा राहुल गान्धीले राजीनामा दिन खोजेको भन्ने हल्ला फैलिरहँदा कंग्रेस नेता मणीशंकर ऐयरले बीबीसी हिन्दीसँग कुरा गर्दै, “कंग्रेसले नेतृत्वलाई प्रश्न नगर्ने र राहुल गान्धीले राजीनामा दिएनैभने पनि त्यसलाई स्वीकार नगर्ने” बताएका छन्।
निर्वाचनमा पराजयका लागि नेतृत्व जिम्मेवार नरहेको उनको दावी थियो।
लखनउस्थित एकजना स्थानीय पार्टि प्रवक्ता बृजेन्द्रकुमार सिंहले भने उनीहरूको विचारमा गान्धीको नेतृत्व समस्या होइन, समस्या त पार्टिभित्रको आन्तरिक किचलो र कमजोर चुनाव प्रचार थियो।
व्यक्तित्वको प्रतिस्पर्धा?
थुप्रै कंग्रेस विश्लेषकहरू भित्री रूपमा के स्वीकार्छन् भने राहुल गान्धी पहिले नै जित्न नसकिने खालको व्यक्तित्वको प्रतिस्पर्धामा थिए।
उनीहरूको बाटोको सबैभन्दा ठूलो तगारो भनेकै “ब्रान्ड मोदी” रहेकोमा सबै सहमत छन्।
“प्रधानमन्त्रीले पहिलेको चुनावमा गरेका वाचा पुरा गर्न असफल भएका भएतापनि उनी आफ्नो सरकारको नीतिहरूका बारेमा मतदातालाई विश्वस्त तुल्याउन सक्षम देखिए,” सिंहले भने।
केही कंग्रेस नेताहरूमा देशको राजनीतिक वंशलाई जोगाउने उपयुक्त पात्र प्रियंका गान्धी बन्न सक्ने सोच लामो समयदेखि रहँदै आएको पाइन्छ।
तर कारण जे सुकै भएपनि उनले त्यस्तो जिम्मेवारी लिन चाहेको भने देखिँदैन।

राहुलकी बहिनी प्रियंका गान्धी पनि कंग्रेस पार्टिकी नेतृ हुन्
दाजु बहिनीबीच निकै नजिकको सम्बन्ध रहेको विश्वास गरिन्छ र राहुललाई विस्थापित गर्ने कुनै पनि योजनामा उनी सहभागी हुन्छिन् भन्ने अनुमान गर्न सकिँदैन।
तर उनले राहुललाई समर्थन गर्दै उनीसँगै मिलेर काम गर्ने थप ठूलो भूमिका स्वीकार्न भने सक्छिन्।
एकजना राज्य पार्टि अधिकारी विरेन्द्र मदान भन्छन् अबको केहीदिनमा दिल्लीस्थित पार्टि नेतृत्व र राज्य तहमा पनि विभिन्न बैठकहरू हुनेछन् र हारको कारण खोतलिने छ। तर कुनै पनि अवस्थामा नेतृत्वका पछाडि पार्टि नउभिने भन्ने प्रश्नै आउँदैन।
उनी भन्छन्, “राहुल गान्धीले मात्र चुनाव हारेका होइनन्। थुप्रै अरू नेताहरूले पनि जित्न सकेनन्। निर्वाचनहरू भनेको आउँछन् जान्छन्।
“कुनैमा जित हुन्छ कुनैमा हार। याद गर्नुस् सन् १९८४ मा बीजेपीसँग जम्मा दुई स्थान थियो, तर तिनीहरू बलियो भएर आएनन् त? हाम्रो पनि पालो आउने छ।”


















