
लण्डन(संयुक्त अधिराज्य),१८ जेठ । आईसीसी एकदिवसीय विश्व कप क्रिकेट प्रतियोगिता अन्तरगत शनिवार सम्पन्न श्रीलंका र न्युजिल्याण्डको खेलमा विकेटको क्षतिविना न्युजिल्याण्डले शानदार विजय हासिल गरेको छ ।
कार्डिफस्थित सोफिया गार्डेन मैदानमा टस जितेर फिल्डिंग गरेको न्युजिल्याण्डले श्रीलंकालाई १ सय ३६ रनमा समेट्यो। जवाफमा १ सय ३७ रनको लक्ष्य बोकेको न्युजिल्याण्डले निर्धारित ५० ओभरको खेल १६.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो।
न्युजिल्याण्डको जितमा ओपनर मार्टिन गुप्टिलले अविजित ७३ रन तथा कोलिन मुन्रोले अविजित ५८ रन जोडे। मात्र ५१ बल खेलेका गुप्टिलले ८ चौका र २ छक्का सहित ७३ रन जोड्दा ४७ बलमा मुन्रोले ६ चौका र १ छक्का सहित ५८ रन बनाए।
यसअघि टस जितेर बलिंग रोजेको न्युजिल्यान्डकाम्याट हेनरीले र लक्की फर्गुसनले समान ३ ।३ विकेट लिए।
श्रीलंकाको ब्याटिंगमा कप्तान दिमुथ करुनारत्नेले अविजित ५२ रन जोड्न बाहेक अन्यको प्रदर्शन खास रहेन। करुनारत्ने संगै कुशल पेरेरा र थिसरा पेरेरा बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।
प्रतियोगितामा श्रीलंकाले आफ्नो दोस्रो खेल आउँदो मंगलवार अफगानिस्तानबिरुद्ध खेल्नेछ। यस्तै न्युजिल्याण्डको दोस्रो खेल भने आउँदो बुधवार बंगलादेश बिरुद्ध रहेको छ।
विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई १०४ रनले तथा दोश्रो खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ७ विकेटले पराजित गरेका छन् ।