
लण्डन(सयुक्त राज्य अमेरिका),२० जेठ । विश्वकप क्रिकेटको सोमबार भएको खेलमा एशियाली राष्ट पाकिस्तानले इंग्ल्याण्डलाई १४ रनले पराजित गरेको छ ।
ट्रेन्ट ब्रिजमा सम्पन्न खेलमा पहिले ब्याटिंग गरेको पाकिस्तानले दिएको ३ सय ४९ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३सय ३४ रन मात्रै बनाएपछि १४ रनले पाकिस्तान विजयी भएको हो।
३ सय ४९ रनको जवाफी लक्ष्यसहित मैदानमा उत्रिएको इंग्ल्याण्ड ५० ओभरमा ९ विकेट गुमाउँदा ३ सय ३४ रनमा रोकियो । राम्रो सुरुवात गर्न नसकेको इंग्ल्याण्डले १२ रनमा पहिलो विकेट गुमायो । त्यसपछि उसको स्कोर ६० रन हुँदा दोस्रो विकेट झर्यो । सुरुवाती खेलाडीले राम्रो खेल्न नसक्दा इंग्ल्याण्डले एक सय १८ रनमा चार विकेट खेर फाल्यो । उसका ओपनर जेसोन रोय ८ रनमा आउट भए भने जिमी ब्रेस्टो ३२ रनमा पेभेलियन फर्किए ।
तर पाँचौ विकेटका लागि जोय रुट र जोस बट्लरले एक सय ३० रनको साझेदारी गर्दै पारि सम्हालेका थिए । जसमा रुटले सतकीय पारी खेले । तर रुट एक सय चार बलमा १० चौका र एक छक्काको मद्दतमा एक सय सात रन बनाउँदा आउट भएपछि इंग्ल्याण्डले दुई सय ४८ रनमा पाँचौ विकेट गुमायो ।
त्यसपछि जोस बटलरले पनि सतक प्रहार गरे । विश्वकपमा कम बलमा सतक बनाउने पहिलो इंग्ल्याण्डको खेलाडी बनेका बट्लरले ७५ बलमा सतक बनाएका थिए । जसमा उनले नौ चौका र दुई छक्का प्रहार गरे । तर एक सय तीन रनमा आउट भएपछि इंग्ल्याण्ड ठूलो दबावमा परेको थियो ।
त्यसपछि मोयन अलीले १९ र क्रिस वक्सले २१ रन थपेका थिए । इंग्ल्याण्डलाई अन्तिममा जितका लागि २५ रन चाहिएको थियो । तर उसले पूरा गर्न सकेन ।
बलिङमा पाकिस्तानका सादाब खान र मोहम्मद आमिरले दुई तथा वाहेब रियाजले तीन विकेट लिए ।
यस अगाडि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो विकेटका लागि ८२ रनको साझेदारी गरेको थियो । उसका फाकर जमानले ३६ रन बनाए भने इमाम उल हकले ४४ तथा बाबर अजामले ६३ र मोहम्मद हफिजले ८४ रन थपे ।
यस्तै कप्तान सरफराज अहमेदले ५५ रनको योगदान गरे । पहिलो विकेट गुमाएपछि दोस्रो विकेट पनि सस्तैमा गुमाएको पाकिस्तानका लागि अजाम र हफिजले तेस्रो विकेटका रुपमा ८८ रनको साझेदारी गरे ।
त्यसपछि चौथो विकेटका लागि हफिज र सरफराजले ८० रनको साझेदारी गरेपछि पाकिस्तान बलियो लक्ष्य तिर अगाडी बढेको थियो । बलिङमा इंग्ल्याण्डका क्रिस ओक्स र मोयन अलीले तीन तीन विकेट लिए ।