Prakash Adhikari June 17, 2019

काठमाडौं, असार । गुठीयारहरुहरुको अधिकार खोसेर गुठीका धनसम्पत्ति सरकारको इच्छाअनुसार चलाउने निहित उद्देश्यले ल्याएको गुठी विधेयकको विरोधमा उपत्यकाको तेस्रो जिल्ला भक्तपुर पनि आक्रामक रुपमा उत्रिएको छ । जात्रा,पर्व र मौलिक परम्पराहरुको धनी नेवार जातिको बसोबार रहेको भक्तपुरमा परापूर्व कालदेखि नै गुठी रहिआएको छ ।

आइतबार साँझपख भक्तपुर पुरानो ठिमीका स्थानीयले मसाल जुलुससहित गुठी विधेयकको विरोध जनाएका छन्।

पुरानो ठिमीबाट सुरु भएको जुलुस बालकुमारी, मध्यपुर ठिमीमा पुगेर समापन भएको थियो।जुलुसका सहभागीले एक हातमा गुठी विधेयक फिर्ता गर, हाम्रो जात्रा हाम्रो देश प्राणभन्दा प्यारो छलगायतका नारा र अर्को हातमा मसाल बोकेर गुठी विधेयकको विरोध गरेका थिए ।

 

१० गते उपत्यका बन्दको घोषणा

सरकारले मठमन्दीरको पुजाआजा व्यवस्थापन र सञ्चालनसंग जाडिएको गुठी संस्कृतिलाई छिन्नभिन्न पारेर हिन्दु धर्म र संस्कृतिलाई लोप गराउने षड्यन्त्रका साथ गुठी विधेयक ल्याएको भन्दै त्यसको विरोधमा विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले असार १० गते उपत्यका बन्दको घोषणा गरेको छ ।

समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम थालिएको बताएको थियो। घोषित कार्यक्रम अनुसार असार २ गते सो विधेयक फिर्ता लिन देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउने, असार ५ गते काठमाडौंको वसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम रहेका छन्।

पत्रकार सम्मेलनमा विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिनुभयो।

Share Now

Leave a comment.