काठमाडौं, १५ आषाढ । नेपाल धितोपत्र बोर्ड र आर्थिक विकास तथा सहयोग(ओईसीडी)को संयुक्त आयोजनामा नेपालमा वित्तीय साक्षरतासम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।
आयोजक संस्था नेपाल धितोपत्र बोर्डले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । आषाढ १७ र १८ गते हुने यस कार्यक्रमले नेपाल लगायत यस क्षेत्रका मुलुकहरुलाई वित्तीय साक्षरतासम्बन्धी रणनीति तयार गर्न सघाउ पुग्ने आयोजक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताउनुभयो ।
एशिया प्रशान्त क्षेत्रमा वित्तीय उपभोक्ताको संरक्षण र शिक्षा विषयक यस अन्तर्राष्ट्रिय सम्मेलन र गोलमेच बैठकको उद्घाटन मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाबाट हुने तयारी गरिएको छ । सम्मेलनमा उद्घाटन अमेरिका, दक्षिण अफ्रिका, अष्टेलिया, काजाकिस्तान, सिंगापुर, थाइल्याण्ड, भूटान, चीन र भारत लगायत देशहरुका साथै यससँग सम्बन्धित आर्थिक विकास तथा सहयोग संस्था(आईसीडी, सेक्युरिटीज एक्सचेञ्ज बोर्ड अफ इण्डिया, अष्टेलियन सेक्युुरिटिज एण्ड इन्भेष्टमेण्ट कमिशन, सिंगापुरको सेन्टर फर फाइनान्सियल लिटरेसी लगायतका संस्थाहरुसहित विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय संस्थाहरु र पूर्व एशियाली तथा सार्क राष्ट्रका वित्तीय क्षेत्रका नियमनकारी निकायहरुका प्रतिनिधि गरी ४० जना वित्तीय क्षेत्र तथा वित्तीय साक्षरताको अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहनेछ ।नेपाल सरकार–अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल स्टक एक्सचेञ्ज लि।, अन्य धितोपत्र बजार सहभागी, बैंकर्स एसोशियसन, लगानीकर्ताका संघहरु लगायतका संस्थाहरुका प्रतिनिधी तथा विश्व विद्यालयका प्राध्यापकहरु गरी कुल १ सय २५ जनाको सहभागिता रहने छ ।

यस अन्तर्राष्ट्रिय सम्मेलनलाई वित्तीय साक्षरता सम्बन्धमा विभिन्न सत्रहरु संचालन हुने गरी बृहत सम्मेलन र वित्तीय साक्षरता सम्बन्धमा विशेष छलफलसहितको गोलमेच बैठक दुई भागमा विभाजन गरिएको छ ।
सम्मेलनको प्रथम दिन र दोस्रो आधा दिन नेपाल लगायत अन्य बिभिन्न अन्तर्राष्ट्रिय जगत्का विज्ञहरुले वित्तीय साक्षरता, समावेशिता, वित्तीय ग्राहक सुरक्षा, वृद्ध जनसंख्याको वित्तीय समावेशिता, बाल्यकालदेखि वित्तीय जोखिम कम गर्ने, ग्रामीण तथा शहरी जनसंख्याका वित्तीय आवश्यकता बुझ्ने, वित्तीय साक्षरतामा सुधार एवम् साना तथा मझौला उद्योगमा पहुँच वृद्धि गर्ने सम्बन्धमा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् ।
गोलमेच बैठकमा केन्द्रीय बैंक, नेपाल धितोपत्र बोर्ड, वीमा समिति सहित वित्तीय अधिकारीको रुपमा कार्यरत सरकारी निकायहरु तथा वित्तीय साक्षरताका लागि कार्यरत वित्तीय सुपरीवेक्षक संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहने छ । वित्तीय साक्षरता, वित्तीय समावेशीता, वित्तीय ग्राहक सुरक्षा तथा जनसाख्यिक परिवर्तन जस्ता विषयबस्तुहरु गोलमेच बैठकका छलफलका विषय वस्तुहरु रहेका छन् । यस बैठकले वित्तीय साक्षरता र वित्तीय शिक्षा सम्बन्धी नीति निर्माणको साथै वित्तीय शिक्षा लिने दिने अभ्यासलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा धितोपत्र बोर्डले गरेको छ ।
पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेलले यो सम्मेलन र गोलमेच बैठकले नेपालसहित यस क्षेत्रका देशहरुमा वित्तीय साक्षरता सम्बन्धमा देखिएका चुनौती र अवसरहरु बारेमा छलफल गरी समाधान पहिल्याउन अवसर मिल्ने, हालसालै सम्पन्न गरिएको नेपाल लगानी सम्मेलन २०१९ पश्चात् उक्त कार्यक्रम आयोजना हुन लागेकोले यसबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको वित्तिय क्षेत्रको विद्यमान अवस्था थप उजागर हुने, वित्तीय साक्षरता तथा लगानीकर्ताको हित सरंक्षण विषयमा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण सन्देश जाने, विभिन्न विकसित तथा अन्य विकासशील राष्ट्रहरुले वित्तीय साक्षरताको क्षेत्रमा गरिरहेका कामकारवाही, प्रविधि, अभ्यास, समस्या तथा चुनौतीहरु आदान प्रदान हुने,विश्वका विभिन्न मुलुकका नियमन निकाय तथा अन्य निकायसँग सम्बन्ध विस्तार हुने र यसबाट भविष्यमा नियमन, वित्तीय साक्षरतालगायतका क्षेत्रहरुमा आपसी सहयोग आदान प्रदान गर्न सहज हुनको साथै नेपालको वित्तीय साक्षरता रणनीति बनाउन तथा सोको कार्यान्वयन गर्नमा समेत सहयोग पुग्ने दावी गर्नुभयो ।
कार्यक्रममा बोर्डका अर्का कार्यकारी निर्देशक निरज गिरीले यस अन्तर्राष्ट्रिय सम्मेलनले बोर्डसहित नेपालको अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने क्षमता प्रदर्शन हुनुको साथै वित्तीय साक्षरता तथा लगानीकर्ताको संरक्षणका विविध आयामहरुलाई मूल प्रवाहीकरण गर्न महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।
नेपाल धितोपत्र बोर्ड धितोपत्र नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आयस्कोको एशोसियट सदस्य रहेको छ भने अन्तर्राष्ट्रिय संस्था ओइसीडीको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशनको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपालको तर्फबाट पूर्ण सदस्यता प्राप्त गर्ने बोर्ड पहिलो संस्था हो । ओईसीडी विश्वमा मानव जीवनको समृिद्धका लागि असल तथा प्रभावकारी नीति बनाउन मद्दत गर्ने अन्तराष्टिय संस्था हो यसको मुख्य उद्देश्य समृद्धि, समानता र अवसरहरुको निर्माणमा सहयोग पुरयाउनु हो । विश्व अर्थतन्त्रको सुनौलो भविष्य निर्माणका लागि यो संस्था विगत ६० बर्षदेखि क्रियाशील रहेको छ ।
आईएनएफई वित्तीय साक्षरताको महत्वलाई आत्मसात गर्दै यससम्बन्धी गतिविधि विस्तार गर्न २००८ मा स्थापित एक एक विशिष्ट संस्था हो । यसले साना तथा मझौला व्यवसाय, वित्तीय साक्षरता, युवा तथा महिला वर्ग, दीर्घकालीन बचत तथा लगानी लगायतका विविध क्षेत्रहरुमा वित्तीय साक्षरता अभिबृद्धिका लागि कार्यक्रमहरु संचालन गर्दे आइरहेको छ । विश्वभरी नै वित्तीय साक्षरताको स्तर अभिवृद्धि गर्ने उद्देश्यले स्थापित ओइसीडी।आईएनएफई मा हाल ६४ देशका ८६ संस्थाहरु पूर्ण सदस्यको रुपमा र ९५ देशका १ सय ७२ संस्थाहरु नियमित सदस्यको रुपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले बोर्डको रजत जयन्तीको अवसरमा नेपाल राष्ट्र् बैंक टक्सार महाशाखाबाट निष्कासन गरिएको रु १०० दरको सिक्काको पनि लोकार्पण गर्नुभएको थियो ।


















