Prakash Adhikari July 1, 2019

 

लण्डन(संयुक्त अधिराज्य),१५ आषाढ । आईसीसी एकदिवसीय विश्वकप अन्तर्गतको ३८ औं खेलमा आयोजक इंग्ल्याण्डले भारतलाई ३१ रनले पराजित गरेको छ।

बर्मिड.घम क्रिकेट मैदानमा पहिले ब्याटिंग गर्दै इंग्ल्याण्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ६ रन मात्रै बनाउन सक्यो र ३१ रनले पराजित हुन पुग्यो ।

विशाल लक्ष्य पछ्याउने क्रममा भारतीय ओपनर लोकेश राहुल ९ बल खेलेर खाता नखोली क्रिस वोक्सबाट तेश्रो ओभरमा आउट भएका थिए । राहुलको विकेट पछि अर्का ओपनर रोहित शर्मा र कप्तान बिराट कोहलीले दोश्रो विकेटको लागि १ सय ४६ रनको साझेदारी गरे।

प्रतियोगितामा लगातार पाँचौ अर्धशतक पुरा गरेका कोहलीले ७६ बलमा ७ चौका मद्दतले ६६ रन बनाए पछि लियाम प्लंकेटले क्याच आउट गराए।

कोहलीको विकेट पछि रोहित शर्माले शतक पूरा गरे । तर उनी पनि त्यसपछि मैदानमा टिक्न सकेनन् । प्रतियोगितामा तेश्रो शतक बनाएका शर्मालाई वोक्सले क्याच आउट गराए । शर्माले १ सय ९ बलमा १५ चौका मद्दतले १ सय २ रन बनाए। यस अघि रोहितले दक्षिण अफ्रीकासंग १ सय २२ र पाकिस्तानसंगको खेलमा १ सय ४० रन बनाएका थिए।

विश्वकपमा डेब्यु गरेका रिशभ पन्त पनि ३२ रन बनाएर ३७ औं ओभरमा प्लंकेटबाट क्याच आउट भए।

त्यसपछि हार्दिक पान्ड्या र महेन्द्र सिंह धोनीले इनिंग अघि बढाए। ४१ रनको साझेदारी गरेपछि हार्दिकलाई पनि प्लंकेटले क्याच आउट गराए ।

त्यसपछि धोनी र केदार जाधवले विकेट नगुमाई ब्याटिंग गरे पनि लक्ष्य पूरा गर्न भारत असमर्थ रह्यो ।पुरै ५० ओभर ब्याटिंग गरे पनि भारतले ५ विकेट गुमाएर ३ सय ६ रन मात्रै बनाउन सक्यो। धोनीले ३१ बलमा ४ चौका र १ छक्का मदतले ४२ रन बनाए भने जाधवले १२ रन बनाए।

भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका लियाम प्लंकेटले ३ ,क्रिस वोक्सले २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गर्ने क्रममा इंग्ल्याण्ड टिमले ५० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो।

इंग्ल्याण्डको लागि जोन्नी बेयरस्टोले शतकीय इनिंग खेलेका थिए। यस क्रममा उनले १ सय ९ बलमा १० चौका र ६ छक्का प्रहार गरे। ओपनर जेसन रोय संग उनले पहिलो विकेटको लागि १ सय ६० रनको साझेदारी गरेका थिए। रोयले ६६ रन बनाए।

जोए रुटले ४४ रन तथा बेन स्टोक्सले ७९ रन बनाए। स्टोक्सले ५४ बलमा ६ चौक र ३ छक्का तथा रुटले ५४ बलमा २ चौका प्रहार गरे।

भारतको बलिंगमा मोहम्मद शामीले एकदिवसीय करियरमै पहिलो पटक ५ विकेट लिए। जस्प्रित बुम्राह र कुलदिप यादबले १ । १ विकेट लिए।

World Cup

TEAM M W L PT NRR
AUS 8 7 1 14 1
INDIA 7 5 1 11 0.854
NZ 8 5 2 11 0.572
ENG 8 5 3 10 1
PAK 8 4 3 9 -0.792
BDESH 7 3 3 7 -0.133
SL 7 2 3 6 -1.186
SA 8 2 5 5 -0.08
WI 7 1 5 3 -0.32
AFG 8 0 8 0 -1.418

सेमिफाइनल यात्रा रोचक बन्दै

यो खेलको नतिजा आफ्नो पक्षमा ल्याएर आयोजक इंग्ल्याण्डले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। इंग्ल्याण्डको जितले पाकिस्तानलाई भने सेमीफाइनल पुग्न थोरै मुस्किल बढाएको छ। इंग्ल्याण्डको जितले श्रीलंकाको सेमीफाइनल सम्भावनाको अन्त्य भएको छ।

जितसंगै इंग्ल्याण्ड पाकिस्तानलाई उछिन्दै अंकतालिकाको चौथो स्थानमा उक्लेको छ। १ खेल खेल्न बाँकी रहंदा इंग्ल्याण्डको ८ खेलमा ५ जित र ३ हार सहित १० अंक पुगेको छ। पाकिस्तानको पनि १ खेल खेल्न बाँकी रहंदा ९ अंक रहेको छ।

पाकिस्तानको अन्तिम खेल बंगलादेशसंग जुलाई ५ मा रहेको छ भने इंग्ल्याण्डले जुलाई ३ मा न्युजिल्याण्डसंग खेल्नेछ।

सेमीफाइनल पुग्न पाकिस्तानले बंगलादेशलाई पराजित गर्नुपर्नेछ भने इंग्ल्याण्डको हारको तथा बंगलादेशले खेल्ने भारतसंगको खेल पनि निर्णायक हुनेछ ।

इंग्ल्याण्डले भने अन्तिम खेलमा न्युजिल्याण्डलाई पराजित गरेमा सेमीफाइनलमा स्थान पक्का गर्नेछ।

बंगलादेशको पनि सेमीफाइनल सम्भावना जीवितै रहेको छ। बंगलादेशले पाकिस्तान र भारतलाई पराजित गर्ने हो र त्यसको साथै न्युजिल्याण्डले इंग्ल्याण्डलाई पराजित गर्ने हो भने सेमीफाइनलमा स्थान बनाउनेछ। न्युजिल्याण्ड र भारत सेमीफाइनल पुग्न एउटा जितको खोजिमा हुनेछन्।

भारत भने ७ खेलमा ५ जित र १ हार सहित ११ अंक बटुल्दै अंकतालिकाको दोश्रो स्थानमा यथावत रहेको छ। अब भारतले बंगलादेशसंग जुलाई २ मा तथा श्रीलंकासंग जुलाई ६ मा खेल्नेछ।

विश्वकप क्रिकेट प्रतियोगितामा अन्तिम पटक इंग्ल्याण्डले भारतलाई १९९२ मा पराजित गरेको थियो। त्यसपछि १९९९, २००३ मा भारत विजयी हुँदा २०११ मा खेल बराबरीमा टुंगिएको थियो।

Share Now

Leave a comment.