Prakash Adhikari July 1, 2019

काठमाडौं,१६ आषाढ । मलेसियामा भोलिदेखि(जुलाई २ देखि) सुरु हुने एसीसी अन्डर १९ इस्टर्न रिजन एकदिवसीय प्रतियोगिता खेल्ने नेपाली टोली कप्तान रोहित पौडेलको नेतृत्वमा आइतबार दिउसो मलेसिया प्रस्थान गरेको छ।प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको नेपाली युवा टिम दिउसो २ बजे मलेसिया प्रस्थान गरेको हो।

सन् २०१७ मा मलेसियामा आयोजित एसीसी यु-१९ इस्टर्नको उपाधि नेपालले फाइनलमा हंगकंगलाई पराजित गर्दै जितेको थियो।

प्रतियोगितामा कुल ७ टीमको सहभागिता रहनेछ । प्रतियोगिता अन्तर्गत नेपाल रहेको समुह ‘ए’ मा सिंगापुर र चीन रहेका छन्।यस अघि नेपालको समुहमा रहेका म्यानमारले अन्तिम समयमा नाम फिर्ता लियो । समुह ‘बि’ मा आयोजक मलेसिया, भुटान, हंगकंग र थाईल्याण्ड रहेका छन्।

मलेसिया प्रस्थान गर्नु अघि नेपाली टिमका प्रशिक्षक बिनोद दासले प्रतियोगिता जितेमा यु १९ एसिया कप छनौट हुने हुँदा विजेताको रुपमा नेपाली टिम फर्किने विश्वास व्यक्त गरेका छन्।

यो प्रतियोगिताको विजेता टीम यसै बर्ष अगस्ट र सेप्टेम्बरमा श्रीलंकामा आयोजना हुने एसीसी अन्डर १९ एसिया कप खेल्न छनौट हुनेछ। एसियाको पश्चिम क्षेत्रबाट युएई र कुवेत एसिया कप खेल्न छनौट भइसकेका छन्। यु १९ एशिया कपमा एसियाली टेस्ट राष्ट्रका यु १९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट भैसकेका छन्।

नेपालले प्रतियोगिताको पहिलो खेल जुलाई ३ तारिकमा चीनसंग खेल्ने छ। यस अघिको तालिकामा नेपालको पहिलो खेल म्यानमारसंग जुलाई २ मा रहेको थियो। म्यानमारले हात झिकेपछि नेपालको पहिलो भेट चीनसंग हुने भएको हो ।

नेपालले दोश्रो खेल सिंगापुरसंग जुलाई ५ तारिकमा खेल्नेछ। सेमीफाइनल खेल जुलाई ८ तथा फाइनल जुलाई ९ तारिकमा संचालन हुनेछ। नेपालको दुवै खेल किनरारा ओभल मैदानमा नेपाली समय ७ ः४५ बजे बिहान सुरु हुनेछ।

समुह चरणमा एक टिमले अर्को टिमसंग १/१ खेल खेलेपछि समुहको उत्कृस्ट २ टिमले सेमीफाइनलमा स्थान बनाउनेछ।

रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली टीममा रित गौतम, पवन सर्राफ, विशाल विक्रम केसी, भीम सार्की, कुशल मल्ल, रशिद खान, सागर ढकाल, हरिबहादुर चौहान, प्रतिष जिसी, कमलसिंह ऐरी, खडक बोहरा, तिलक भण्डारी र लोकेश बम छन् । त्यस्तै टोलीको प्रशिक्षकमा विनोद दास छन् भने व्यवस्थापकमा राजु खड्का र फिजियोमा विक्रम न्यौपाने छन्

मलेसिया प्रस्थान गर्नु अघि नेपाली टिम पशुपतिनाथको दर्शन गर्न पुगेको थियो ।

Share Now

Leave a comment.