काठमाडौं,१७ असार । नेपाल धितोपत्र बोर्डको आयोजनामा मंगलबारदेखि काठमाडौंमा वित्तीय साक्षरता सम्बन्धी २ दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्नुभएको थियो ।
आर्थिक विकास र सहयोग संस्था(ओईसीडी) को अन्तर्राष्टिय वित्तीय शिक्षा सञ्जालको सहकार्यमा आयोजना गरिएको सो सम्मेलनलाई संबोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बढ्दो सूचना प्रविधिको प्रयोग र वित्तीय संस्थाहरुले विकास गरेका नयाँ नयाँ उत्पादनका कारण यसबाट आम उपभोक्तालाई लाभान्वित गर्न संसारभर वित्तीय शिक्षाको आवश्यकता रहेको बताउनुभयो । उहाँले नेपालजस्तो अल्प विकसित मुलुकमा वित्तीय शिक्षाको झन ठूलो आवश्यकता महसूस गरिएको समयमा आयोजना भएको यो सम्मेलनले वित्तीय शिक्षाका विविध पक्षमा आवश्यक नीति, रणनीति र कार्यक्रम तर्जुमा गर्न सबैलाई सघाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य दिंदै नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले वित्तीय साक्षरता जस्तो विषयमा एशिया र प्रशान्त क्षेत्रका देशहरुले सामना गरेका चुनौतिलाई केलाउदै तिनको समाधानका गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट बैंकका डेपुटी गभर्नन चिन्तामणि शिवाकोटीले वित्तीय साक्षरता अभिबृद्धिको लागि नेपालका नियमन निकायहरुले आआफ्नो क्षेत्रबाट कार्यक्रमहरु गरिरहेको बताउदै यो सम्मेलनले एकीकृत र समन्वयात्मक ढंगले यस्ता कार्यक्रम सञ्चालन गर्ने उपाय निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमको उद्घाटन शत्रमा ओईसीडीका वित्तीय र उद्यम मामिला निर्देशनालयका उपनिर्देशक एण्टोनियो गोमेजले भिडियो सन्देशमार्फत सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौडेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मेलनको पहिलो ेदिन नेपाल र समग्र क्षेत्रमा वित्तीय साक्षरता,समावशिता र वित्तीय उपभोक्ता संरक्षण, ज्येष्ठ नागरिकहरुलाई वित्तीय साक्षरता समावेशिता प्रवर्धनका लागि औजारको रुपमा प्रविधि, ज्येष्ठ नागरिकहरुको वित्तीय समावेशितामा सहयोग, बालपनदेखि नै वित्तीय जोखिमता कम गर्ने उपायका बारेमा प्रस्तुति र छलफल भएको थियो ।


















