क्पवालम्पुर(मलेशिया), २३ आषाढ । समूह चरणका दुवै खेल जित्दै सेमिफाइनलमा पुगेको नेपाली अण्डर १९ क्रिकेट टीमले मलेसियामा जारी एसीसी पूर्वी क्षेत्र प्रतियोगितामा आयोजक मलेशियालाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
नेपालले अब दोश्रो सेमीफाइनलको विजेतासंग उपाधिकालागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमी फाइनलका लागि सिंगापुर र हंगकंगले प्रतिस्पर्धा गरिरहेका छन् ।
डिफेन्डिङ च्याम्पियन नेपालले सन् २०१७ मा हंगकंगलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको थियो।
खेलमा टस जितेर नेपालले बलिंग गरेपछि मलेसियाले पहिले ब्याटिंग गर्दै दिएको ८८ रनको लक्ष्य नेपालले निर्धारित ५० ओभरको खेलमा १५ .५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ , भीम सार्कीले नटआउट ३३ ओपनर पवन सर्राफले १८ , रित गौतम ३ रन जोडे भने ,खडकबाहादुर बोहोरा खाता नखोली आउट भए।
बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे।
त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ओभरमा ८७ रन जोड्दै अलआउट हुन पुग्यो।
मलेसियाका लागि मुहम्मद आमिरले सर्वाधिक २४, हैकुल खैरले १२, वन अमिरुलले ११ तथा अहमद अकमलले १० रन योगदान दिए।
बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १।१ विकेट लिए।
अब नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ।
नेपालको लागि प्रतियोगितामा जित हात पार्नु महत्वपूर्ण रहेको छ। प्रतियोगिताको विजेता टिम श्रीलंकामा यसै वर्ष अगस्ट सेप्टेम्बरमा आयोजना हुने एसीसी अन्डर १९ एसिया कप खेल्न छनौट हुनेछ। श्रीलंकामा हुने एसिया कपको लागि पश्चिम क्षेत्रबाट कुवेत र युएई छनोट भईसकेका छन्। प्रतियोगितामा टेस्ट राष्ट्रका यु१९ टिमहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः छनौट हून्छन् ।


















