Prakash Adhikari July 17, 2019

काठमाडौ, १ साउन । बाढी प्रभावित रौतहटमा मङ्गलवार १० जना मृत अवस्थामा फेला परेको गृहमन्त्रालयले जनाएको छ।

त्यससँगै मृतकको सङ्ख्या झन्डै ८० पुगेको छ।

त्यहाँ नदीमा पानीको बहाव कम र वर्षा पनि कम भइरहेको भए पनि विभिन्न सडक सञ्जाल टुटेको अनि पानीको निकास नभएका कारण घरमा पसेको पानी जस्ताको तस्तै रहेको रौतहटका बाढीपीडितहरूले गुनासो गरेका छन्।

“खासगरि गर्भवती र सुत्केरी महिला तथा बालबालिकालाई धेरै अप्ठेरो परेको छ। राहत पाएका छैनौँ,” रौतहटकी एकजना बाढीपीडित महिलाले बताइन्।

कतिपय विस्थापितहरू विद्यालय तथा चौतारामा दयनीय अवस्थामा बसिरहेको बताइएको छ।

गृह मन्त्रालयका अनुसार रौतहटपछि सबैभन्दा बढी ललितपुरमा ६ र मकवानपुर र भोजपुरमा ५-५ जनाको मृत्यु भएको छ।

बेपत्ताको सङ्ख्या पनि बढ्यो

मङ्गलवार साँझसम्मको विवरण दिँदै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, “असार २६ गतेदेखिको अविरल वर्षाका कारण ३२ जिल्ला प्रभावित भएका छन्। पछिल्लो विवरण अनुसार ७९ जनाको दु:खद निधन भएको छ।”

उनका अनुसार ३४ जना अझै बेपत्ता छन्।

साथै, १७ हजारभन्दा धेरै विस्थापित भएका छन्।

मौसम पूर्वानुमान कस्तो

जल तथा मौसम विज्ञान विभागका अनुसार  देशको पश्चिमी भेगका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान विभागका मौसमविद सुवास रिमालले त्यस्तो वर्षा लगातार र ठूलो क्षेत्रमा भने नहुने देखिएको जानकारी दिए।

मनसुन न्यूनचापिय रेखा भारतको उत्तर प्रदेश, बिहार आसपास तर्फ सरेकाले मनसुनी गतिविधि नेपालमा घटेको बताइएको छ  ।

बीबीसीको सहयोगमा

Share Now

Leave a comment.