Prakash Adhikari July 22, 2019

काठमाडौं,६ साउन ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक पद्धतिमाथि निरन्तर प्रहार भएमा सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ।

बीपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सरकारले सो चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए कांग्रेसका लागि त्यो सह्य हुने छैन्।

Image may contain: 5 people, people sitting and indoor

संघीय संसदको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दलका नेता रहनुभएका सभापति देउवाले लोकतान्त्रिक मूल्य र मान्यतालाई कटौती गर्ने ढङ्गले विधेयक ल्याइएमा सदन अवरुद्ध मात्र होइन, सडक संघर्षमा उत्रन कांग्रेस पछि नहट्ने बताउनुभयो ।

उहाँले सरकारले ल्याएका अधिकांश विधेयकहरु नागरिकलाई सशक्त र सबल बनाउने नभईकन ७ दशकभन्दा लामो संघर्ष गरी संविधानमा प्रत्याभूति भैसकेको अधिकारहरुमा नियन्त्रण गर्न खोजेको आरोप पनि लगाउनु भयो । उहाँले मिडिया काउन्सिल, सूचना तथा प्रविधि विधेयक,दूरसञ्चार विधेयक, मानव अधिकार आयोगसम्बन्धी विधेयक नागरिक अधिकारमा अङ्कुश लगाउने ढङ्गबाट ल्याएको बताउदै भन्नुभयो, सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ। उहाँले दूरसञ्चार विधेयकको उल्लेख गर्दै भन्नुभयो,व्यक्ति विशेषको कुराकानीको टेलिफोन ‘ट्यापिङ’ गरेर विरोधीलाई सिध्याउने खेलमा सरकार लागेको छ ।

३७ औं बीपीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा कांग्रेस सभापति देउवाले वीपीको विचारको सान्दर्भिकताको बारेमा बोल्दै नेपाली कांग्रेसले प्रजातन्त्रिक समाजवादको परिकल्पना गरेको बताउदै कम्युनिष्टहरु कम्युनिष्ट समाजतर्फ लम्किन खोजेको आरोप लगाउनुभयो ।

Image may contain: 10 people, crowd

कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बीपीले जनतालाई केन्द्रबिन्दुमा राखेर राष्ट्रियता, लोकतन्त्र र समाजवादको वैचारिक आधार अघि सार्नुभएको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा लोकतान्त्रिक व्यवस्थाको पुनस्थापना र संस्थागत विकास वीपीको परिकल्पना र सपनामात्र हैन बलिदान,त्याग र योगदानको परिणामस्वरुप संभव भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक ढुण्डिराज शास्त्रीले बीपिले लिएको प्रजातान्त्रिक समाजवादको बाटो लोकतान्त्रिक सिद्धान्त र मानव कल्याणको उचित गन्तव्य थियो भन्ने विद्यमान राजनीतिक घटनाले पुष्टि गरेको धारणा व्यक्त गनुभभयो भने प्रतिष्ठानका अध्यक्ष खिलानाथ दाहालले वीपीका विचारलाई उहाँले स्थापना गरेको पार्टी नेपाली कांग्रेसका नेता र कार्यकर्ताले अझ उन्नत बनाउदै लैजानु पर्नेमा त्यसमा कमी देखिएको बताउनुभयो ।

कार्यक्रममा सभापति देउवाले प्रतिष्ठानका संस्थापक एवं पूर्व मन्त्री शास्त्रीलाई सम्मान गर्नुभएको थियो । उहाँले प्रतिष्ठानद्वारा प्रकाशित ‘शहीद’ नामक पुस्तकको पनि लोकार्पण गर्नुभयो ।

१९७१ साल भदौ २४ गते भारतको वनारसमा जन्मनुभएका वी.पी. कोइरालाको २०३९ साल साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी हुनुभएका कोइरालाको अग्रसरतामा नै नेपाली कांग्रेसको स्थापना भई नेपालमा जहानिया निरड.कुश राणा शासनविरुद्ध २००७ सालमा सशस्त्र क्रान्ति भएको थियो । सो क्रान्ति सफलभएपछि बनेको संयुक्त सरकारमा उहाँ गृहमन्त्री रहनुभएको थियो ।

२०१५ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमतले विजयी बनाउनुभएका वी.पी.को नेतृत्वमा बनेको सरकारलाई अधिनायकवादी राजा महेन्द्रले १८ बर्षमै अपदस्त गरी संसद समेत विघटन गरेपछि जेल पर्नुभएका वी.पी. कोइरालाले पुन निर्वासित जिवन विताउनु परको थियो । निर्वासनमा रहेकै बेला देशको राष्टियतामा खतरा उत्पन्न भएको महसुस गरी २०३४ सालमा पार्टीका वरिष्ठ नेता गणेशमान सिंह,कृष्णप्रसाद भट्टराईहरु सहित मेलमिलापको नीति लिएर स्वदेश फर्कनुभएका वीपीको सक्रियताकै कारण देशमा २०३६ सालमा बहुदलीय संसदीय व्यवस्थाको चयनको लागि राजाबाट जनमतसंग्रहको घोषणा गर्नुपरेको थियो ।

जनमत संग्रहमा बहुदलीय संसदीय व्यवस्थाको पक्षमा बहुमत नदेखिए पछि जनमतसंग्रहमा सहभागी सबै राजनीतिक दललाई समेटने गरी संविधानमा सुधार नभएपछि वी.पी. कोइरालाले निर्दलीय पञ्चायतलाई कमजोर बनाउन २०३८ सालको चुनाव नेपाली कांग्रेसले सक्रिय रुपमा बहिष्कार गरेको थियो ।

अन्तिम समयमा उपचारका लागि थाईलैण्ड लगिनुभएका उहाँलाई उपचार संभव नभएपछि स्वदेश ल्याइएको थियो । २०३९ साल साउन ६ गते उहाँको दुःखद निधन भएको थियो ।

नेपालको राजनीतिमा शिखर पुरुषको रुपमा रहनुभएका बीपी साहित्यमा उच्च कदका स्रष्टा मानिनुहुन्छ ।उहाँका सुम्निमा, मोदी आइन्, बाबु, आमा र छोरा, नरेन्द्र दाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा बेजोड नै मानिन्छन।

Share Now

Leave a comment.