Prakash Adhikari July 29, 2019

काठमाडौं,१२ साउन । भ्रष्टाचार नियन्त्रणको जिम्मा पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

पाठकले घुस लिएको देखिने भिडिओ सञ्चारमाध्यममा आएपछि उनले राजीनामा दिएका थिए।

त्यसपछि बल्ल उनीमाथि अख्तियारले अनुसन्धान सुरु गरेको थियो।

तत्कालीन आयुक्त राजनारायण पाठकले भक्तपुर, चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादसम्बन्धी उजुरी मिलाइदिने भनी उक्त कलेजका सञ्चालक भनिएका लम्बोदरकुमार न्यौपानेले दिएको ७८ लाख रुपैयाँ घुस लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्यदृश्य सामग्रीबाट समेत पुष्टि भएको देखिँदा अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

दुवैविरुद्ध मुद्दा

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बीबीसीसँग कुरा गर्दै भने, “दुवैजना विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम जरिवाना र कैद सजाय हुन मुद्दा दायर गरिएको छ।”

आयोगले दायर गरेको मुद्दामा पाठकलाई जरिवाना र कैद सजायका साथै उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा बहाल रहेकै अवस्थामा कसुर गरेको हुँदा थप सजायको समेत माग गरिएको छ।

सार्वजनिक पदधारण गरेका व्यक्तिले गरेका अनियमितता र भ्रष्टाचारको अनुसन्धान अभियोजन गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वआयुक्तले पदमा रहँदा घुस मागेको विषयमा पहिलो पटक अनुसन्धान गरेको हो।

अख्तियारमा छानबिनका क्रममा रहेको नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने नाममा पूर्वआयुक्त पाठकले घुस मागेको आरोप लागेको थियो।

पैसा दिएर पनि विवाद नमिलाइदिएपछि गोप्य रूपमा खिचिएको भिडिओ सार्वजनिक भएको थियो।

बीबीसीबाट

Share Now

Leave a comment.