सिंगापुर,१२ साउन । नेपालले यस बर्ष क्रिकेटका दुई महत्वपूर्ण खेलको नतिजा आफ्नो पक्षमा पार्न नसक्दा विश्वकप खेल्ने अवसरबाट बञ्चित हुनुपर्यो । केही समय पहिले विजयको लयमा रहेको यु १९ को एशिया छनोट खेलमा बर्षाको कारण डिएल मेथडबाट नतिजा निकाल्दा नेपालले अन्तिम खेलको परिणाम युएईलाई सुम्पन परेको पीडा सेलाउन नपाउदै राष्टिय टीम त्यस्तै पीडाबाट गुज्रनु परेको छ ।
टी २० विश्वकप एशिया छनोटका क्रममा नेपालको कतारसंगको अनपेक्षित पराजय र विगत खेलहरुमा आफूले सहजै पराजित गरेको सिंगापुरलाई रोक्न नसक्दा सन २०२० को टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा पुग्नबाट समेत नेपाल वञ्चित हुन पुगेको छ । विश्व वरीयतामा एघारौँ स्थानमा रहेको नेपालले १६ राष्ट्र खेल्ने सन् २०२० मा अस्ट्रेलियामा हुने टी २० विश्वकप खेल्ने मौका गुमाएको छ।
सिङ्गापुरमा भएको आइसीसी विश्वकप टी २० एसिया छनोट अन्तर्गत आइतवारको अन्तिम खेलमा आयोजकले नेपाललाई ८२ रनले पराजित गरेपछि नेपालको सपना तुहिएको हो।
टस जितेर सिङ्गापुरले पहिलो ब्याटिङ गर्दै छ विकेटको क्षतिमा १९१ रनको चुनौतीपुर्ण स्कोर बनायो। नेपालले १५ ओभरमा १०९ रन मात्रै बनाउन सक्यो।
जितसँगै सिङ्गापुर दुई महिनापछि संयुक्त अरब इमिरेट्स यूएईमा आयोजना हुने टी २० विश्वकपको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।
नेपालका कप्तान पारस खड्काले जितको श्रेय सिङ्गापुरको उत्कृष्ट खेललाई दिए।
खड्काले भने, सिङ्गापुरले राम्रो खेल्यो। मैदान ब्याटिङको लागि राम्रो थियो र हामीले जित्न सक्थ्यौँ तर हामीले राम्रो ब्याटिङ गर्न सकेनौँ।
नेपालको कमजोर प्रदर्शन
नेपालले आक्रामक शुरूवात गरेपनि ब्याटिङ स्तरीय हुन नसक्दा पराजय भोगेको हो।
कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो दुई ओभरमा २४ रन जोडेका थिए।
तर ठूलो रनको दबावले नेपाली ब्याट्सम्यानहरूलाई टिक्न दिएन।

मल्लले ३९ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले २३, खड्काले १२ र सोमपाल कामीले ११ बनाए।
अन्य नेपाली ब्याट्सम्यानहरूले दोहोरो अङ्क रन बनाउन सकेनन्।
सिङ्गापुरका लागि सेलाडोर विजयकुमारले चार र विनोथ बसकरणले दुई विकेट लिए।
ठूलो चुनौती
सिङ्गापुरको इन्डियन क्रिकेट एसोसियसनको मैदानमा टिम डेभिड र रोहन रङ्गराजनले राम्रो ब्याटिङ गरेपछि ‘अघोषित फाइनल’ खेल प्रतियोगिताकै धेरै रन बनाइएको खेल बनेको थियो।
टी २० अन्तर्राष्ट्रियमा नेपालविरुद्ध कुनै पनि राष्ट्ले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो।
गतवर्ष नेदरल्याण्डले नेपालविरुद्ध १७४ रन बनाएको थियो।
डेभिडले सिङ्गापुरको लागि सर्वाधिक ७७ रन जोडे। ४३ बल खेलेका उनले आठ चौका र तीन छक्का प्रहार गरे।
दोस्रो विकेटका लागि उनले रोहन रङ्गराजनसँग ८९ रनको साझेदारी गरेका थिए।
विश्वकप छनौट एशिया प्रतियोगितामा कमजोर कतारसँग नेपाल स्तब्ध
ओपनर रङ्गराजनले ४९ रन जोड्नु सिङ्गापुरको लागि महत्तपूर्ण बन्यो।
मनप्रित सिंहले २७ बलमा ४२ रन बनाउदा सिङ्गापुरको स्कोर दुई सय नजिकै पुग्न सक्यो।
नेपालका लागि अविनाश बोहोराले चार तथा करण केसीले दुई विकेट लिए।
अनुभवी खेलाडी वसन्त रेग्मीले चार ओभरमा ५४ रन दिए जुन नेपालको तर्फबाट हालसम्मकै सबैभन्दा खराव बलिङ हो।
सन्दीप लामिछानेले तीन ओभरमा ३४ रन दिए। यी दुवै स्पीनर विकेटविहिन भए।
टी-२० विश्वकप एशिया छनौट क्रिकेट
अन्तिम अङ्कतालिका
| राष्ट्र | खेल | जित | हार | बराबर | अङ्क |
|---|---|---|---|---|---|
| सिङ्गापुर | ४ | ३ | ० | १ | ७ |
| कतार | ४ | २ | २ | ० | ४ |
| नेपाल | ४ | २ | २ | ० | ४ |
| कुवेत | ४ | १ | २ | १ | ३ |
| मलेशिया | ४ | १ | ३ | ० | २ |
ग्लोबल क्वालिफायरमा को को
यूएईमा हुने ग्लोबल क्वालिफायरमा १२ राष्ट्र छनौट भइसकेका छन्।
टी २० अन्तर्राष्ट्रिय विश्व वरीयतामा ११ देखि १६ स्थानमा रहेका स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड छन्। यद्यपी निलम्बनमा परेका कारण जिम्बाबेले प्रतियोगिता खेल्न नपाउन सक्छ।
आयोजकका रुपमा यूएई स्वतः छनौटमा परेको छ।
त्यसबाहेक पूर्वी एसिया प्यासाफिकबाट पपुवा न्युगिनी, अफ्रिकाबाट दुई टोली केन्या र नामिविया तथा युरोपबाट जर्सी छनोट भइसकेको छ।
अब अमेरिकाबाट दुई राष्ट्को छनौट हुन बाँकी छ(बीबीसीको सहयोगमा)


















