Prakash Adhikari July 30, 2019

 

रावलपिण्डी(पाकिस्तान),१४ साउन(बीबीसी) । पाकिस्तानी सेनाको एउटा सानो विमान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

ज्यान गुमाउनेहरूमा हुनेमा चालकदलका पाँच सदस्य र १२ सर्वसाधारण मानिस रहेको बताइएको छ। अरू १२ जना घाइते भएका छन्।

सो विमान तालिमका लागि उडाइएको थियो। दुर्घटनामा परेपछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको थियो।

राजधानी इस्लामाबादनजिकै रहेको रावलपिन्डीमा पाकिस्तानी सेनाको मुख्यालय छ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन।

शोकाकुल र स्तब्ध स्थानीय मानिसहरू दुर्घटना भएको क्षेत्रमा भेला भएको समाचारसंस्था एएफपीले जनाएको छ।

पाकिस्तान विमान दुर्घटना: सेनाको विमान घरहरूमा ठोक्किँदा १५ को मृत्यु
“ठूलो विस्फोटनको आवाजसँग म बिउँझिएँ,” मोहम्मद सादिकले भने।

“मानिसहरू चिच्याइरहेका थिए। हामीले उनीहरूलाई सघाउन खोज्यौँ तर आगोको ज्वाला माथिसम्म उठेको थियो र आगो भीषण थियो,” उनले भने।

अर्का स्थानीय व्यक्तिका अनुसार घरहरूमा ठोकिनुअघि नै विमानमा आगो लागेको देखिएको थियो।

रावलपिन्डी
त्यहाँबाट प्राप्त तस्बिरमा धुँवाले कालो भएका भवनहरूको भग्नावशेष देखिन्छ।

एएफपीका एक संवाददाताका अनुसार त्यहाँबाट पछिसम्म धुँवा उडिरहेको थियो र नजिकै रहेको घरको छतमा विमानको अवशेष देखिन्थ्यो।

सन् २०१० मा एउटा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १५२ जनाको मृत्यु भएको थियो। त्यो नै पाकिस्तानमा भएको सबैभन्दा डरलाग्दो विमान दुर्घटना थियो।

Share Now

Leave a comment.