ब्राम्पटन(क्यानडा),२३ साउन । ग्लोबल टी २० क्यानडामा मौका पाएका नेपाली खेलाडीहरु सन्दीप लामिछाने र सोमपाल कामी दुवैका टीम सो प्रतियोगिताको प्ले अफमा पुगेका छन् ।
हिजो सम्पन्न दोस्रो चरणको खेल सकिदा सन्दीपको टोरन्टो नेशनल मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै प्ले अफ चरण प्रवेश गरेको हो भने बर्षाको कारणले मंगलबार रातीको खेल रद्द भएर अंक बाँडेको सोमपालको विन्नीपेग ह्वाक्स समान अंक पाएको मोटेरियल टाइगर्सलाई रन रेटमा पछि पार्दै प्ले अफमा स्थान बनाएको हो ।
Global T20 Canada
| TEAM | M | W | L | PT | NRR |
|---|---|---|---|---|---|
| BW | 6 | 4 | 1 | 9 | 1.951 |
| VK | 6 | 3 | 1 | 8 | 0.769 |
| TN | 6 | 3 | 3 | 6 | 0.271 |
| WH | 6 | 2 | 3 | 5 | -0.722 |
| MT | 6 | 2 | 3 | 5 | -1.667 |
| ER | 6 | 1 | 4 | 3 | -0.548 |
दोश्रो चरणको खेल सकिंदा अंकतालिकामा टोरोन्टो ६ खेलमा ३ जित र ३ हार सहित ६ अंक सहित तेश्रो स्थानमा रह्यो भने सोमपाल कामिले प्रतिनिधित्व गरेको विन्नीपेग हक्स ६ खेलमा २ जित, ३ हार र एउटा रद्द भएको खेलमा अंक बाँडदै ५ अंकसहित चौथो स्थानमा रह्यो र प्लेअफ प्रवेश गर्यो।
मोन्टरियल टाइगर्स र एडमोन्टन रोयल्स भने पाँचौ र छैठौं हुँदै प्ले अफ चरण पुग्न असफल रहेका छन्।
शुक्रबार बिहान २ : १५ मा सुरु हुने इलिमिनेटरमा सन्दिपको टोरन्टो नेशनल र सोमपालको विन्निपेग ह्वाक्स एकापसमा इलिमिनेटरमा खेल्ने छन् । प्ले अफ अन्तरगत आज पहिलो क्वालीफायरमा ब्राम्पटन वुल्भ्सले भानकुभर नाइट्सको सामना गर्नेछ ।दुवै खेलका विजेताहरु फाइनलको यात्रा तय गर्नेछन् ।
तेस्रो खेलमा पनि सन्दीपको एक विकेट
बुधबार रातीको खेलमा सन्दीपले ३ ओभर स्पेल गरी २५ रन खर्च गरेर १ विकेट लिने सफलता पाएका छन् ।
बुधबारको खेलमा सन्दीपको पहिले ब्याटिड. गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार गरेको थियो।
१सय ९० रनको लक्ष्य पाएको मोन्टरियल टाइगर्सले २० ओभरको निर्धारित खेलमा १९.३ ओभरमा सबै विकेट गुमाउदै जम्मा १ सय ५४ रन जोड्न सक्यो ।
१३ औं ओभरमा १०४।२ को राम्रो अवस्थामा रहेको मोन्टरियलले बाँकी ५० रन जोड्दा ८ विकेट गुमाएको थियो । मोन्टेरियलको लागि म्याथु क्रसले सर्वाधिक ३९, दिनेश चण्डीमालले ३६ रन,कायल कोत्जर १८, निखिल दत्ता १२, तिसरा परेरा ९,डिलन हेलिगर ८, रविन्दु गुणशेखर ७,स्कट क्लिजेन ६, फवाद अहमद ५, जर्ज बेलीले २ रनको योगदान दिए।
मोन्टेरियललाई रोक्ने क्रममा टोरोन्टोका क्रिस ग्रिन र मिचेल म्याकलेनघनले ३ । ३ , जेरेमी गोर्डनले २ तथा सन्दीप लामिछाने र सलमान नजरले १ । १ विकेट लिए।
यस अगाडि ब्याटिड. गरेको सन्दीपको टोरन्टो नेशनलले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय ८९ रन बनाएको थियो ।
टोरन्टोको लागि ओपनर रोडरिगो थोमसले सर्वाधिक ७०, हेनरिच क्लासेनले अविजित ६४,मनप्रित गोनीले १७, चिराग सुरीले १६,मोइस हेनरिकले १४ रनको योगदान दिएका थिए ।
टोरन्टोलाई रोक्ने क्रममा मोन्टरियल बलर थिसारा परेराले २ तथा निखिल दत्ता, फवाद एहमद र डिल्लन हेलिगरले १ ।१ विकेट लिएका थिए ।




















