ह्युस्टन,टेक्सास(संयुक्त राज्य अमेरिका),२३ साउन(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ३१ जनाको ज्यान लिने सामूहिक गोलीकाण्ड भएपछि प्रताडित हुन पुगेको दुई नगरहरूको भ्रमण गर्ने क्रममा टेक्सास पुगेका छन्।
हिस्पानिक भनिने दक्षिण अमेरिकी मूलका मानिसहरूलाई निसाना बनाइएको घृणाजन्य अपराध कर्ममा संलग्न एक बन्दुकधारीले गोली चलाउँदा शनिवार २२ जनाको ज्यान गएको थियो।
ट्रम्प आफैँलाई पनि हिस्पानिक समुदायका मानिसविरुद्ध घृणा फैलाएको आरोप लागेको छ।
९ जनाको ज्यान लिने गोलीकाण्ड भएको ओहायो राज्यको डेटनको अस्पतालमा उपचाररत घाइतेहरूलाई भेटेपछि ट्रम्प टेक्सास पुगेका हुन्।
ट्रम्प आफैँ चिन्तित
वासिङ्टन छोड्नुअघि आफू “घृणा फैलाउने गोरा जातीको सर्वोच्चता चाहने वा अरू कुनै प्रकारको सर्वोच्चता चाहने समूहको विस्तार भइरहेको विषयमा” निकै चिन्तित भएको बताए।

तर एल पासोको प्रतिनिधित्व गर्ने विपक्षी डिमोक्र्याटिक पार्टीकी कंग्रेस सदस्य भेरोनिका एस्कोबारले ट्रम्पको “जातीवादी तथा घृणा, द्वेष फैलाउने शब्द तथा क्रियाकपालले आफू, आफ्नो समुदाय र आफ्नो देशलाई पीडा पुगेको” भन्दै ट्रम्पलाई भेट्न अस्वीकार गरिन्।
एल पासोमा भएको गोलीकाण्डलाई सम्भाव्य घृणा अपराधको रूपमा हेरिएको छ। शहरको ठूलो हिस्सामा हिस्पानिक समुदायको बसोबास छ। गोलीकाण्डका संदिग्ध व्यक्तिले “यो आक्रमण टेक्ससमा हिस्पानिक अतिक्रमणको प्रतिक्रिया हो” भन्ने शब्दहरू अनलाइनमा राखेको ठानिएको छ।
ती शब्दमध्ये केही अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार उल्लेख गरिरहने अतिक्रमण जस्ता शब्दसँग मिल्न गएका छन्। ट्रम्पले अमेरिका-मेक्सिको सीमाको प्रसङ्ग उल्लेख गर्दा अतिक्रमण भन्ने शब्द प्रयोग गरिरहन्थे।

प्रहरीले डेटनमा भएको आक्रमणको उद्देश्यबारे अझै केही निष्कर्ष निकाल्न सकेको छैन। तर उसले गोली चलाउने व्यक्तिले “कुनै हिंसात्मक सिद्धान्तको अनुसरण गरिरहेको” प्रमाण फेला पारेको बताएको छ।
मानसिक रोगका कारण पछिल्ला गोलीकाण्ड भएको हो भन्ने ट्रम्पको भनाइसँग स्वास्थ्य सेवाकर्मीहरूले आलोचना गरेका छन्।
बुधवार मात्रै राष्ट्रपति ट्रम्पले आफूले “बिरामी मान्छेहरूको हातमा बन्दुक देख्न नसक्ने” अब “मानिसहरूको पृष्ठभूमिको जाँच गर्नु पर्ने” बताएका थिए।
एल पासो यात्रा
श्रीमती मेलानिया सँगै एल पासो आएका ट्रम्पले नगरका अधिकारीहरूका अतिरिक्त अस्पतालमा उपचाररत घाइतेहरूलाई भेट्ने कार्यक्रम छ।
एल पासोकी कंग्रेस सदस्य एस्कोबार र डिमोक्र्याटिक राष्ट्रपतीय पदका आकांक्षी बेटो ओ रोर्क एल सासो बलियो छ भन्ने सन्देश दिन आयोजित र्यालीमा सहभागी भएका छन्। त्यहाँ रोर्कले राष्ट्रपति ट्रम्पले आप्रवासीहरूको “धज्जी उडाएको” भन्दै उनको आलोचना गरे।
बीबीसी संवाददाता एन्थोनी जर्कर भन्छन् ट्रम्पले यस्ता घटना छिट्टै बिर्सने गरेको देखिएपनि पीडितहरूलाई सहानुभूति दिन उनले अझै धेरै काम गर्न बाँकी नै छ। उनले साँचो अर्थमा मानिसको सहानुभूति बटुल्ने आफ्नो सिप अझै तिखार्न बाँकी छ।


















