ललितपुर,२३ साउन । आफ्ना संस्थापक नेता सुवर्ण समशेरको २ सय ९९ रोपनी राजा महेन्द्रले कब्जा गरेकोे जग्गालाई सरकारले अधिग्रहण गरेको भन्ने अर्थ लगाउदै नेपाली कांग्रेसका संस्थापक नेतादेखि बर्तमान नेताहरुलाई बदनाम गर्न संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनधिकृत अधिकार प्रयोग गर्न उक्साईरहेको नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई नेपाली कांग्रेसले हिम्मत भए जापान सरकारले बनाएर दिएको नयाँ बसपार्कलाई बेचेर खाने कम्युनिष्ट नेता तथा कार्यकर्तालाई कारबाही गर्न चुनौति दिएको छ ।
नेपाली कांग्रेसले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा वाचन गनुभएको विज्ञप्तिको दोस्रो बूँदामा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभएको छ,गोंगवु बसपार्कको प्रकरणप्रति हाम्रो ध्यान गम्भीर ढंगले आकर्षित भएको छ । जापान सरकारको सहयोगमा निर्मित बसपार्क शुरुवाती समयमा खुला, आकर्षक र व्यवस्थित थियो । अहिले त्यसभन्दा विपरीत बन्न पुगेको छ । जाइकासँगको सहमति भन्दा बाहिर गएर अनेक संरचना निर्माण गरिएको, १६० रोपनि जग्गा गलत नियतका साथ दुरुपयोग गरिएको र त्यसको कागजी वैधानिकताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालिन नेतृत्वले आयोगलाई अनाधिकृत ढंगले प्रयोग गराएको विषय गम्भीर छ । नेपाली कांग्रेस यस सम्बन्धी तथ्यहरुको गहिरो अनुसन्धान गरेर आवश्यक कार्वाही प्रकृया अघि बढाउन अख्तियारको वर्तमान नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।
नेपाली कांग्रेसलाई वदनाम गराउने ढंगले श्री ३ भीमसमशेरका नाती सुवर्ण समशेर राणाको स्वामित्वमा रहेको र उहाँले आफ्नी धर्मपत्नी श्वेतप्रभा र सुपुत्रहरु कञ्चनसमशेर, कनकसमशेर र रुक्मसमशेरलाई ५७ । ५७ रोपनीको दरले अंश वण्डा गरिदिएको जग्गा कब्जा गर्ने संसदीय प्रजातन्त्रको हत्यारा राजा महेन्द्रलाई आदर्श नायक स्थापित गर्न अग्रसर के पी ओली सरकार र अख्तियार नेतृत्वप्रति औला उठाउदै नेपाली कांग्रेसले सर्वहारा पार्टी र पार्टीका नेताहरुले सरकारी जग्गा कसरी पार्टी कार्यकर्ता र पार्टीलाई उपलब्ध गराएर उपभोग गर्दछन भन्ने दृष्टान्त नै पेश गरेको छ ।
कांग्रेसले दुई तिहाईको जनमत बटुलेको धाक लगाउने कम्युनिष्ट पार्टीको कार्यालय रहेको पासाड.ल्हामू पर्वतारोहण प्रतिष्ठानको भवन सरकारी जग्गामा बनेको सत्य कोट्याउदै भनेको छ,सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको छ । सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।
नेपाली कांग्रेसले ट्रेड यूनियनको अधिकार कटौती गर्न खोजेको विषयलाई पनि गम्भीर ढंगले उठाएको छ । उसले भनेको छ, संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलका क्रममा रहेको ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयकको दफा २ को उपदफा ६ ले आधिकारिक ट्रेड यूनियन बाहेक अन्य कुनै पनि यूनियन वा निजामति कर्मचारीको समुहले आफ्ना हकहितका लागि माग समेत प्रस्तुत गर्न नपाउने व्यवस्था संविधानले प्रत्याभूत गरेको अधिकार विपरित छ ।
कांग्रेसले ट्रेड यूनियनलाई व्यवस्थित र व्यवहारिक बनाउने विषयमा छलफल गर्न सकिन्छ तर तिनलाई घुमाउरो ढंगले प्रतिवन्धित नै गर्ने नियतसंग सम्झौता गर्न सकिन्न भन्दै नेपाली कांग्रेस मुलुकमा लोकतन्त्र स्थापनाका लागि योगदान गरेका सबै संस्था जो मुलुकको समृद्धिका लागि महत्वपूर्ण सहयात्री छन् र हुन सक्छन्, तिनलाई निरुत्साहित र निषेध गर्ने कुनै पनि कदमका विरुद्धमा भएको बताएको छ ।
त्यस्तै नेपाली कांग्रेसले ३३ किलो सुन काण्ड,बाइडबडी काण्ड,लडाकू शिविरको भ्रष्टाचार काण्ड लगायत काण्डै काण्डमा डुबुल्की मारिरहेको सरकारको नेतृत्व गरेको नेकपालाई प्रमुख प्रतिपक्षी दललाई हेर्ने उसको नजरप्रति पनि दया प्रकट गरेको छ ।
नेकपाको प्रतिवेदनमा उल्लेखित टिप्पणीलाई नेपाली कांग्रेसले इमान्दार दृष्टि होइन बरु दृष्टिदोष भन्दै त्यसउपर केवल दया मात्र प्रकट गर्न सकिने बताएको छ ।
नेपाली कांग्रेसले आफ्नो पार्टी स्थापनाकाल देखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गरी आएको दावी गर्दैबल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित गर्दै र डो¥याउने प्रयत्न गरी आएको जिकिर गरेको छ ।
कांग्रेसले प्रतिस्पर्धी शक्तिहरुलाई पनि सदैव मित्रशक्तिका रुपमा सद्व्यवहार गर्दै आएको उल्लेख गर्दै सत्तारुढ दलबाट पनि त्यस्तै विचार र व्यवहारको अपेक्षा गरेको छ ।