काठमाडौं, २३ साउन। प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारको लागि सिंगापुर प्रस्थान गर्नुभएको एक हप्ता पुग्न लाग्यो ।तर उहाँको स्वास्थ्य अवस्थाका बारेमा राज्यले कुनै जानकारी पाएको छैन् ।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गर्ने र एक हप्तासम्म अस्पतालमै बस्ने जानकारी दिएर प्रस्थान गर्नुभएका प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण भयो कि भएन ? स्वास्थ्य अवस्था सुधारोत्मुख छ कि छैन् ? आदिका बारेमा उहाँका मन्त्रिपरिषद्का प्रवक्ता र उहाँको सल्लाहकार समूह कसैले पनि जानकारी दिन चाहेको छैन्।
प्रधानमन्त्री प्रस्थान गर्नुभएको भोलिपल्ट भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री लगायत भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले व्यहोर्ने बाँकी खर्च सबैको निजी हुने बताउनुभएको थियो । उहाँले प्रधानमन्त्रीको ‘उपचार खर्च प्रधानमन्त्री स्वयंमले आफ्नै व्यवस्थापनमा गर्नुहुने समेत बताउनुभएको थियो ।
तर केही सञ्चार माध्यमहरुले भने प्रधानमन्त्रीको उपचारको बन्दोबस्त गर्न सरकारबाट स्वीकृति पाउन बाँकी रहेको केही मेडिकल कलेजका संस्थापकहरु सिंगापुर पुगिसकेको उल्लेख गरेका छन् ।
सामान्यत सरकार प्रमुख वा राष्ट प्रमुखको विदेश यात्रामा संबन्धित मुलुकमा रहने राजदूत वा आवासीय राजदूत नभएका सो मुुलुक हेर्ने गैर आवासीय राजदूत पुग्ने चलन छ । प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा उहाँ शनिवार राति सिंगापुरको सिल्क एअर चढेकोसम्म खबर छ । उहाँ सिंगापुर पुगेको, अस्पतालमा स्वास्थ्य परीक्षण सुरु भएको, भर्ना भएको आदि कुनै जानकारी सार्वजनिक गरिएको छैन् ।
प्रधानमन्त्री सिंगापुर प्रस्थान गरेपछि उहाँको नाममा सामाजिक सञ्जालमा भारतकी पूर्व विदेश मन्त्री श्रीमति शुषमा स्वराजको निधनमा समवेदना सन्देश आउनुबाहेक अन्य कुनै मन्तब्य र वक्तब्य पनि आएका छैनन् । सामान्यत यस्ता औपचारिक सन्देशहरु सचिवालयले जारी गर्दछ ।
१२ बर्ष अगाडि दुवै मृगौला काम नलाग्ने भएपछि भारतमा मृगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओलीको राजधानीमा भएका स्वास्थ्य परीक्षणपछि उहाँलाई सिंगापुरमा थप परीक्षणको लागि रिफर गरिएको थाहा भएको छ । उहाँ सिंगापुर जानुपूर्व राजधानीमै उहाँको किड्नी फंसन टेष्ट गर्न अल्ट्र साउण्ड गाइडेड रेनल वायोस्पी गरिएको थियो ।
राजधानीको स्वास्थ्य परीक्षणमा उहाँको पिशाबमा प्रोटिनको मात्रा देखिएको थियो, मुटको धड्कन बढेको र रगतमा सुगरको मात्रा तलमाथि भैरहेको स्थिति थियो ।
सन २००७ मा भारतमा मृर्गौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री ओलीको भारतको नयाँ दिल्ली, थाईलैण्डको बैंकक र सिंगापुरमा अनुगमन परीक्षण हुँदै आएको छ ।
मृगौला फेरेको ७ बर्षपछि सन २०१४ मा उहाँको हात सुन्निनेसहितका संक्रामक समस्याहरु देखिएर स्वास्थ्यअबस्था नाजुक बन्दै गएपछि उहाँलाई स्वास्थ्योपचारको लागि सिंगापुरमै लगिएको थियो ।
प्रधानमन्त्री यसपटक सिंगापुर जानुपूर्व पनि उहाँको अनुहारमा अस्वभाविक रातोपना देखिनुको साथै केही समयदेखि सार्वजनिक कार्यक्रमको सहभागिता कम गर्दै जानुभएको थियो । नेपाल कम्युनिष्ट पार्टीका एक केन्द्रीय सदस्यका अनुसार पार्टी कार्यकर्ता र नेताहरुसंग पनि उहाँको भेटघाट सीमित गरिएको थियो ।
धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यसिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ सदस्यीय टोली लिएर स्वास्थोपचारको लागि सिंगापुर प्रस्थान गर्नुभएका प्रधानमन्त्री ओली भोलि फर्कने कार्यक्रम निर्धारित गरिएको थियो ।