ब्राम्पटन(क्यानडा), २७ साउन । नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विन्निपेग ह्वाक्सले ग्लोबल टि २० क्यानडाको दोश्रो संस्करणको उपाधि जितेको छ। विन्नीपेगले सुपर ओभरमा सो खेल जितेको हो ।
टस हारेर ब्याटिंग गरेको विन्नीपेगले निर्धारित २० ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो ।
दै १ सय ९३ रनको लक्ष्य पाएको भान्कुवर नाइट्सले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९२ रन बनाएपछि खेल सुपर ओभरमा पुग्यो।
सुपर ओभरमा पहिले ब्याटिंग गरेको भान्कुवरले दिएको १० रन को लक्ष्य हासिल गर्दै विन्नीपेगले पहिलो पटक उपाधि हात पारेको हो।
सुपर ओभरमा पहिले ब्याटिंग गर्ने क्रममा भान्कुवरको लागि आन्द्रे रसेल र रसी भान डर डुसेन ब्याटिंग गर्न कस्सिए भने विन्नीपेगको लागि कलिम सानाले बलिंग गरे।
सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरे। दोश्रो बलमा १ रन लिए। तेश्रो बलमा लेग बाइको रुपमा डुसेनले स्ट्राइक परिवर्तन गरे। चौथो बलमा रसेल डिप मिड विकेटमा क्याच आउट हुनपुगे। त्यसपछि ब्याटिंगमा कप्तान शोयब मलिक आए। पाँचौ बलमा मलिकले ब्याटमा लगाउन सकेनन्। कम्मरमाथिको उक्त बललाई अम्पायरले नो बल दिएनन् । अन्तिम बलमा डुसेन क्याच आउट हुन पुगे। २ विकेटको क्षतिमा भान्कुवरले ९ रन बनाएर सोमपालको विन्नीपेगलार्ई १० रनको लक्ष्य प्रस्तुत गर्यो।
१० रनको लक्ष्य पाएको विन्नीपेगको लागि क्रिस लिन र शैमन अनवर ब्याटिंगमा उत्रिए भने भान्कुवरको लागि आन्द्रे रसेलले बलिंग गरे।

ओभरको पहिलो बलमा क्रिस लिनले १ रन लिए। दोश्रो बलमा शैमन अनवरले १ रन लिए। तेश्रो बलमा बाई रनको रुपमा विन्नीपेगले ४ रन पायो । चौथो बलमा क्रिस लिनले थर्डम्यानतर्फ चौका प्रहार गरे र खेल जिताए।
नियमितमा रसेल चम्किदा खेल बराबरीमा
यस अघि १ सय ९३ रनको लक्ष्य पाएको भान्कुवरले आठौँ ओभरमा ५३ रन जोड्दा ४ विकेट गुमाईसकेको थियो। त्यसपछि ब्याटिड. सम्हालेका कप्तान शोयब मलिक र साद बिन जाफरले पाँचौ विकेटको लागि ८६ रनको साझेदारी गरे। मलिकले १७ औं ओभरमा रन आउट हुदासम्म ६४ रन जोड्न भ्याए।

अन्तिम ३ ओभर बाँकी रहदा भान्कुवरलाई जितका लागि ५३ रन आवश्यक थियो । ब्याटिड.मा उत्रिएका थिए आन्द्रे रसेल । आइपीएलमा पनि आफ्नो कलाले असंभव जस्तै लाग्ने खेललाई संभव बनाएर जित दिएका रसेले १८ औं ओभरमा २ छक्का तथा १९ औं ओभरमा २ चौका र २ छक्का प्रहार गर्दै टीमलाई सम्मानजनक स्थितिमा ल्याए । अन्तिम ओभरमा भान्कुवरलाई १७ रन चाहिएको थियो । ओभरको पहिलो बलमा शैयद विन जाफरले १ रन जोडे । रसेलले ओभरको दोश्रो र तेश्रो बलमा छक्का प्रहार गरे । त्यसपछिको २ बलमा कुनै रन जोड्न सकेनन। अन्तिम बलमा रसेलले २ रन मात्रै लिदा खेल बराबरीम पुग्यो।
भान्कुवर नाइट्सलाई रोक्ने क्रममा विन्नीपेगका रायड इम्रिट र पल भान मिकरेनले २ । २ विकेट लिए ।
विन्नीपेगको अन्तिम खेल
यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा विन्नीपेग ओपनर शैमन अनवरले सर्वाधिक ९०, क्रिस लिनले ३७ तथा जेपी डुमिनिले ३३ रन बनाएका थिए।
प्रतियोगितामा उत्कृस्ट लयमा रहेका युएई ब्याट्सम्यान अनवरले ४५ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। पहिलो विकेटको लागि उनले लिनसंग ६ ओभरमा ७३ रनको तथा तेश्रो विकेटको लागि डुमिनिसंग ८१ रनको साझेदारी गरे।
विन्नीपेगलाई रोक्ने क्रममा भान्कुवर नाइट्सका आन्द्रे रसेलले सर्वाधिक ४, अलि खान र रायड पठानले समान २ । २ विकेट लिए ।

नेपाली खेलाडी सोमपाल कामी आबद्ध विन्नीपेग ह्वाक्स ग्लोबल टी २० प्रतियोगितामा भाग्यमानी टीमको रुपमा चित्रित भएको छ । लिग चरणको पहिलो ५ खेलसम्म विन्नीपेग पाँचौ स्थानमा रहेको थियो, पुछारबाट दोस्रोमा। दोश्रो चरणको भानकुभर बिरुद्धको खेल बर्षाले रोकिदा १ अंक पाए पछि अंकतालिकामा चौथो स्थानमा रहँदै उसले प्लेअफमा प्रवेश पायो।
पहिलो इलिमीनेटर खेलमा सोमपाल कामी आबद्ध विन्नीपेगले नेपालका अर्का स्टार सन्दीप लामिछाने आबद्ध टोरोन्टो नेसनल्सलाई पराजित गर्यो। सूर्यास्तका कारण मैदानमा उज्यालो नपुगेपछि डीएल मेथडमा नतिजा निकाल्दा विन्नीपेग २ रनले विजयी भएको थियो। त्यसपछि दोश्रो क्वालीफायरमा विन्नीपेगले ब्राम्पटन वुल्भ्सलाई ७ विकेटले पराजित गर्यो।
नेपाली खेलाडी सोमपाल कामी भने भाग्यमानी टीम विन्नीपेग ह्वाक्सको भाग्यमानी खेलाडी सावित भएका छन् । सन २०२०मा हुने टी २० विश्वकपको एशिया छनौट खेलमा सहभागी हुँदा सुरुका खेल गुमाएका उनले लिग चरणको एक खेलमा सहभागी हुने मौका पाए । विकेट लिन चुकेका उनले डेब्यु खेलमा १ रनको खाता भने खोले । भाग्यले साथ दियो ग्लोबल टी २० को उपाधी जित्ने टीमका अभिन्न सदस्य बने सोमपाल ।




















