Prakash Adhikari August 11, 2019

 

ककनी(नुवाकोट),२६ साउन । नेपाल पर्वतारोहण संघको स्वामित्वमा रहेको ककनीस्थित अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यानमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

विश्व वातावरण दिवस तथा राष्ट्रिय वृक्षारोपण अभियान बर्ष २०७६को अवसरमा सो वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो ।

वृक्षारोपण कार्यक्रम नेपाल पर्वतारोहण संघको वातावरण संरक्षण समितिको आयोजना र लायन्स क्लब अफ काठमाडौं स्टारको सहआयोजनामा सम्पन्न भएको थियो ।

वृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जीवजन्तुका  लागि नभई नहुने अक्सिजन जस्तो प्राण वायुको स्रोत बनस्पति भएकोले वृक्षारोपण र संरक्षणको कार्यलाई  नेपाल पर्वतारोहण संघले उच्च प्राथमिकता दिंदै आएको बताउनुभयो ।

उहाँले नेपालको पर्वतीय वातावरणको संरक्षणका साथै हिमालको सरसफाईको उद्देश्य पनि रहेको संघले सगरमाथा क्षेत्रबाट यसैबर्ष ५ हजार किलोग्राम फोहर संकलन गरी तिनलाई बेस क्याम्प हुँदै राजधानी ल्याएर विसर्जन गर्नुको साथै सफाईको क्रममा सगरमाथा आरोहण मार्गमा भेटिएका आरोहीका ४ वटा  लासलाई पनि ल्याएको बताउनुभयो ।

उहाँले संघको अगुवाईमा अन्नपूर्ण क्षेत्रमा सन २००९ मा हराएका दुई जना कोरियाली आरोहीको  लाश हालै हिमालबाट आधार शिविर हुँदै पोखरा ल्याइएको बताउनुभयो ।

उहाँले विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको असर नेपालमा पनि देखिन थालेको र पहाडी क्षेत्रका मूल,खोला,नाला,पोखरी सुक्दै जान थालेकोले मूलकोे संरक्षणको लागि पनि सबैले नांगा डाँडाँमा वृक्षारोपण गरी हरियाली बढाउनु पर्ने बताउनुभयो । उहाँले राजधानी नजिकै रहेको ककनी जस्तो पर्यटकीय स्थानलाई अझ रमणीय बनाउन र यहाँ पर्यटकको प्रवाह बढाउन संघले ठूलो अन्तराष्ट्रिय सम्मेलन भवन बनाउन पनि प्रयास गरिरहेको बताउनुभयो ।

कार्यक्रममा लायन्स क्लव अफ काठमाडौं स्टारका अध्यक्ष कुमार लामाले  लायन्स क्लबको प्रस्तावलाई सहर्ष स्वीकार गरी वृक्षारोपण जस्तो पवित्र कार्यमा सहआयोजकको रुपमा सरिक हुने मौका दिनुभएकोमा संघको वातावरण संरक्षण समिति र कार्यसमितिका साथै वृक्षारोपण स्थल उपलब्ध गराएकोमा अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान विकास समितिलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा  संघको वातावरण  संरक्षण समितिका संयोजक सार्की तामाङ्ले ठूला र विकसित देशहरुले बन जंगलको विनास गरी तीब्र गतिमा गरेको विकासको असर हामी जस्ता गरिब देशमा समेत देखिन थालेकोले हामीले पनि बेलैमा आफ्नो क्षेत्रको वातावरण स्वच्छ राखी आफूलाई स्वस्थ राख्न सचेत हुनुपर्ने बताउनुभयो ।

वनको विनास,कार्वनडाईअक्साइड र मिथेन जस्ता हरित गृह ग्यासहरुको अध्यधिक उत्सर्जनका कारण बढ्दै गएको तापक्रमले नेपालमा पनि हिमतालहरुको आकार बढ्दै जान थालेको,हिमनदीहरुको लम्बाई छोटिएको र पहाडी भेगमा मूल सुक्नुका साथै  बर्षाको प्रवृत्तिमा असामान्य बन्ने जस्ता असर देखिएको उहाँले बताउनुभयो ।

उहाँले वन,जंगल र स्वच्छ वातावरणको प्रत्यक्ष लाभ स्थानीय बासिन्दाले पाउने भएकोले रोपिएका विरुवाहरुको संरक्षण गर्ने जिम्मेवारीबाट स्थानीयवासीहरु पन्छन नमिल्ने पनि बताउनुभयो ।

कार्यक्रममा संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान समितिका सदस्य रवि पौडेलले संघले राजधानीको नजिकै रहेको रमणीय पर्यटकीय स्थल ककनीमा पर्यटकीय गतिविधि बढाउने ढंगले सो स्मृति उद्यानको विकास गर्न लागेको बताउदै सो क्षेत्रको संरक्षणमा स्थानीय बासिन्दाले सहयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीयबासीको तर्फबाट बोल्दै ककनी होटल व्यवसायी संघका अध्यक्ष ललितकुमार लामाले नेपाल पर्वतारोहण संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति प्रतिष्ठानको जग्गालाई पर्यटकीय गतिविधि बढाउने ढंगले विकास गरेमा स्थानीयहरुको सधैभरी सहयोग रहिरहने बताउनुभयो । उहाँले रमणीय पर्यटकीय केन्द्र ककनीलाई आन्तरिक एवम् बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन संघको अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यानलाई सफलता मिलोस् भन्ने शुभकामना दिनुभयो ।

नेपाल पर्वतारोहण संघको केन्द्रीय कार्यसमिति,वातावरण संरक्षण समिति,अन्तराष्ट्रिय पर्वतारोही स्मृति उद्यान समिति, संघका कर्मचारी,लायन्स क्लब अफ काठमाडौं स्टारका पदाधिकारी तथा सदस्य स्थानीयको व्यापक सहभागिता रहेको वृक्षारोपण कार्यक्रममा  विभिन्न जातका झण्डै ४ सय विरुवाहरु  रोपिएको थियो ।

 

 

Share Now

Leave a comment.