Prakash Adhikari August 18, 2019

काठमाडौं,१ भाद्र(बीबीसी) । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावपछि आफूलाई प्रधानमन्त्रीमा रहि रहने मन नभएको बताएका छन्।

प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्।

अर्का अध्यक्ष प्रचण्डसँग उनले सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेकाले उनको पदावधिबारे चासो पाइन्छ।

तर उनले आफू पूरा अवधि प्रधानमन्त्री रहने दृढता व्यक्त गरे।

सत्ताभित्र तरङ्ग
पद जाने भयो भनेर प्रधानमन्त्री लगलग कामेको कुरा एकजनाले भनेको कुरा आफूले सुनेको बताउँदै उनले त्यो प्रसङ्ग उठाएका हुन्।

प्रचण्ड र ओली
नेकपाका दुई अध्यक्षबीच सरकारको नेतृत्व आलोपालो गर्ने लिखित सहमति रहेको प्रकाशमा आएको थियो

जननिर्वाचित सबैको पद कुनै न कुनै दिन जाने कुरा बताउँदै उनले भने, “आगामी दिनपछि मलाई पनि बस्न मन छैन। त्यसकारण निर्वाचनसम्म धैर्य गर्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु।”

प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि सरोकार देखाएको छ।

ओलीपछि प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले ओलीले प्रचण्डसँग गरेको लिखित सहमतितर्फ लक्षित धारणा राखेका हुन्।

उनले भने, “यसपल्टसम्म त यही सरकार हो भन्दा सत्तामा तरङ्ग गयो-गएन भन्ने मलाई थाहा छैन। शुभकामना छ, सत्ताभित्र कोही तरङ्गित नभएको होस्।”

पूरा अवधि प्रधानमन्त्री रहने प्रधानमन्त्रीको अडान उनलाई कमजोर आकलन गर्ने विपक्षीतर्फ लक्षित रहेको कतिपयको बुझाइ छ। तर सांसद रिजालले त्यो अर्का अध्यक्ष प्रचण्डतर्फ समेत लक्षित रहेको बुझाइ प्रस्तुत गरेको पाइयो।

त्यसलाई प्रधानमन्त्री ओलीको दल नेकपाभित्र जिम्मेदारी बाँडफाँटलाई लिएर देखिएको गतिरोध अन्त्यसँग जोडेर हेर्नेहरू पनि छन्।

मतभेद र खिचातानी सुल्झाउने क्रममा कतै प्रचण्डलाई विश्वासमा लिएर पो उनमा त्यो आत्मविश्वास जागेको हो कि भन्ने कोणबाट पनि त्यसलाई लिइएको छ।

‘चिहानको हड्डी फुक्दै’

उनले सम्बोधनका क्रममा राजसंस्था फर्काउन चाहने शक्तिलाई चेतावनी दिए।

राजसंस्था वा राजावादीबारे किटेर नबोले पनि उनले त्यस्ता शक्तितर्फ सङ्केत गर्दै उनले ती शक्तिहरू जिउँदै छँदा आफूहरूले ठेगान लगाएको बताए।

उनले भने, “चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना गरेर उफ्रिरहेको देखिन्छ। यो बेमौसमको बाजा नबजाए हुन्थ्यो।”

सरकारले त्यस्ता गतिविधिलाई नपत्याएर उदारता देखाएको प्रधानमन्त्रीको भनाइ थियो।


उनले आफूले आवश्यकता महसुस गरेको दिन कडाइका साथ प्रस्तुत हुने चेतावनी दिँदै भने, “पत्याएको दिन संविधान, व्यवस्था, प्रणाली, लोकतन्त्र र गणतन्त्रको रक्षाको लागी सरकार मैदानमा उत्रिन्छ। त्यसको रक्षा र कार्यान्वयन गर्छ।”

सरकारको अहिलेको ध्यान विकासमा रहेको उनको भनाइ छ। त्यससँगै उनले प्रणाली र लोकतन्त्रको रक्षाको निम्ति एकजुट भएर अघि बढ्न आवश्यक रहेको खाँचो पनि औंल्याए र उनले त्यसको निम्ति सबैको साथ र सहयोगको आह्वान पनि गरेका छन्।

Share Now

Leave a comment.