इस्लामाबाद(पाकिस्तान),१ भदौ(बीबीसी) । भारत प्रशासित कश्मीरले संविधानमा पाएको विशेष दर्जा अन्त्य गरिएपछि छिमेकी पाकिस्तानबाट भारतविरुद्ध कडा प्रतिक्रिया आउने क्रम जारी छ।
पाकिस्तानले शनिवार एक पटक फेरि भनेको छ, कश्मीरको निम्ति ऊ अन्तिम गोली र अन्तिम सैनिक रहँदासम्म लड्ने छ।
विदेश मन्त्री शाह महमुद कुरैशीले भने, “पाकिस्तानको व्यावसायिक सेना भारतसँग टक्कर लिन तयार छ। हाम्रा सबै संस्था भारतविरुद्ध लड्न पूर्ण रूपमा तयार अवस्थामा छन्।”
जबाफ
कुरैशीले पाकिस्तानमा कश्मीरबारेको विशेष समितिको बैठकपछि उक्त धारणा व्यक्त गरेका हुन्।
पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पनि भनेका छन्, कश्मीरकोनिम्ति पाकिस्तान अन्तिम सेना र अन्तिम गोली रहँदासम्म लड्ने छ।
उनले भने, “भारतले स्वतन्त्र कश्मीरबारे बिर्सियोस् र आफ्नो नियन्त्रणमा रहेको कश्मीरको बारेमा कुरा गरोस्। पाकिस्तान भारतको कुनै पनि दुस्साहसको जबाफ दिन तयार छ।”
भारतीय नेताहरूले संसद्मा बोल्दै पाकिस्तान प्रशासित कश्मीरलाई पनि आफ्नो नियन्त्रणमा लिने धारणा व्यक्त गरेका थिए। जसलाई पाकिस्तानले स्वतन्त्र कश्मीर भन्ने गर्दछ।

विदेशमन्त्री कुरैशीले कश्मीर मामिलाबार संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अनौपचारिक बैठक ऐतिहासिक भएको बताए।
सुरक्षा परिषद्का कुनै पनि स्थायी सदस्यले उक्त बैठकको विरोध नगरेको र त्यो पाकिस्तानको निम्ति ठूलो उपलब्धि भएको उनको भनाइ छ।
तर पाकिस्तानकै केही पूर्व राजदूतले त्यसलाई कुनै उपलब्धि ठानेका छैनन्।
China has been Pakistan’s supporter for years. If it was the only country to support Pakistan’s stance at UNSC, & no one else agreed to a formal session, how has Pakistan succeeded in ‘internationalizing’ the issue or winning wider support on it? 🤔
— Husain Haqqani (@husainhaqqani) August 16, 2019
अमेरिकास्थित पाकिस्तानका पूर्वराजदूत हुसैन हक्कानीले ट्विटरमा चीन वर्षौँदेखि पाकिस्तानको समर्थक रहँदै उल्लेख गर्दै प्रश्न गरेका छन्, “यदि सुरक्षा परिषद्मा ऊ मात्र पाकिस्तानी धारणाको एक्लो समर्थक रहने र औपचारिक बैठकको निम्ति अरू कसैको साथ नपाउने हो भने पाकिस्तानले मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न र त्यसप्रति व्यापक समर्थन जित्न कसरी सफल हुन्छ?”
कर्फ्यु खुकुलो
जम्मू-कश्मीरका प्रहरी महानिर्देशक दिलबाग सिंहले त्यहाँको एक तिहाइ भूभागमा कर्फ्यु खुकुलो पारिएको बताएका छन्। मानिसहरूले प्रशासनलाई पूर्ण रूपमा साथ दिइरहेको र सहयोग गरिरहेको उनको दाबी छ।
मानिसहरूले सेनालाई सहयोग गरिरहेको बताउँदै उनले केही मानिस भने हिंसामा सहभागी रहेको पनि उल्लेख गरे।

द हिन्दू पत्रिकासँग कुरा गर्दै उनले भने, “यदि एक-दुईजना मानिस वा केही उपद्रवीले सैनिकमाथि ढुङ्गा फ्याँक्छन् र सेनासँग झडपमा उत्रिन्छन् भने त्यो ठूलो मुद्दा होइन।”
तर जम्मू-कश्मीरमा एक ठाउँमा चारजनाभन्दा बढी मानिस भेला हुन अझै प्रतिबन्ध नै छ। त्यसलाई बिहान सात बजेदेखि दिउँसो एकबजेसम्म केही खुकुलो पारिएको छ।


















