Prakash Adhikari September 12, 2019

नयाँदिल्ली(भारत),२६ भाद्र(बीबीसी) । भारत र चीनका फौजबीच उत्तरी लदाखमा भएको घम्साघम्सीको घटना वार्तापछि समाधान भएको भारतीय सैनिक अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार एउटा तालको उत्तरी किनारामा गस्ती गरिरहेका भारतीय सैनिकको उपस्थिति प्रति विरोध जनाउँदै चिनियाँ फौजले रोकेपछि असहज अवस्था उत्पन्न भएको थियो।

सो घटना १३४ किलोमिटर लामो पेंग्गोंग तालको उत्तरी किनारामा भएको थियो।

सो तालको दुई तिहाइ हिस्सा चीनको नियन्त्रणमा छ।

विवाद
त्यसले विवाद निम्त्याएपछि दुवै पक्षले थप फौज उक्त इलाकामा बोलाएका थिए।

यसबारे चीनले प्रतिक्रिया जनाएको छैन्।

भारत र चीनका नेता
भारत र चीनबीच करिब ३५ सय किलोमिटर लामो सीमा क्षेत्र रहेको छ र त्यसमध्ये कैयौँ ठाउँमा दुई देशबीच विवाद रहँदै आएको छ।

भारतले चीनसँग सीमा जोडिएको उत्तर पूर्वी अरूणाचल क्षेत्रमा सैन्य अभ्यास गर्ने घोषणा गरेको भोलिपल्ट पछिल्लो तनाव भएको हो।

विगतका घटना

दुई वर्ष अगाडि पनि लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएका थिए।

त्यतिखेर सिक्किम, भुटान र तिब्बतको सीमामा रहेको डोक्लाममा भारतीय र चिनियाँ सेना कैयौँ हप्तासम्म आमनेसामने स्थितिमा बसेका थिए।

सन् २०१७ को जुनमा भारतमा डोक्लाम र चीनमा दोङलाङ भनेर चिनिने पठार क्षेत्रमा चीनले सडक बनाउने प्रयास गरेकोमा भारतले विरोध गरेको थियो।

चीन, उत्तरपूर्वी भारतीय राज्य सिक्किम र हिमालय अधिराज्य भुटानको त्रिदेशीय सीमा विन्दु नजिक पर्ने उक्त भूभागलाई लिएर बेइजिङ र थिम्पुबीच विवाद रहेको छ।

भारतले उक्त भूभागमाथिको भुटानको दाबीलाई समर्थन गरेको छ।

पछि दुवै देशले उक्त विवादलाई कूटनीतिक वार्तामार्फत् मत्थर पारेका थिए।

Share Now

Leave a comment.