सानेपा(ललितपुर),२७ भाद्र । नेपाली कांग्रेसले बाँके जिल्लामा बिहिबार आयोजित जनजागरण कार्यक्रमस्थलमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताबाट भएको सांघातिक आक्रमणको विरुद्ध शनिवार राजधानी काठमाडौंसहित देशका वभिन्न भागमा विरोध प्रर्दशन गर्ने भएको छ ।
नेपाली कांग्रेसले शुक्रबार पार्टी कार्यालय सानेपामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाडौँ उपत्यकाका हकमा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेस जिल्ला सभापतिहरूको अगुवाइमा गृहमन्त्रीमार्फत नेपाल सरकारलाई शनिवार ८ बजे ज्ञापनपत्र दिने जानकारी दिएको छ भने अन्य जिल्लामा पनि बाँके घटना लगायत शान्ति सुरक्षाको खस्किएको स्थिति र सरकार संरक्षित गुण्डागर्दीका विरूद्ध जिल्ला प्रशासन कार्र्यालयमा ज्ञापन पत्र दिने कार्यक्रम तय गरेको छ ।
विरोध स्वरुप नेपाली कांग्रेसले राजधानीका तीनवटै जिल्लाका कार्यसमितिको आयोजनामा शनिवार दिउँसो ३ बजे माइतिघर मण्डलामा शान्तिपूर्ण धर्ना कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा बाँकेको अवस्था बुझ्न शनिवार नेपालगञ्ज जाने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसले जनजागरण कार्यक्रम गरिरहेको स्थलमा बिहिबार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आक्रमण गर्दा नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाको हात भाँचिनुको साथै दर्जनौ कार्यकर्ता घाइते भएका थिए ।
शान्तिपूर्ण रुपमा आयोजना गरिएको जागरण कार्यक्रममा भएको आक्रमणका विरुद्धमा बाँकेमा शुक्रबार १२ः०० बजेदेखि प्रर्दशन भएको थियो । सम्बन्धित प्रदेश सभा क्षेत्रका लागि केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनालको नेतृत्वमा निस्केको कांग्रेसको जुलुस नेपालगञ्जको वीपी चोकदेखि जिल्ला पार्टी कार्यालय खजुरा रोडसम्म विरोध प्रदर्शन पश्चात स्थानीय प्रशासनलाई ज्ञापन पत्र दिएको थियो ।
यसैबीच नेपाली काग्रेसले देशभर फैलिएको डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको अवस्थालाई ध्यानमा राख्दै जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक जनचेतना कार्यक्रम पनि संगै लैजाने भएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अभियानका सबै कार्यक्रमका क्रममा देशव्यापी रूपमा यो विषयलाई विशेष प्राथमिकतामा राखी आम नागरिकसंग लामखुट्टेको टोकाईबाट जोगिन विशेष सर्तकता अपनाउन अपिल गर्न कार्यकर्तालाई अपील गरेको छ ।


















