Prakash Adhikari September 14, 2019

काठमाडौँ, २८ भाद्र । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि सांघातिक हमला गर्नेमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

नेपाली काँग्रेस, जिल्ला कार्य समिति काठमाडौँको आह्वानमा पार्टीका बाँके जिल्ला सभापतिमाथि सत्तारुढ नेकपाकै संलग्नतामा सांघातिक आक्रमण गरेको दावी गर्दै दोषीलाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै शनिबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन गरिएको हो ।

विगतमा हत्या, हिंसा र आतंकका संलग्न रहेका सत्तारुढ नेकपाका नेता, कार्यकर्ताले बाँकेको सीतापुरमा कार्यक्रममा सहभागी भएका पार्टीका बाँके सभापति कोइरालासहित १ दर्जन बढिलाई आक्रमण गरी घाइते बनाएपछि त्यसको विरोधमा काठमाडौंसहित देशभर शान्तिपूर्ण विरोध प्रर्दशन गर्नु परेको नेपाली काँग्रेस, काठमाडौँका सभापति सबुज बानियाँले जानकारी दिनुभयो । उहाँले सो घटनामा संलग्न कार्यकर्तालाई सरकारले कार्वाही नगरे आफूहरुले पानीमुनि पुगे पनि नछाडने चेतावनी दिनुभएको थियो ।

करिव १५ मिनेट शान्तिपूर्ण धर्नामा रहेका काँग्रेस नेता, कार्यकर्ताहरुले ‘प्रधानमन्त्री ज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’ भनि प्रश्न गरिएको प्ले कार्ड पनि प्रर्दशन गरेका थिए । उनीहरुले नागरिकलाई शान्ति सुरक्षा दिन पूर्णत असफल भएको दावी गर्दै सरकारको विरुद्ध चर्का नाराबाजी गरेका थिए ।

गत बुधबार बाँकेको सीतापुरमा पार्टीका राष्ट्रिय जागरण अभियानको कार्यक्रममा सहभागी भएका नेपाली काँग्रेस बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनालसहित एक दर्जन बढी नेता, कार्यकर्ता घाइते हुनुभएको थियो ।

सो घटनामा सत्तारुढ दलकै कार्यकर्ताहरुको संलग्नता रहेको दावी गर्दै नेपाली काँग्रेसले दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै देशभर विरोध प्रर्दशन सुरु गरेको हो ।

Share Now

Leave a comment.