काठमाडौं,२८ भाद्र । बाँके जिल्लामा नेपाली कांग्रेसले सञ्चालन गरिरहेको जनजागरण कार्यक्रमको क्रममा भाद्र २६ गते सुनियोजित तवरबाट भएको सांघातिक आक्रमणको विरोध गर्दै घटनामा संलग्न दोषीहरुलाई कारबाही गरी मुलुकमा शान्ति र सुब्यवस्था कायम राख्ने नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सभापति मदन अमात्य, काठमाडौँका सभापति कृष्ण (सवुज) वानियाँ र भक्तपुरका सभापति दुर्लभ थापाले शनिबार बिहान ८ बजे गृहमन्त्री रामबहादुर थापा(बादल)भेटेर उहाँहरुद्वारा हस्ताक्षरित ज्ञापन पत्र बुझाउनु भएको छ ।
सो अवसरमा ज्ञापन पत्र बुझ्दै गृहमन्त्री थापाले घट्नाको छानबिन गरी दोषीलाई कारबाही गरिने आश्वासन दिनुभएको थियो ।
नेपाली कांग्रेसका तर्फबाट उपत्यकाका सभापतिहरुले संयुक्त रुपमा बुझाउनु भएको ज्ञापन पत्रको पूर्ण पाठ देहाय बमोजिम रहेको छ:
भदौं २८, २०७६
“माननीय गृहमन्त्रीज्यू,
गृह मन्त्रालय,
सिंहदरवार, काठमाडौँ ।
विषय : ज्ञापन पत्र
(१) जननायक वीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गते देखि प्रारम्भ भएको हिमाल, पहाड, तराई–मधेश (हिपतम) राष्ट्रिय जागरणको दोस्रो चरणको अभियानका क्रममा मिति २०७६ भदौ २६ गते बाँके जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा क्षेत्र नं. २ को खजुरा गाउँपालिका वडा नं. २ सितापुर स्थित नेपाल रेडक्रसको हलमा कार्यक्रम भैरहँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय स्तरका नेता तथा खजुरा गा.पा. वडा नं. १ का वडा अध्यक्ष सुमन मल्लको निर्देशनमा सोही वडाका सुनिल, मुमबहादुर वली, पारस मल्ल, निमबहादुर वली, निर्मल खत्री, लोके भन्ने नाम नखुलेको समतेका १३÷१४ जनाको समूह सभाहलभित्रै प्रवेश गरी ज्यानै मार्ने नियतले नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुमाथि सामूहिक आक्रमण गरेका छन् । “यो हाम्रो क्षेत्र हो यहाँ नेपाली कांग्रेसले कार्यक्रम गर्न पाउँदैन” भन्दै नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइराला, केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाल लगायत पार्टीका दर्जनौँ कार्यकर्ताहरुमाथि सुनियोजित एवं सांघातिक हमला गरेको घटनाप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ ।
(२) नेपाली कांग्रेस बाँकेका सभापति श्रीमती किरण कोइरालाको हाँत भाचिएको र दर्जनौं नेता तथा कार्यकर्ताहरु घाइते हुनु भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले बचाउ गरेका कारणले मात्र उहाँहरुको ज्यान जोगिएको र थप मानवीय क्षति हुन नसकेको थियो ।
(३) नेकपाका ५०/६० को संख्यामा रहेका कार्यकर्ताहरुले नेपाली कांग्रेसको कार्यक्रम विथोल्ने उद्देश्यका साथ सडकमा समेत नारावाजी गरेका थिए । यत्रो ठूलो घटना हुँदा पनि सुरक्षा निकाय परिचालित नहुनु र गृह प्रशासन समेत संवेदनशील नहुनुलाई नेपाली कांग्रेसले सुनियोजित एवं अत्यन्त गम्भीर घटनाको रुपमा लिएको छ । राजनीतिक दलले सांगठनिक कार्यक्रम गर्न पाउने संवैधानिक अधिकारमाथि सिधा आक्रमण प्रारम्भ गरिएको रुपमा नेपाली कांग्रेसले लिएको छ ।
(४) बढु्दो महंगी, भ्रष्टाचार, महिला ंिहसा, बलात्कार, हत्याका विरुद्ध, अलोकतान्त्रिक विधेयकका विरुद्ध र कम्युनिष्ट सरकारको सम्पूर्ण कुशासनका विरुद्ध नेपाली कांग्रेसले गरेको हिपतमको पहिलो र दोस्रो चरणका कार्यक्रमहरुमा उर्लदो जनलहर र जनसहभागिता देखेर सर्वसत्तावाद उन्मुख कम्युनिष्ट सरकार र उनीहरुका कार्यकर्ताहरु अतालिएका छन् । सत्तारुढ दल र सरकार यसरी स्वतन्त्र रुपमा कार्यक्रम गर्न पाउने संविधानप्रदत्त नागरिक र दलको अधिकारमाथि समेत ठाडो उल्लंघन गर्न उद्दत रहेको छ ।
(५) नेपाली कांग्रेस यस घटनाको घोर निन्दा र भत्र्सना गर्दछ । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई विथोल्ने वद्नियतका साथ सरकारको आडमा सुनियोजित रुपमा नेपाली कांग्रेसका नेता एवं कार्यकर्ताहरुलाई आक्रमण गर्ने अपराधीहरुलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न हामी सरकारसँग जोडदार माग गर्दछौँ ।
(६) भविष्यमा यस्ता घटनाहरु नदोहरिन दिन सरकारलाई सचेत गराउँदछौं । उल्लेखित दोषीहरु उपर कारवाही नभएको खण्डमा नेपाली कांग्रेसले कडा भन्दा कडा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गर्न वाध्य हुने समेत यसै ज्ञापन पत्र मार्फत जानकारी गराउँदछौँ ।
जय नेपाल !”


















