काठमाडौं, ७ असोज । नेपाली कांग्रेसले संगठनको सुदृढीकरण तथा दुई तिहाईको कम्युनिष्ट सरकारले विगत १८ महिनामा गरेका देश र जनताविरोधी कुकर्महरुको बारेमा आम जनतालाई जागरुक गराउने उद्देश्यले थालेको हिमाल,पहाड,तराई मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण मंगलबार देशभर जुलुस प्रदर्शनसहित समापन गरिदैछ ।
नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर भाद्र २४ गतेदेखि देशव्यापी १५ दिने जागरण अभियान आरम्भ गरेको थियो ।
प्रदेश सभा निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर गरिएको यो अभियानका क्रममा वीपी जन्मजयन्तीका अवसरमा हरेक प्रदेश निर्वाचन क्षेत्रको उपयुक्त स्थानमा कम्तिमा १०६ वटा विरुवा रोपेर वीपी वाटिकाको निर्माण गरिएको थियो । यस अभियानका क्रममा केन्द्रले देशका ३ सय ३० प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएर १ महिनासम्म विभिन्न गोष्ठी,प्रवचन,आमसभा,घरदैलो, प्रजातन्त्रका सेनानी तथा नेपाली कांग्रेसप्रति समर्पित नेताहरुको सम्मान, किसान,महिला, शिक्षक,विद्यार्थी,युवा,महिला,मजदूर,उद्योगी,व्यापारी, पेशागत व्यवसायी लगायत सेवा निवृत राष्ट््रसेवकहरुसहित देशको विभिन्न विधामा सक्रिय रही देश र जनताको सेवमा समर्पित विभिन्न तह र तप्काका समुदायसंग व्यवसायिक हकहित र देशको विकासका बारेमा नेपाली कांग्रेसको धारण अवगत गराएको थियो ।
नेपाली कांग्रेसले दोस्रो चरणको कार्यक्रम अत्यन्त प्रभावकारी भएको जनाएको छ । यस चरणमा बाँकेको नेपालगञ्जमा सत्तारुढ दलका युवाहरुबाट एक स्थानीय भेलामा आक्रमण भएको थियो । सो आक्रमणमा परी नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाको बाँया हात भाचिनुका साथै दर्जनौ कार्यकर्ता घाइते भएका थिए । त्यसबाहेक देशभर कार्यक्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
जागरण अभियान क्रममा सामाजिक संवाद, युवा केन्द्रित बिशेष संवाद ,संविधान दिवसका कार्यक्रम, वडा स्तरीय अन्तक्रिया, स्थानीय तहको दुई बर्षै कार्यकालको समीक्षा पनि गरिएको थयो ।
अभियान क्रममा पार्टीका केन्द्रिय प्रतिनिधिहरुले सम्बन्धित क्षेत्रका अग्रजहरु, सहिद परिवारहरु, द्वन्द्वकालका घाइतेहरु एवं विभिन्न आन्दोलनका घाइतेहरुको घरमै पुगेर अवस्था बुझ्ने र देश र कांग्रेसका लागि सल्लाह सुझावहरु लिनुभएको नेपाली कांग्रेसले जनाएको छ ।

१५ दिने अभियानको अन्तिम दिन आज असोज ७ गते नेपाली कांग्रेसले ७७ जिल्लामा एकसाथ प्रदर्शन गरिनेछ । कांग्रेसले बढ्दो महंगीका विरुद्ध , सरकारी संरक्षणमा र मन्त्रीहरुको मिलेमतोमा भएका वाइडबडी, न्यारो वडी, ३३ किलो सुन, राष्टिय परिचयपत्र छपाई लगायतका भ्रष्टाचारका विरुद्ध निर्मला पन्त हत्या लगायत बढ्दो महिला हिंसा, बलात्कार र हत्याका विरुद्ध, राष्ट्रिय सुरक्षा परिषद्, राष्ट्रिय मानवअधिकार आयोग, मिडिया काउन्सिल, नागरिकता, राहदानी लगायत अलोकतान्त्रिक विधेयकहरुका विरुद्ध, दुई तिहाईको कम्युनिष्ट सरकार आएपछि भएका न्यायालय र संवैधानिक निकायमाथिको हस्तक्षेप, निजामति कर्मचारीमाथि भएको भेदभाव र अन्याय, आम जनतामाथि लादिएको अनावश्यक करको भार, अर्थतन्त्रको नाजुक अवस्था र मन्त्रीहरुको अनावश्यक विदेश भ्रमण र फजुल खर्च तथा जिल्ला र स्थानीय तहमा सत्तारुढ दल र तिनका प्रतिनिधिहरुले गरेका जनविरोधी कामहरुको फेहरिस्त सार्वजनिक गर्दै विरोध कार्यक्रम गरिने बताएको छ ।
नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिको रक्षा र गणतन्त्र,समावेशिता र संघीयता सहितको वर्तमान संविधानको रक्षाका लागि नेपाली संचार जगत, लेखक, वुद्धिजीवि, विभिन्न पेशा व्यवसायमा सरीक व्यक्तित्वहरू लगायत स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनी–दाजुभाइको अपार साथ र सहयोग रहेको जनाएको छ ।
नेपाली कांग्रेसले तेस्रो चरणको हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको तेस्रो चरण राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस ७ देखि १० दिन सञ्चालन गर्ने भएको छ ।



















