Prakash Adhikari September 24, 2019

काठमाडौं, ७ असोज । नेपाल वायुसेवा निगमको सेवमा रहेको दुईवटा बाइडबडीका जहाज मध्ये एक जहाज बिग्रेर काठमाडौंको एअरपोर्टमा थन्किएको एक हप्ता पुगेको छ ।

निगमको उच्च स्रोतले दिएको जानकारी अनुसार नाईन एन एकेजेड संकेत नम्बरको मकालु जहाजको दायाँ इञ्जिनमा समस्या आएकोले जहाज भूमिस्थ भएको हो ।

निगमका एक प्राविधिकले इञ्जिनको पार्टपूर्जा फेरेर मर्मत संभार गर्ने प्रयास भैरहेको तर हालसम्मको प्रयास सफल नभएको बताए । उनका अनुसार थप उपकरण मगाएर मर्मत संभार गर्ने प्रयास जारी छ । सो उपकरण प्रतिस्थापनपछि पनि जहाज उडने अवस्था भएन भने बाइडबडीका जहाज मर्मतसंभार केन्द्रबाट अनुभवी र विज्ञ प्राविधिक ल्याएर मर्मत संभार गर्नुपर्ने हुन सक्छ वा जहाज नै उपयुक्त मर्मतसंभार केन्द्रमा लैजानुपर्ने हुनसक्छ ।

निगमको वर्तमान व्यवस्थापनले वाइडबडीका जहाजमा पावर वाई आवरका बेसिसमा फेर्नुपर्ने सामानको आपूर्तिका लागि गरेको टेण्डरमा गडबडी भएको सम्बन्धमा संसदको सार्वजनिक लेखासमितिले छानवीन गर्दा अनियमितता पाइएपछि लेखाले त्यसलाई सच्याउन निगम व्यवस्थापनलाई गत चैत्रमहिनामा निर्देशन दिएको थियो । तर निगमको व्यवस्थापनले सो निर्देशनको आजसम्म पालना गरेको छैन ।

यता निगमको सेवामा रहेका दुई थान न्यारोबडीका जहाजमा लाग्ने ४ थान इञ्जिनको मर्मत संभार केन्द्रको चयनकालागि गरिएको टेण्डर मूल्यांकन भएर छनौट गर्ने बेलामा निगममा कार्यकारी अध्यक्षको रुपमा आउनुभएका मदन खरेलको प्रत्यक्ष निर्देशनमा सो टेण्डरलाई रद्द गरी पुन टेण्डर गर्ने षड्यन्त्र गरिएको थियो । त्यसमा पनि संसदको सार्वजनिक लेखा समितिले छानवीन गरी पुरानै टेण्डरलाई टुंगोमा पुर्याउन निर्देशन दिएको थियो । निगमको व्यवस्थापनले त्यसलाई पनि कार्यान्वयन गरेको छैन् । न्यारो बडीका चारैवटा इञ्जिन एकबर्षभित्र मर्मत संभार गर्नुपर्दछ । एउटा इञ्जिन मर्मत गर्न ३ महिनाको समय लाग्छ ।

निगमसंग भएका न्यारो र वाइड दुवै खाले जहाजका अतिरिक्त इन्जिन पनि नभएको र समय तालिका मिलाएर मर्मत सभार गर्नमा पनि चासो नदिएकोले निगमका भएका जहाजहरु जोखिममा चलिरहेका छन् । आकास्मिक खराबी उत्पन्न भएमा भएका जहाजहरु ग्राउण्डेड हुनजाँदा निगमलाई नियमित सेवा सञ्चालन गर्न निकै कठिनाई आउने देखिन्छ ।

यस विषयमा निगमको सुधार गर्न गठिन पूर्व सचिव सुशील घिमिरेको संयोजकत्वमा बनेको ५ सदस्यीय कार्यदलले पनि प्रमुखतासाथ लेखेको छ ।

निगमका कार्यकारी अध्यक्ष स्वास्थ्योपचारको क्रममा दिल्लीमा रहनुभएको र पर्यटनमन्त्री पनि एक कार्यक्रममा भाग लिन क्यानडा जानुभएकोले निगम टुहुरो जस्तो भएको छ ।

Share Now

Leave a comment.