काठमाडौं, २५ पौष । नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तबीर लामाले पर्वतारोहीले सबैभन्दा बढी आफ्नो र आफ्नो टीमका सदस्यहरुको सुरक्षामा ध्यान दिनुपर्ने बताएका छन् ।
संघले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । संघमा नयाँ नेतृत्व आएपछि नियमित तालिमहरु पुनः आरम्भ भएको जानकारी दिन सो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।
नेपालको पर्वतीय पर्यटनको विकास र विस्तारमा समर्पित नेपाल पर्वतारोहण संघले एक साथ तीनथरी तालिमको सञ्चालन गरेको छ । संघले थालेका तालिममा २६ औं एड्भान्स पर्वतारोहण तालिम, माउन्टेन लिडर्स कोर्स र उच्च पर्वतीय उद्धार तालिम रहेका छन् । संघमा नयाँ नेतृत्व आएपछि यी तालिमले निरन्तरता पाएका हुन ।
संघले एड्भान्स पर्वतारोहण तालिम काठमाडौं र लामटाड.मा सञ्चालन गर्दैछ । ३१ दिसेम्बर २०१७ देखि आरम्भ भएको यो तालिम २०१८को ११ फेब्रुअरीमा सकिनेछ । यो तालिममा २९ जना सहभागी भैरहेका छन् भने प्रशिक्षार्थीलाई १० जना प्रशिक्षकले तालिम दिएका छन् । सन २०१६ सम्म पर्वतारोहणको आधारभूत तालिम लिएकाहरुले यसमा सहभागी बन्ने अवसर पाएका छन् ।
संघले थालेको दोस्रो तालिम माउन्टेन लिडर्स कोर्स कम्पोनेन्ट २ मा १६ जनाको सहभागिता रहेको छ । काठमाडौं र सोलुखुम्बुको पिके क्षेत्रमा सञ्चालन हुने यो तालिमका सहभागीहरुलाई तीन जना प्रशिक्षकहरुले तालिम दिइरहेका छन् । जनवरी ५बाट आरम्भ भएको यो तालिम जनवरी १८ सम्म चल्नेछ ।
संघले नेपाल पर्वतारोहण प्रशिक्षक संघ(एनएमआइए)संगको सहकार्यमा उच्च पर्वतीय उद्धार तालिम सञ्चालन गरिरहेको छ । जनवारी ५ देखि आरम्भ भएको यस तालिमका प्रशिक्षक र सहभागी प्रशिक्षाथीहरु तालिमका लागि लामटाड. प्रस्थान गरिसकेका छन् ।
एड्भान्स माउण्टेन र माउन्टेन लिडरसीप तालिमको संयोजन तुलसिंह गुरुड.ले गरेका छन भने उच्च पर्वतीय उद्धार तालिमको संयोकत्व लाक्पा नोबु शेर्पाले गरेका छन् ।
संघका प्रथम उपाध्यक्ष दिवसविक्रम शाह, कोषाध्यक्ष र अन्य पदाधिकारीहरुले तालिमका सहभागीहरुलाई खादाले स्वागत गरेका थिए ।
पत्रकार सम्मेलनमा संघका महासचिव कूलबहादुर गुरुड.ले पर्वतीय पर्यटनमा दक्ष जनशक्ति उत्पादन गर्ने र पर्वतारोहणमा जोखिम कम गर्ने उद्देश्यले संघले तालिम कार्यक्रम सञ्चालन गर्दै आएको बताएका थिए ।