प्रकाश अधिकारी
काठमाडौं, २८ कार्तिक । ८० बर्षदेखि इमान्दारीपूर्वक देशमा उद्योग, व्यापार र विभिन्न व्यवसाय सञ्चालन गर्दै आएको नेपालको प्रतिष्ठित उद्योग एवम् व्यवसायिक घराना ज्योति ग्रुपका अध्यक्ष,उपाध्यक्ष लगायत सबैसंग राज्ययन्त्र तथा शक्तिको दुरुपयोग गरि रकम माग्ने तर नपाएपछि झूट्टा मुद्दामा फसाएर बद्ला लिने कदम चालिएको रहस्य खुलेपछि राजधानीका उद्योगी र व्यापारीहरुले व्यवसायी विरुद्धको संगठित राज्य आतंकको विरोधमा विशाल प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौं उद्योग बाणिज्य संघको आयोजनामा आज बिहान ११ बजेदेखि नेपालको व्यापारिक केन्द्र न्यूरोडमा विशाल प्रदर्शन हुनेछ ।
प्रदर्शनका लागि उद्योग व्यापार र व्यवसायसंग संलग्न सबै संघ संस्थहरुलाई आह्वान गरिएको उद्योग वाणिज्य महासंघका प्रदेश ३ का संयोजक दिनेश श्रेष्ठले आशा खबरलाई बताउनुभएको छ ।
पूर्व अर्थ राज्यमन्त्री तथा ज्योति ग्रुपका उपाध्यक्ष डा. रुपज्योतिलाई गत बिहिबार सिंगापुरको सिल्क एअरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रने वित्तिकै पक्राउ गरिएको विषय खोतल्दै जादा पत्याउनै कठिन हुने तथ्यहरु उजागर भएका छन् । यस कार्यमा ब्यापारीहरुलाई सताउने, तर्साउने र आफूले मागेजति रकम नदिएमा राजश्व अनुसन्धान, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग,प्रहरी र अदालत लगाएर थुनाईदिनेसम्मका कामकारबाही भैरहेको रहस्य खुलेको छ ।

डा. रुप ज्योति पक्राउ र यस्ता प्रकरणमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उच्चस्तरका नेताहरुको संलग्नता रहेको प्रमाण भेटिएको सन्देश उद्योगी र व्यापारिक समुदायमा फैलिएको छ । केही सञ्चार माध्यमहरुले यो प्रकरणमा उपराष्ट्रपति र गृहमन्त्रीका सुपुत्रहरुको नाम लिएर ज्योति परिवारका सदस्य, सो समूहका उच्च व्यवस्थापकहरुसंग सम्बन्धित विषयमा ५ करोड रुपैया दिएर मिलापत्र गर्न नभए जेल जान तयार हुन धम्कीपूर्ण सन्देशहरु आउने गरेको बताएका छन् ।आजभन्दा १४।१५ महिना अघि पूर्वमाओवादीका केही कार्यकर्ता आएर रूपज्योतिलाई विजेन्द्रकृष्ण मल्लले मागेजति पैसा दिन दबाब दिएका थिए । एकपटक त नेपाल कम्युनिष्ट पार्टीका पूर्वसांसद पनि यो मुद्दा छ्ट्टिै मिलाउनुहोस् भन्न आएका थिए ।
उद्योगी र व्यवसायीहरुले भने यो एक प्रतिनिधि घट्ना मात्र भएको बताएका छन् । यस्ता घट्ना राजधानी काठमाडौंदेखि स्थानीय तहका वडावडामा भैरहेका छन् । यसबाट सामान्य किराना पसल गर्नेदेखि यातायात व्यवसायी, ढुवानी व्यवसायी,निर्माण व्यवसायी, बैंक तथा वित्तिय संस्था, सबै किसिमका उद्यमी र व्यवसायीहरु पीडित रहेका छन् ।
‘रेड टेरर’ को सिर्जना !
आतंकारी र अपराधिक समूहले एक दर्दनाक,भयंकर र विभत्स घट्ना गरेर उनीहरुले भने जस्तो नगरी बाँकीलाई पनि त्यस्तै अवस्थामा पुर्याउन घटाउने अमानवीय घट्नालाई लाल आतंक भन्ने गरिन्छ । माओवादी द्धन्द्धकालमा यस्ता थुप्रै घट्ना भएका छन् ।
व्यवसायीहरुले अहिले राज्यका विभिन्न निकायको संलग्नतामा भएको यस घट्नालाई पनि उद्योगी,व्यापारी र व्यवसायिक व्यक्तिहरुलाई सताउन गरिएका गतिविधिको चरम नमूना भनेका छन् । यो घट्नामा जुन लेनदेन मुद्दाभनिएको छ, त्यसमा प्रत्यक्षत कतैपनि संलग्न नदेखिनुहुने डा. रुपज्योति, उहाँकी सुपुत्री सुरुचि ज्योति, उहाँका दाजु पद्म ज्योतिलाई पक्राउ गर्ने प्रक्रिया पूरा भएको छ भने र परिवारका अन्य सदस्यहरुलाई पनि तान्ने दुष्प्रयास भैरहेको छ ।
यही घट्ना देखाएर नेपालका सबै व्यापारिक र उद्योगी समूह तथा उद्यमीहरुसंग जबरजस्त चन्दा रकम असुल्ने उपाय यो प्रकरणका डिजाइनरहरुले गरेको देखिन्छ । भाइ डा. रुप ज्योति मुछिएको ठगीकाण्डमा अनुसन्धान गर्नका लागि ज्योति समूहका अध्यक्ष पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले रुप ज्योति मुछिएको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले यस्तो अनुमति दिएको हो । डा.रुप ज्योति र उहाँकी छोरी सुरुचीलाई सिंगापुरबाट फर्किँदै गर्दा प्रहरीले त्रिभुवन विमानस्थलबाटै गत विहिबार पक्राउ गरेर हिरासतमा लिएको थियो।
महासंघ र चेम्बरको विरोध
नैतिक व्यापारको अवधारणा विकास गरी विस्तार गर्दै आएको ज्योति समूहका उपाध्यक्ष एवम् चर्चित व्यवसायी तथा पूर्व अर्थराज्यमन्त्री डा. रुप ज्योतिको पक्राउ प्रकरणले नेपालको निजी क्षेत्र सन्त्रासमा देखिएको छ। यस विषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल चीन उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं, नेपाल अटोमोवाइल्स एशोसिएसन लगायतका संस्थाले आपत्ति जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ
(२०७६।०७।२४)
निजी क्षेत्रलाई हतोत्साहित पार्ने कार्य नहोस
मुलुकभित्र उद्यमशीलताको प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउंदै आएको प्रमुख औद्योगिक एवं व्यवसायिक क्षेत्रका उद्योगपति डा. रूप ज्योतिलाई स्वदेश फर्कने क्रममा पक्राउ गरी हिरासतमा लिएपछिको अवस्थाप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
मुलुकको उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुको साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलोमात्रामा राजस्व समेत बुझाउंदै आएको मुलुकका प्रतिष्ठित उद्योगपति माथि विना सोचविचार हतारहतार गरिएको यस प्रकारको व्यवहारले निजी क्षेत्र प्रोत्साहित नहुने अवस्था छ ।
उद्योगी(व्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउंदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप
सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गर्दछ ।
व्यवसायिक संस्थाहरुले यस घटनाले निजी क्षेत्रलाई स्तब्ध बनाएको जनाएका छन् ।देशमा अर्बौँको लगानी गरी वार्षिक करोडौँको कर राजस्व सरकारलाई बुझाउने समूहको सदस्य र परिवारमाथि व्यावसायिक कारोबारको सिलसिलामा भएको सामान्य लेनदेनको विवाद सहमतिमा समाधान गर्ने मार्ग हुँदाहुँदै पक्राउ पक्राउ गरेर स्वदेशी तथा विदेशी लगानीकर्ता तथा उद्यमी तथा व्यापारीलाई हतोत्साही गरिएको जिकिर संघसंस्थाहरुले गरिरहेका छन् ।
आफूलाई प्रहरी हिराशतमा नै भेट्न आएको नेपाल चेम्बर अफ कमर्शको प्रतिनिधि मण्डलसंग पनि डा. रुप ज्योतिले पछिल्लो समय आफु र आफ्नो परिवार विरुद्ध प्रहरीले हचुवाको भरमा वारेन्ट जारी गर्दै पक्राउ गरिएको बताउनुभएको छ।उहाँले विवादमा ल्याएको ल्याण्डमार्क हाउजिड.मा आफ्नो परिवारको कुनै पनि सदस्य संचालकमा नभएको शेयर होल्डरमात्र भएको र अहिले उक्त कम्पनीसँग सरोकार नै नभएको सम्पूर्ण परिवारको नाममा उजुरी आएको छ त्यसैको नाममा प्रहरीले वारेन्ट जारी गर्दै पक्राउ गर्न सुरु गरेको बताउनुभएको थियो ।’
घट्ना के हो ?
ज्योति समूहले हाउजिङको काम गर्ने उद्देश्यले कूल १० करोड १० हजार रुपैयाँ चुक्ता पुँजि भएको ल्याण्डमार्क हाउजिङ कम्पनी दर्ता गरेका थियो । सो कम्पनीमा डा. रुप ज्योतिको ५० लाख रुपैयाँकोमात्र सेयर रहेको छ । ज्योति समूहकै अर्को कम्पनी स्याकार कम्पनी प्रालिको ९ करोड ५० लाख रुपैयाँको सेयर लगानी रहेको छ । २०७० सालमा कम्पनीले काठमाडौंको बाँसबारीमा रहेको ६ रोपनी ११ आना जग्गालाई कोलनीको रुपमा विकास गर्ने भन्दै सर्वसधारणबाट रकम लिई घरहरुको बुकिङ सुरु गरेको थियो ।
अपार्टमेन्ट बनाउन ज्योति ग्रुपले सिई कन्ट्रक्सनलाई जिम्मा दियो । बिजेन्द्र मल्लले पनि २ जेठ २०७१ मा १० लाख रुपैयाँ भुक्तानी गरी हाउजिङमा ६ आना ३ दाममा साढे २ तलाको घर बुक गरी पूरा मूल्य चुक्ता गरी लिने संझौता गर्नुभयो । बिजेन्द्र मल्लले सो जग्गा र भवन वापत तिर्नुपर्ने थप १ करोड २६ लाख रुपैयाँ सोही बर्षको भदौ फुयाललाई दिनुभो ।
ल्याण्डमार्कले सो कोलोनीमा बन्ने घरहरु उपलब्ध गराउन नसक्ने भनेपछि पैसा बुझेको सीईले मल्ललाई रकम फिर्ता लिन आग्रह गर्यो । उहाँले जग्गाको भाउ बढ्दै गएकोले संझौता अनुसारको घर लिने पैसा फिर्ता नलिने अड्डी लिनुभयो । उहाँले प्रहरीकहाँ आफूलाई घर नदिएर बैना फिर्ता लिन ल्याण्डमार्कले दबाब दिएको भन्दै उजुरी गर्नुभयो । महानगरीय प्रहरी परिसरले ल्याण्डमार्क डेभलपर्सका प्रतिनिधि, मल्ल र फुयाँललाई बोलायो। छलफल पछि ल्याण्डमार्क डेभलपर्स प्रालिको बैना रकम सम्बन्धमा कुनै सरोकार नरहेको प्रहरीले निष्कर्ष निकाल्यो।सो छलफलमा सिई कन्स्ट्रक्सन आफूले मल्लसँग लिएको बैना ब्याजसहित तिर्न राजी भयो।
तर मल्ल ज्योति परिवारविरुद्ध चूप बस्नुभएन । त्यसपछि फेरि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ल्याण्डमार्क डेभलपर्सविरूद्ध उजुरी गर्नुभयो। सिडिओ कार्यालयले विवाद मिलाउन भन्दै फेरि प्रहरीकहाँ पठायो। दरबारमार्ग प्रहरी वृत्तले डा. रूपज्योतिलाई फेरि छलफल गर्न बोलाएपछि उहाँ काठमाडौं जिल्ला अदालत जानुभयो। आफ्नो सरोकार बिनाको मुद्दामा प्रहरीले बोलाएर दुस्ख दिएको भन्दै उनले काठमाडौं जिल्ला अदालतमा गई प्रहरीविरूद्ध आफूलाई नबोलाउन निषेधाज्ञा जारी गर्न माग गर्नुभयो। अदालतले निषेधाज्ञा जारी गरेन र भन्यो, यो विषय देवानी दायित्वको भएकाले सोहीअनुसार निरूपण गर्नू।जिल्ला अदालतबाट सो फैसला आएपछि रूपज्योतिले बैनाबापत् फुयाँलले लिएको पैसा फिर्ता गरिदिन २०७५ मंसिर १३ गते अदालतमा लगेर १ करोड २६ लाख रुपैयाँ जम्मा गरिदिनुभयो।
अदालतमा पैसा जम्मा भएको तीन दिनपछि मंसिर १६ गते मल्लले फेरि रूपज्योतिविरूद्ध ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिनुभयो। प्रहरीले त्यो बेला जाहेरी लिएर ज्योति परिवारलाई पक्रन अदालतसँग अनुमति माग्यो ।काठमाडौं जिल्ला अदालतले पनि आफैंले तीन महिनाअघि देवानी दायित्वको विषय भन्दै दिएको फैसलाविपरित २०७५ कात्तिक २० गते पक्राउ गर्न अनुमति दियो। जबकी फौजदारी अपराधमा मात्र अदालतले पक्राउको अनुमति दिन्छ।
अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसविरूद्ध रूपज्योति सर्वोच्च अदालत पुग्नुभयो। सर्वोच्च अदालतले मंसिर २५ गते उहाँको पक्राउ पुर्जी यथास्थितिमा राख्न भन्यो। झन्डै एक वर्षपछि यसै कात्तिक १८ गते प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले रूपज्योतिको रिट खारेज गरिदियो। पक्राउ गर्ने बाटो खुल्यो ।
प्रचलित कानुनअनुसार बैना लिएर जग्गा नबेचेको कसुरमा प्रहरीले कसैलाई पक्रन मिल्दैन। पहिले नै यो विवादमा छलफल भएर ज्योति समूहको कुनै संलग्नता नभएको निष्कर्ष निकालेको महानगरीय प्रहरी परिसर फेरी पक्राउमा अग्रसर हुनुलाई शक्तिको दवाव र प्रभावको परिणामको रुपमा लिइएको छ ।
बैना लिँदैमा घरजग्गा पास गरिदिनैपर्छ भन्ने छैन। कानुनले पनि त्यो सुविधा दिएको छ । केही पहिले प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणासहित सात न्यायाधीशको बेन्चले बैना रकम फिर्तासम्बन्धी ४० वटा मुद्दामा एकसाथ फैसला गर्दै बैना गर्दैमा घर पास गर्न नपर्ने फैसला गरिसकेको छ । व्यक्तिगत लेनदेनको विवाद फौजदारी मुद्दा होइन । यो देवानी मुद्दा हो । फौजदारी मुद्दामा जस्तो देवानी मुद्दामा प्रहरीले पक्राउ गर्नुपर्ने हुँदैन । प्रहरीले पनि मध्यस्तकर्ता गरेर विवाद मिलाउन सक्छ । देवानी मुद्दामा पक्राउ आदेश दिनु न्यायालयमाथि पनि शक्ति र सत्ताको दवाद र प्रभावको रुपमा नेपालको उद्योगी र व्यापारी जगतले बुझेको छ ।
व्यक्तिगत लेनदेनको मुद्दा देवानी मुद्दा हो । प्रहरीले व्यक्तिगत लेनदेनको मुद्दामा फौजदारी जस्तो गरेर पक्राउ पुर्जी जारी गर्न अनुमति लिनुले नै ज्योति ग्रुपलाई समस्यामा पार्नको लागि एउटा गिरोह नै लागेको आशंका व्यवसायीहरुले गरेका छन् ।जिल्ला अदालतमा बयानका क्रममा व्यवसायी ज्योतिले ५ करोड रुपैयाँ नदिएको आरोपमा जेल जानु परेको बयान दिनुभएको छ ।




















